आकांक्षी व्यवस्थापन गर्न कांग्रेसमा भागबन्डा: १५ सहमहामन्त्री र ३ महामन्त्रीको प्रस्ताव
काठमाडौं। नेपाली कांग्रेसले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन, गुटगत व्यवस्थापन र समावेशी प्रतिनिधित्वलाई अझ सुदृढ बनाउन केन्द्रीय पदाधिकारीको संख्या उल्लेख्य रूपमा बढाउने निर्णय गरेको छ।
खुलामञ्चमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारी संख्या बढाउनेसम्बन्धी विधान संशोधनको प्रस्ताव निर्णयार्थ महाधिवेशनको बन्दसत्रमा लैजाने निर्णय गरेको हो।
बैठकले पार्टीको संगठनात्मक संरचनामा पहिलोपटक ‘वरिष्ठ उपसभापति’ को नयाँ पद सिर्जना गर्ने निर्णय गरेको छ। नयाँ संशोधित प्रस्तावअनुसार अब पार्टीमा १ जना वरिष्ठ उपसभापतिसहित महिला अनिवार्य रहने गरी कुल ४ जना उपसभापति हुनेछन्।
यसैगरी, महामन्त्रीको संख्या पनि बढाएर ३ पुर्याउने प्रस्ताव गरिएको छ, जसमा एक जना महिला महामन्त्री अनिवार्य रहने व्यवस्था गरिनेछ। यसअघि २ जना मात्र महामन्त्री रहने वैधानिक व्यवस्था थियो। प्रस्तावित नयाँ व्यवस्थाअनुसार उपसभापति र महामन्त्रीका सबै पदहरूमा प्रत्यक्ष निर्वाचन हुनेछ।
त्यस्तै, सहमहामन्त्रीको संख्या हालको ११ बाट ४ जना थप गरी १५ पुर्याउने प्रस्ताव गरिएको छ। १५ जना सहमहामन्त्रीमध्ये खुलातर्फ २ जना रहनेछन् भने बाँकी पदहरू समावेशी क्लस्टर (महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, खस-आर्य र पिछडिएको क्षेत्र) तथा सभापतिद्वारा मनोनीत हुने व्यवस्था मिलाइनेछ।
प्रस्तावित नयाँ विधान संशोधनअनुसार १ सभापति, १ वरिष्ठ उपसभापति, ३ उपसभापति, ३ महामन्त्री, १५ सहमहामन्त्री र १ कोषाध्यक्ष बनाउने प्रस्ताव गरिएकाे छ।
केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको यो विधान संशोधन प्रस्तावलाई जारी १५औँ महाधिवेशनको बन्दसत्रमा पेस गरिनेछ। बन्दसत्रबाट महाधिवेशन प्रतिनिधिहरूले बहुमत वा सर्वसहमतिले पारित गरेपछि यो नयाँ व्यवस्था औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment