बिलबिजकबिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

डिसी नेपाल
२० असोज २०८३ ८:१८

चितवन। बिलबिजकबिना बिक्रीका लागि राखिएका विभिन्न कम्पनीका ६३ थान मोबाइल तथा विद्युतीय उपकरणसहित चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० हाकिमचोकमा बिलबिजकबिना मोबाइल बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले दीपक प्रसाईंलाई पक्राउ गरेको हो। ४१ वर्षीय प्रसाईंले सञ्चालन गर्दै आएको ‘दीपक मोबाइल’बाट विभिन्न सिरिजका एप्पलका ५० थान आइफोन, सामसुङका चार थान, रेडमीका दुई थान, एप्पलको एक थान आइप्याड र भिभोको एक थान मोबाइल गरी ५८ थान मोबाइल तथा विद्युतीय उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार भरतपुर महानगरपालिका–१ रामनगर क्षेत्रमा पनि बिलबिजकबिना मोबाइल फोन ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले उमनन्द भुसाललाई पक्राउ गरेको हो। २८ वर्षीय भुसालको साथबाट बिलबिजकबिना बोकेर ल्याइएका सामसुङ कम्पनीका पाँच थान मोबाइल बरामद गरिएको यादवले जानकारी दिए।

यसरी दुवै जनाको साथबाट बरामद भएका मोबाइल तथा अन्य उपकरणसहित उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज, पर्सा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै जनालाई असोज १८ गते पक्राउ गरिएको हो। बरामद मोबाइल तथा उपकरणको स्रोत र बिलबिजकसम्बन्धी थप अनुसन्धान तथा आवश्यक प्रक्रिया भन्सार कार्यालयबाट अघि बढाइने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *