चिनियाँ राजदूत टोलीसहित कोरलानाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङमा : नाका सञ्चालनबारे छलफल हुने

डिसी नेपाल
१८ असोज २०८३ १३:०२

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय उच्चस्तरीय टोली कोरलानाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। शनिबार लोमान्थाङ पुगेको सो टोलीमा पाँच जना चिनियाँ प्रतिनिधि र नेपालस्थित चिनियाँ दूतावासका दुई जना कर्मचारी रहेका छन्।

अविरल वर्षा, बाढी र पहिरोका कारण नेपालका प्रमुख उत्तरी सीमा नाकाहरू अवरुद्ध भएपछि वैकल्पिक नाकाका रूपमा कोरलानाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने पहलस्वरूप यो भ्रमण भएको हो।

यसअघि चिनियाँ दूतावासकै पहलमा सरकारी अधिकारीहरूसहितको टोलीले सिन्धुपाल्चोकको तातोपानी नाकासम्मको सडकमार्गको स्थलगत अवलोकन गरेको थियो। तातोपानी र केरुङ नाकाको अवस्था बुझेपछि कोरलानाकाको समेत अनुगमन गरी कुन नाका सञ्चालनमा ल्याउने भन्ने निर्णय गर्ने तयारी छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार चिनियाँ राजदूत कोरलानाका हुँदै मुस्ताङ आइपुगेका हुन्। उहाँहरूको सुरक्षा व्यवस्था चुस्त बनाइएको र टोली लोमान्थाङस्थित होटल मण्डलामा बसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।

तीनदिने मुस्ताङ भ्रमणका क्रममा टोली लोमान्थाङबाट जोमसोम आउने र त्यहाँस्थित ‘होटल सिन्तामणि रिसोर्ट’ मा नेपाल र चीनका समकक्षी अधिकारीहरूबीच कोरलानाका सञ्चालनसम्बन्धी महत्त्वपूर्ण बैठक बस्ने तयारी रहेको छ। बैठक सकिएपछि राजदूत आजै पुनः लोमान्थाङ फर्किने र भ्रमणको तेस्रो दिन लोमान्थाङबाट कोरलानाका हुँदै चीन प्रस्थान गर्ने कार्यतालिका छ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले नेपाल-चीन उत्तरी कोरलानाकाबाट चिनियाँ राजदूतको यो पहिलो उच्चस्तरीय भ्रमण भएको बताए। कोरलानाकालाई पूर्ण रूपमा खोल्न र यहाँको समग्र वस्तुस्थितिको अनुगमन गर्न राजदूतको आगमन भएको उनको भनाइ छ।

गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवागढी-केरुङ नाका पूर्ण रूपमा बन्द छ भने तातोपानी नाका पनि ठप्प रहेको छ। दुवै प्रमुख नाका बन्द भएयता मुस्ताङ भन्सार कार्यालयले दैनिक करिब ३० करोड रुपैयाँको हाराहारीमा राजस्व संकलन गर्दै आएको थियो।

यस्तो अवस्थामा कोरलानाका पुनः सञ्चालनको माग भइरहेका बेला चिनियाँ राजदूतको यस भ्रमणलाई कूटनीतिक र आर्थिक दुवै हिसाबले निकै अर्थपूर्ण रूपमा हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *