कांग्रेस १५औं महाधिवेशनः उम्मेदवारी दर्ता सुरू
काठमाडौं। नेपाली कांग्रेसको १५औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आजबाट उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। देशभरिबाट चुनिएर आएका कुल ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधिहरूले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्।
पार्टीको केन्द्रीय निर्वाचन समितिले भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा मनोनयन दर्ता प्रक्रिया सुरु गरेको निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए। तोकिएको कार्यतालिका अनुसार दिउँसो १२:३० बजेदेखि अपराह्न ४:०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ।
यस महाधिवेशनमार्फत नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको आकार र पदाधिकारी संख्यामा उल्लेख्य वृद्धि गरेको छ। सोमबार पारित संशोधित विधानअनुसार केन्द्रीय कार्यसमितिलाई साबिकको १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ भने पदाधिकारी संख्या १४ बाट बढाएर २६ पुर्याइएको छ।
पार्टी विधानको नयाँ व्यवस्था अनुसार उपसभापतिमा १ वरिष्ठ उपसभापति र १ महिला उपसभापति थप गरी कुल संख्या ४ पुर्याइएको छ।
महामन्त्रीमा १ जना अनिवार्य महिलासहित कुल ३ जना र सहमहामन्त्रीमा २ जना खुला पद थप गरी कुल संख्या ११ पुर्याइएको छ। यसका साथै प्रवक्ता पद थप गरिएको छ भने आवश्यकताका आधारमा सहप्रवक्ताहरू थप गर्न सकिने व्यवस्था गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment