विपद् व्यवस्थापनमा कुनै सम्झौता हुँदैन, ढुक्क हुनुहोस्: प्रधानमन्त्री शाह

डिसी नेपाल
१९ असोज २०८३ १२:५२

काठमाडौं।  प्रधानमन्त्री वालेन्द्र शाहले सङ्घ, प्रदेश र स्थानीय सरकारबिचको आपसी समन्वयमा गत भदौ १० गतेयताको विपद् व्यवस्थापनको कार्य निरन्तर भइरहेको बताएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकलाई सम्बोधन गर्दै उनले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पारेका हुन्।

उक्त उच्चस्तरीय बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता रहेको थियो। प्रधानमन्त्री शाहले बैठकमा उपस्थित मुख्यमन्त्रीहरूलाई लक्षित गर्दै भने, “हामीले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँ, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु।”

प्रधानमन्त्री शाहले भोटेकोशी-त्रिशूली, गण्डकीगायतका अन्य प्रभावित क्षेत्रहरूमा आएको बाढीपहिरोको क्षतिको समेत अध्ययन गर्दे त्यसको समग्र व्यवस्थापनमा सरकार पूर्ण रूपमा जुटिरहेको जानकारी दिए।

यसैगरी, विपद् जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउन लागेको उनले उल्लेख गरे। साथै, हिमाली क्षेत्रमा हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक कामहरू भइरहेको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले यस विषम विपद्को व्यवस्थापनमा आफ्नो ज्यानसमेत जोखिममा राखेर निरन्तर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, राजनीतिक दलका प्रतिनिधिलगायत सम्पूर्णप्रति गहिरो कृतज्ञता व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *