भक्तपुरको प्लास्टिक दाना कारखानामा भीषण आगलागी, ४० लाखभन्दा बढीको क्षति
भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका-८ जगातीस्थित कँपलिचोकमा सञ्चालित एक प्लास्टिक दाना बनाउने कारखानामा आज बिहान भीषण आगलागी भएको छ। नवराज भट्टले सञ्चालन गर्दै आएको ‘विके सप्लायर्स’ मा अकस्मात् आगलागी भएको हो।
आगलागीको खबर पाउनासाथ पुगेको जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको छ। जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलका अनुसार आगलागीबाट उद्योगमा ठूलो परिमाणको क्षति पुगेको छ।
आगलागीका कारण कारखानामा रहेका मेसिनहरू र प्लास्टिकका कच्चा पदार्थहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। साथै, कारखानासँगै टाँसिएको दिनेश मचामसीको घरमा पनि क्षति पुगेको जानकारी दिइएको छ। प्रहरीका अनुसार आगलागीबाट करिब ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन। हाल प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाउने तथा घटनाबारे आवश्यक अनुसन्धान गर्ने कार्य गरिरहेको छ।
यसैबिच, आगलागी भएलगत्तै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घट्नास्थल पुगेर आगलागीग्रस्त उद्योगको निरीक्षण तथा क्षतिबारे जानकारी लिएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment