सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता
काठमाडौं। अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औं महासभामा सहभागी नेपाली प्रतिनिधिमण्डलका नेता एवं सभामुख डोलप्रसाद (डीपी) अर्याल र महासभामा उपस्थित चिनियाँ प्रतिनिधिमण्डलबीच आज उच्चस्तरीय भेटवार्ता भएको छ।
भेटका क्रममा दुवै देशका प्रतिनिधिहरूबीच नेपाल र चीनबीच जनस्तरमा रहिआएको मित्रवत् सम्बन्धका साथै संसदीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र प्रगाढ बनाउने विषयमा गहन विचारविमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ।
सभामुख अर्यालले नेपाल र चीनबीचको सम्बन्ध निकट मित्रता, असल छिमेकीपन, पारस्परिक सम्मान तथा पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गरे। उनले नेपाल ‘एक चीन नीति’प्रति पूर्ण रूपमा दृढ रहेको दोहोर्याउँदै नेपाली भूमिलाई चीनविरुद्ध कुनै पनि किसिमका गतिविधिमा प्रयोग हुन नदिने प्रतिबद्धता स्पष्ट पारे।
नेपाललाई भूपरिवेष्ठितबाट भूजडित मुलुकमा रूपान्तरण गर्न चीनले पुर्याउँदै आएको निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै सभामुख अर्यालले दुई देशबीचको विकास सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
यसैगरी, उनले हालै रसुवामा गएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त घटनामा बेपत्ता भएका चिनियाँ नागरिकका परिवारजनप्रति समवेदना प्रकट गरे।
विपद्को कठिन समयमा चीन सरकारका तर्फबाट प्राप्त आपत्कालीन आर्थिक सहायता, मानवीय सहयोगका साथै खोज तथा उद्धारका लागि पठाइएको विशेषज्ञ टोली (सुरुङ उद्धार, फरेन्सिक, डीएनए टोली) र ड्रोन उपकरणहरूका लागि उहाँले विशेष धन्यवाद व्यक्त गरे।
सभामुख अर्यालले दुवै देशका संसद्बीच स्थापित संसदीय मैत्री समूह तथा नेपालको प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकांग्रेसबीच भएको अन्तरसंसदीय सहकार्यसम्बन्धी समझदारीले आगामी दिनमा संसदीय आदानप्रदान र आपसी समझदारीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment