दशैंको अग्रिम टिकट बुकिङ असोज २३ देखि खुला

डिसी नेपाल
२० असोज २०८३ १४:४५

काठमाडौं।  यस वर्षको बडादशैंमा काठमाडौं उपत्यका छाडेर घर जाने यात्रुहरूका लागि यही असोज २३ गतेदेखि सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ।

यातायात व्यवस्था विभागमा मङ्गलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र विभागका पदाधिकारीहरूबीच बसेको संयुक्त बैठकले असोज २३ गतेदेखि बुकिङ खुला गर्ने निर्णय गरेको हो। बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला र विभागका महानिर्देशक राजीव पोखरेल लगायतको उपस्थिति रहेको थियो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महानिर्देशक पोखरेलले दशैंका बेला यात्रुहरूको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरिएको जानकारी दिए।

दसैँको समयमा राजधानीबाट देशका विभिन्न जिल्लातर्फ जाने यात्रुको अत्यधिक चाप हुने भएकाले अग्रिम टिकट बुकिङ, थप सवारीसाधनको व्यवस्थापन तथा यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापनाजस्ता तयारीलाई प्राथमिकता दिइएको विभागले जनाएको छ।

यात्रुहरूले सहजरूपमा टिकट पाओस्, ठगी वा बिचौलियाको सास्ती खेप्नुनपरोस् र सुरक्षित यात्रा गर्न सकून् भन्ने उद्देश्यले यातायात व्यवसायी, नेपाल प्रहरी र सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय भइरहेको महानिर्देशक पोखरेलले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *