पुरुष डबल्स ब्याडमिन्टनको उपाधि किरन र कमलको जोडीलाई
महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगरमा जारी पुरुष डबल्स जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि किरन खत्री र कमलसिंह भाटको जोडीले जितेको छ। आज भएको सम्पन्न फाइनल खेलमा विवेक ऐर र जनक ठगुन्नाको जोडीलाई पराजित गर्दै खत्री र भाटको जोडीले उपाधि जितेको हो।
उपाधि विजेता टिमले रु २५ हजार नगद ट्रफी, मेडलबाट पुरस्कृत भए भने उपविजेता टिमले रु १२ हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत भएको आयोजक निङ्गलाशैनी विकास समाजले जनाएको छ। प्रतियोगिताको ४५ वर्षमाथिको उमेर समूहमा ईश्वरी भट्ट र रमेश पाण्डेयको जोडीले उपाधि जितेको छ भने वीरेन्द्र विष्ट र नरेन्द्र चन्दको जोडी उपविजेता बन्यो।
उक्त विधामा विजेता टिम रु १५ हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत भएको प्रतियोगिता संयोजक दिलबहादुर धामीले बताउनुभयो। उपविजेता टिम रु आठ हजार नगदसहित पुरस्कृत भयो। त्यसैगरी, ५० वर्ष उमेर समूह माथिको विधामा प्रेमसिंह भाट र धीरज भट्टको जोडीले उपाधि जितेको छ भने गोकुल बोहरा र दीपेन्द्र भण्डारीको जोडी उपविजेता बन्यो। उक्त विधामा उपाधि विजेता टिम रु १० हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत भएको छ भने उपविजेता टिम रु पाँच हजार नगदसहित पुरस्कृत भएको छ।
प्रतियोगितामा विजेता खेलाडीलाई आयोजक निङ्गलाशैनी विकास समाजका संस्थापक अध्यक्ष प्रेमसिंह भाट, महाकाली प्रादेशिक अस्पतालका पूर्वअध्यक्ष किरण भट्ट, सुदूरपश्चिम प्रदेश फुटबल सङ्घका अध्यक्ष दिनेश श्रेष्ठलगायतले पुरस्कृत गर्नुभएको थियो। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाभरका ५५ समूहको सहभागिता थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment