इराकले हर्मुजको बाटो २० लाख ब्यारेल तेल पठायो
काठमाडौं । इराकको सरकारी आयल ट्याङ्कर कम्पनीले होर्मुज जलडमरूमध्यको बाटो हुँदै एउटा विशाल क्रुड क्यारियरमार्फत २० लाख ब्यारेल इराकी कच्चा तेल पठाएको छ। कम्पनीका डाइरेक्टर जनरलले शनिबार दिएको जानकारी अनुसार दशकौँमा पहिलो पटक कम्पनीले यस्तो अपरेसन सञ्चालन गरेको हो।
यसको अर्थ कम्पनीले कच्चा तेललाई केवल बसरा बन्दरगाहसम्म पुर्याउनुको सट्टा सिधै होर्मुज जलडमरूमध्यको बाटो भएर पठाइरहेको छ। यसबाट सरकारी तेल कम्पनी ‘सोमो’ लाई तेलको बिक्री र त्यसको मूल्य निर्धारणका लागि थप विकल्पहरू प्राप्त हुनेछन्। कम्पनीलाई कच्चा तेल कसरी र कहाँ पठाउने भन्ने निर्णय गर्न अझ सहज हुनेछ।
कम्पनीका डाइरेक्टर जनरल अली केस अब्दुल जब्बारले एक वक्तव्य जारी गर्दै यस कदमले सोमोलाई तेल बिक्रीका लागि अझ राम्रा अवसरहरू प्रदान गर्न सक्ने बताएका छन्। उनले इराकको आयल ट्याङ्कर कम्पनीले आफ्नो बेडा विस्तार गर्ने तयारीसमेत गरिरहेको जानकारी दिए।
यसका लागि कम्पनीले विशेष प्रकारका क्रुड आयल ट्याङ्करहरू खरिद गर्ने र तिनलाई आफ्नो स्वामित्वमा लिने काम गरिरहेको छ, ताकि क्षेत्रका अन्य सिपिङ कम्पनीहरूसँग राम्रोसँग प्रतिस्पर्धा गर्न सकियोस्।
इराकले आफ्ना आयल ट्याङ्करहरूलाई होर्मुज जलडमरूमध्य भएर जानका लागि इरानबाट पहिले नै अनुमति लिइसकेको छ। इरानले अमेरिकासँगको तनावका बिच यो महत्त्वपूर्ण समुद्री मार्गलाई वास्तवमा बन्द गरिदिएको थियो।
विगतका दिनहरूमा इरानले मध्यस्थकर्ताहरूमार्फत यदि अमेरिकाले इरानी बन्दरगाहहरूको घेराबन्दी हटाउँछ, फ्रिज गरिएका इरानी सम्पत्तिहरू फुकुवा गर्छ र इरानी तेल बिक्रीमा लगाइएका प्रतिबन्धहरूमा छुट दिन्छ भने आफूले एक हप्ताभित्र ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न सक्ने सङ्केत दिएको थियो।
यद्यपि, ट्रम्पले यस प्रस्तावलाई तुरुन्तै अस्वीकार गरिदिएका थिए। उनले इरान कमजोर स्थितिमा रहेकाले सम्झौता गर्न चाहेको र उसको प्रस्ताव स्वीकार नगरिने बताएका थिए। यसका बाबजुद मध्यस्थकर्ताहरू दुई देशबिचको युद्ध अन्त्य गराउन र ‘स्ट्रेट अफ होर्मुज’ लाई पुनः खुलाउन प्रयासरत छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment