पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनस्थल खुलामञ्च प्रवेश गर्दै प्रतिनिधि र समर्थक
काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधि तथा समर्थकहरू पञ्चेबाजा, सांस्कृतिक झाँकी र र्यालीसहित खुलामञ्च प्रवेश गरिरहेका छन्।

महाधिवेशन उद्घाटनको समय नजिकिँदै जाँदा काठमाडौँका विभिन्न स्थानबाट जुलुस र समूह बनाएर आएका कांग्रेसका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरू खुलामञ्च प्रवेश गर्ने क्रम बाक्लिएको छ। विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले आ-आफ्नो क्षेत्र, जाति र भूगोलको मौलिक पहिचान झल्किने झाँकीसमेत प्रदर्शन गरिरहेका छन्।

पञ्चेबाजाको धुनसँगै निकालिएको र्यालीमा सहभागी नेता-कार्यकर्ताहरूले पार्टीको चारतारे झण्डा र नाराबाजीसहित महाधिवेशनस्थलमा प्रवेश गरिरहेका छन्। र्यालीका कारण खुलामञ्च र आसपासका क्षेत्रमा कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो चहलपहल र बाजागाजासहितको रौनक बढेको छ।

कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज दिउँसो २ बजे खुलामञ्चमा सुरु हुँदैछ। यस महाधिवेशनमा देशभरका साथै विदेशस्थित जनसम्पर्क समितिबाट आएका हजारौँ प्रतिनिधि तथा शुभेच्छुकहरू सहभागी हुँदैछन्।

यस महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक, साङ्गठनिक तथा आर्थिक नीति र कार्यदिशा तय गर्नेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment