कांग्रेस महाधिवेशन: महिला प्रतिनिधिको गुनासै गुनासो!
काठमाडौं। नेपालमा पछिल्लो समय राजनीतिमा महिलाहरूको सक्रियता क्रमशः बढे पनि व्यावहारिक अवसरहरूबाट भने अझै बञ्चित हुनुपरेको गुनासो महिला नेतृहरूले गरेका छन्।
मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा चलिरहँदा देशभरिबाट सहभागी हुन आएका महिला प्रतिनिधिहरूले पार्टीको नेतृत्व तहमा समान सहभागिताको जोडदार माग अघि सारेका छन्।
कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि केशरी विष्ट रावलले महाधिवेशनप्रति महिलाहरूमा व्यापक उत्साह बढेको भए पनि भौगोलिक दूरता र पहुँचको अभावका कारण दूरदराजका महिलालाई केन्द्रीय समितिमा पुग्न अझै ठूलो कठिनाइ रहेको बताइन्।
उनले भनिन्, “महिलाहरू उत्साहित छन्, पार्टीको विधान पनि समावेशी बनेको छ। तर दूरदराजका महिलाहरू अझै पनि सेन्ट्रल कमिटी (केन्द्रीय समिति) मा पुग्न सकिरहेका छैनन्। भूगोलका हिसाबले टाढा र पिछडिएको क्षेत्रका धेरै महिलाहरूलाई महाधिवेशन भनेको के हो र कसरी सञ्चालन हुन्छ भन्ने कुराको समेत अझै पर्याप्त जानकारी छैन।”
रावलका अनुसार पार्टीको नीति, संगठन र संरचनाबारे ग्रामीण क्षेत्रका धेरै महिलालाई अझै पर्याप्त ज्ञान छैन। तर, निरन्तर पार्टी संगठनमा खटिएका महिलाहरूलाई भने नीति, संरचना र संगठन निर्माणबारे राम्रो अनुभव रहेको उनको भनाइ छ।
उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि लामो समयदेखि संगठन निर्माण तथा राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका महिलाहरूलाई अवसरबाट बञ्चित गरिनु नहुनेमा जोड दिइन्।
यसैगरी, सिन्धुलीबाट आएकी महाधिवेशन प्रतिनिधि बालकुमारी श्रेष्ठले महिलालाई समावेशी ढङ्गले नेतृत्वमा अघि बढाउन पार्टीले प्राथमिकता दिएकोमा खुसी व्यक्त गरिन्। महिलाहरूसँग आफ्नै मौलिक र महत्त्वपूर्ण एजेन्डाहरू हुने भएकाले उनीहरूको आवाज नीति निर्माण तथा नेतृत्व तहबाटै बुलन्द गरिनुपर्ने उनको धारणा छ।
यता, जाजरकोटबाट आएकी प्रतिनिधि हजारी नेपाली वादीले कर्णाली प्रदेशमा अझै पनि महिलाहरू शिक्षा, स्वास्थ्य, सूचना तथा सञ्चारलगायतका आधारभूत सेवा र पहुँचबाट बञ्चित रहेको दुःखेसो पोखिन्।
उनले महिलालाई चुलोचौकोमै सीमित राख्ने परम्परागत अवस्थाको अन्त्य गर्दै राजनीतिक नेतृत्वमा अघि बढाउनुपर्ने बताइन्। देशभरबाट वादी समुदायको प्रतिनिधित्व गर्ने आफू एकल उम्मेदवार भए पनि पार्टीभित्रको आन्तरिक परिस्थितिका कारण आफ्नो उम्मेदवारी सफल हुन नसकेको उनले जानकारी दिइन्।
वादी समुदायबाट अहिलेसम्म कांग्रेसको केन्द्रीय समितिमा प्रतिनिधित्व हुन नसकेको उल्लेख गर्दै उनले आगामी दिनमा आफ्नो समुदायको राजनीतिक प्रतिनिधित्व अनिवार्य रूपमा सुनिश्चित गरिनुपर्ने माग गरिन्।
त्यस्तै, सप्तरी क्षेत्र नम्बर २ की महाधिवेशन प्रतिनिधि ललिता कुमारी शाहले पछिल्लो समय राजनीतिमा महिलाको सहभागिता उल्लेख्य रूपमा बढ्दै गएको बताइन्।
पत्रकारिता, व्यापार र शिक्षालगायतका क्षेत्रमा जस्तै पछिल्ला वर्षहरूमा महिलाहरू राजनीतिमा पनि उत्तिकै सक्रिय रूपमा आउन थालेको उनको भनाइ छ। विशेषगरी युवा महिलाहरू कांग्रेसको लोकतान्त्रिक विचारधाराबाट प्रभावित भएर स्वतःस्फूर्त रूपमा राजनीतिमा प्रवेश गरिरहेको उनले उल्लेख गरिन्।
शाहका अनुसार कांग्रेसको संशोधित विधानले युवा तथा महिलाको प्रतिनिधित्व सुनिश्चित गरेकाले आगामी दिनमा राजनीतिमा महिलाको सहभागिता थप फराकिलो बन्नेछ। ३५ वर्षमुनिका युवाको प्रतिनिधित्वमा तीन जनामध्ये कम्तीमा एक जना महिला हुनुपर्ने वैधानिक व्यवस्थाले पनि महिलालाई नेतृत्वमा पुग्ने अवसर बढाएको उनले स्पष्ट पारिन्।
मधेसमा सामाजिक तथा पारिवारिक कारणले महिलालाई राजनीतिमा आउन अझै केही कठिनाइ भए पनि विधानले सुनिश्चित गरेको समावेशी व्यवस्थाका कारण महिलाको राजनीतिक सहभागिता तीव्र रूपमा बढिरहेको उनले बताइन्।
No ads found for this position




Facebook Comment