जसपा नेपालको केन्द्रीय समिति बैठक भोलिदेखि सुरु हुँदै

डिसी नेपाल
२० असोज २०८३ १७:१६

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबीचको एकतापछि गठित ‘जसपा नेपाल’को पहिलो केन्द्रीय समिति बैठक असोज २१ गते (भोलि) देखि काठमाडौंमा सुरु हुने भएको छ।

साउन ३० गते दुई पार्टीबीच एकता भई घाेषणा गरिएकाे २७९ सदस्यीय एकीकृत केन्द्रीय कार्यसमितिको यो पहिलो औपचारिक बैठक हो, जुन असोज २३ गतेसम्म तीन दिन चल्नेछ।

बैठकको पूर्वसन्ध्यामा आज (सोमबार) केन्द्रीय कार्यकारिणी समितिको बैठक बसी भोलि प्रस्तुत हुने एजेन्डाहरूबारे विस्तृत छलफल गरिएको पार्टीका महासचिव डा. सुरेन्द्र झाले जानकारी दिएका छन्।

बैठकमा पार्टीको भावी राजनीतिक दिशा, संगठनात्मक संरचना तथा रणनीति समेटिएको राजनीतिक र संगठनात्मक प्रतिवेदन प्रस्तुत गरिनेछ। उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूबीच सामूहिक छलफल गराएर पारित गर्ने तयारी गरिएको छ।

यसबाहेक, एकीकरणपछि पनि समायोजन हुन बाँकी रहेका प्रदेश, जिल्ला र स्थानीय तहका समितिहरूका साथै विभिन्न भ्रातृ संगठनहरूको समायोजन प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयमा पनि गहन छलफल हुनेछ।

बैठकले केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी तथा कार्यविभाजन तोक्नुका साथै मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी संगठन विस्तार तथा सार्वजनिक कार्यक्रमहरूबारे आवश्यक निर्णय लिने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *