उपसभापतिको चर्चाबीच रवि निवासमा कुमार बेन

डिसी नेपाल
२० असोज २०८३ १३:०८

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका रिक्त पदाधिकारी पदहरूमा पदपूर्तिको अन्तिम तयारी गरिरहेका बेला उपसभापति पदका प्रमुख दाबेदार एवं प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका मुख्य सल्लाहकार कुमार बेन र रास्वपा सभापति रवि लामिछानेबीच महत्वपूर्ण भेटवार्ता भएको छ।

मंगलबार बेन सभापति लामिछानेलाई भेट्न उनकै बुढानिलकण्ठस्थित निवास पुगेका हुन्।

उनीहरूबीच देशको समसामयिक राजनीतिक परिस्थिति, सरकार-पार्टी समन्वय तथा रास्वपाभित्र लामो समयदेखि अनिर्णीत बनेको पदाधिकारी मनोनयनका विषयमा गम्भीर छलफल भएको छ।

पार्टीभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक संवाद र शक्ति सन्तुलनको भागबण्डाले टुंगो पाएपछि उपसभापतिमा कुमार बेन र महामन्त्री पदमा हालका पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई मनोनयन गर्ने तयारी गरिएको हो।

रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहको प्रत्यक्ष सिफारिस र सहमतिमा सभापति लामिछानेले यी नामहरूलाई अगाडि बढाएकाे स्राेतकाे दाबी छ।

गत असारमा चितवनको भरतपुरमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट सभापतिमा रवि लामिछाने, उपसभापतिद्वयमा डा. स्वर्णिम वाग्ले र सोविता गौतम तथा महामन्त्रीमा विपिन आचार्य प्रत्यक्ष निर्वाचित भएका थिए।

रास्वपाको संशोधित विधान अनुसार पार्टीमा कुल १९ जना पदाधिकारी र १५८ सदस्यीय केन्द्रीय समिति रहने स्पष्ट व्यवस्था छ। विधानले सभापतिलाई केन्द्रीय सदस्यहरूमध्येबाट निश्चित पदाधिकारी मनोनयन गर्ने विशेषाधिकार प्रदान गरेको छ।

सभापतिले मनोनयन गर्ने कोटामा १ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री, १ प्रवक्ता, ३ सहप्रवक्ता, १ कोषाध्यक्ष र २ सहकोषाध्यक्ष गरी कुल १२ जना पदाधिकारी पर्दछन्।

महाधिवेशन सम्पन्न भएको चार महिना बित्न लाग्दा पनि पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र बालेन समूहबाट नाम टुंगो लाग्न ढिलाइ हुँदा यो मनोनयन प्रक्रिया रोकिएको थियो।

पूर्वसहमति अनुसार सभापतिले मनोनयन गर्ने १ उपसभापति र १ महामन्त्रीको पद वरिष्ठ नेता बालेन्द्र शाहको कोटामा परेको थियो। अहिले सभापति लामिछानेले बालेनको कोटाबाट एक उपसभापति र एक जना महामन्त्री नियुक्तिको तयारी गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *