निलहरी कोइराला बागमती प्रदेश प्रतिनिधिमा सर्वसम्मत निर्वाचित
काठमाडौं। नेपाली कांग्रेसको आन्तरिक संगठन निर्माण तथा अधिवेशन प्रक्रियाअन्तर्गत काठमाडौं क्षेत्र नं. ४ बाट निलहरी कोइराला बागमती प्रदेश प्रतिनिधि (खुल्ला तर्फ) पदमा निर्विरोध चयन भएका छन्।
काङ्ग्रेसको आदर्श वाक्य ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ तथा ‘जनताको साथ काङ्ग्रेसको हात’ भन्ने मूल नाराका साथ आयोजना गरिएको क्षेत्रीय अधिवेशनमा अन्य उम्मेदवारको दाबी नरहेपछि उनी सर्वसम्मत रूपमा प्रदेश प्रतिनिधि पदमा चुनिएका हुन्।
निर्विरोध निर्वाचित भएपश्चात् एक धन्यवाद ज्ञापन वक्तव्य जारी गर्दै कोइरालाले आफूलाई प्रदेश प्रतिनिधि पदमा सर्वसम्मत रूपमा चयन गरिदिएकोमा सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरू तथा पार्टीका अगुवा कार्यकर्ताहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्।
क्षेत्रीय प्रतिनिधिहरूले मप्रति देखाएको उच्च विश्वास, सद्भाव र समर्थनलाई शिरोधार्य गर्दै आगामी दिनमा पार्टी र सङ्गठन सुदृढीकरणका लागि आफ्नो जिम्मेवारी पूर्ण इमानदारीका साथ निर्वाह गर्ने प्रतिबद्धता उनले जनाएका छन्।
सबैको साझा विश्वास नै आफ्नो मुख्य जिम्मेवारी र मार्गदर्शन भएको उल्लेख गर्दै नेता कोइरालाले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्न काङ्ग्रेस सङ्गठनलाई तल्लो तहदेखि नै थप मजबुत र गतिशील बनाएर लैजाने स्पष्ट पारेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment