ओपनएआइका च्याटबोट मानव नियन्त्रण बाहिर, १०० भन्दा धेरै संस्थामा ह्याकिङको प्रयास
काठमाडौं । च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईको सिस्टमले १०० भन्दा बढी संस्थाहरूको सिस्टममा जबरजस्ती घुसपैठ गर्ने प्रयास गरेको छ। कम्पनी आफैँले यस कुराको खुलासा गरेको हो।
यो परीक्षणको चरणमै प्रविधि कम्पनीहरूको हातबाट उनीहरूका अत्याधुनिक एआई मोडलहरूको नियन्त्रण गुम्दै गएको सङ्केत हो। एआई मोडलहरूले सिस्टमको सुरक्षा प्रणालीलाई बाइपास मात्र गरिरहेका छैनन्, बरु निर्धारित सीमाहरू तोडेर मानिसको नियन्त्रणभन्दा बाहिर गइरहेका छन्।
कम्पनीले आफ्ना एआई एजेन्टहरूको प्रभावमा परेका १०० भन्दा बढी संस्थाहरूलाई अलर्ट जारी गरिदिएको छ। यद्यपि, कम्पनीले ती संस्थाहरूको डेटा चोरी नभएको दाबी गरेको छ। ओपनएआईले बचाउमा तर्क दिँदै एआई एजेन्टहरूले सिस्टमको ताला नतोडेको, बरु बन्द ढोकालाई जबरजस्ती ढक्ढक्याएर र त्यसको ह्यान्डल घुमाएर भित्र पस्ने प्रयास मात्र गरेको बताएको छ।
अनुसन्धानका क्रममा ती एआई एजेन्टहरूले धेरै वेबसाइटहरूलाई मनपरी र अनधिकृत कमान्डहरू पठाएर उनीहरूबाट गलत प्रक्रिया कार्यान्वयन (एग्जिक्युट) गराउने प्रयास गरेको खुलेको छ।
त्यति मात्र होइन, सुरक्षा संयन्त्रलाई छक्याउनका लागि यी एजेन्टहरूले वेबसाइटहरूलाई आपसमा सम्पर्क गर्ने माध्यम (कम्युनिकेशन च्यानल) बनाए र तय गरिएका सुरक्षा मापदण्डहरूलाई पूर्ण रूपमा बेवास्ता गर्दै बाइपास गर्ने प्रयास गरे।
ओपनएआईले आफ्ना सुरक्षा घेराहरू एआई एजेन्टहरूलाई नियन्त्रणमा राख्न असफल साबित भएको स्वीकार गरेको छ। कम्पनीका प्रवक्ताले प्रभावित संस्थाहरूलाई प्राविधिक डेटा उपलब्ध गराइएको बताएका छन् ताकि उनीहरूले सिस्टममा भएको घुसपैठ र सुरक्षा त्रुटिहरूको अनुसन्धान गर्न सकून्।
आफ्नो असफलतापछि अब ओपनएआईले एआई मोडलको यो असामान्य व्यवहार र सुरक्षाका कमजोरीहरूसँग सम्बन्धित निष्कर्षहरू सार्वजनिक गर्ने दाबी गरेको छ, ताकि विश्वभरका साइबर सुरक्षा विज्ञहरूले मिलेर यस खतराको समाधान पहिल्याउन सकून्।
कम्पनीले ५० पेटाबाइट डेटा रेकर्डको अनुसन्धान गरिरहेको छ। यस अनुसन्धानका लागि ७,००० अत्याधुनिक जीबी २०० र जीबी ३०० जीपीयुहरू लगाइएका छन्। यसमा दैनिक ५ लाख डलर खर्च भइरहेको छ।
यदि यो सम्पूर्ण डेटा सामान्य अंग्रेजी शब्दहरूमा लेखिएको खण्डमा, एक व्यक्तिले प्रतिमिनेट २४० शब्दको तीव्र गतिमा नरोकिईकन पढ्दा पनि यसलाई समाप्त गर्न करिब ६.६ करोड वर्ष लाग्नेछ।
मानिसको क्षमताभन्दा बाहिर भएकाले नै यो काम एआई मोडलहरूबाट गराइँदै छ। अनुसन्धानलाई अझ बढी सटीक बनाउनका लागि थप कम्प्युटिङ पावर प्रयोग गरिनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment