१५औं महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व गगन थापाले गर्छन्, अर्को कुनै पक्ष छैन: डा. डिला संग्रौला

डिसी नेपाल
१८ असोज २०८३ १३:२४

काठमाडौं। नेपाली कांग्रेसकी सहमहामन्त्री एवं १५औँ महाधिवेशनअन्तर्गत अतिथि स्वागत समितिकी संयोजक डा. डिला संग्रौलाले पार्टीभित्र कुनै पनि पक्ष-विपक्ष नरहेको र गगन थापा निर्विरोध सभापति रहेको बताएकी छन्।

महाधिवेशनको उद्घाटनअघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संयोजक संग्रौलाले नेपाली कांग्रेसको नेतृत्व गगन थापाले नै गर्ने विषय स्पष्ट रहेको उल्लेख गरिन्। “नेपाली कांग्रेसमा कुनै पक्ष-विपक्ष छैन। अबको कांग्रेस गगन थापाको नेतृत्वको कांग्रेस हो र पार्टीको विधान-संविधानले अर्को कांग्रेस चिन्दैन,” उनले भनिन्।

उनले निवर्तमान सभापति शेरबहादुर देउवालाई पनि पत्राचार गरेर हार्दिक आमन्त्रण गरिएको जानकारी दिइन्। देउवालाई कार्यक्रममा बोलाउनु पार्टीको दायित्व र जिम्मेवारी भएको बताउँदै उनले पुनः दोहोर्‍याइन्, “अर्को कांग्रेस नै छैन, कांग्रेस यही हो र गगन थापा निर्विरोध हुनुहुन्छ।”

संग्रौलाले १५औँ महाधिवेशनलाई पार्टी रूपान्तरण, परिवर्तन र नयाँ यात्राको सुरुवातका रूपमा लिएको बताएकी छन्। देशैभरका ७७ वटै जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइसकेको र सानेपास्थित केन्द्रीय कार्यालयमा चाडपर्वजस्तै उत्साहपूर्ण वातावरण बनेको उनले उल्लेख गरिन्।

उनका अनुसार महाधिवेशनमा विदेशस्थित जनसम्पर्क समितिसहित करिब ७ हजार प्रतिनिधिहरूको सहभागिता रहनेछ भने महाधिवेशनको औपचारिक उद्घाटन पार्टी सभापति गगनकुमार थापाले गर्नेछन्।

महाधिवेशनको उद्घाटन सत्रका लागि विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूलाई अतिथिका रूपमा निमन्त्रणा गरिएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेसहित नेकपा एमाले, अन्य कम्युनिस्ट घटक, साना दलहरू तथा सोसलिस्ट इन्टरनेसनलका प्रतिनिधिहरूलाई समेत आमन्त्रण गरिएको संग्रौलाले जानकारी दिइन्।

विदेशी पाहुना तथा आमन्त्रित अतिथिहरूलाई विशेष व्यवस्थासहित स्वागत गरी खुलामञ्चमा आयोजना हुने उद्घाटन सत्रमा लगिने तयारी गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *