दुर्गा प्रसाईं धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं। जिल्ला अदालत काठमाडौंले विवादस्पद मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा मुद्दा चलाइएका प्रसाईंलाई जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मङ्गलवार (असोज २० गते) २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडामाथि सामाजिक सञ्जाल तथा युट्युबमार्फत चरित्रहत्या एवं अपमानजनक टिप्पणी गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंविरुद्ध मुद्दा दर्ता गरेको थियो। सांसद खतिवडाले दिएको किटानी उजुरीका आधारमा ब्युरोले अदालतबाट पक्राउ पुर्जी लिएर प्रसाईंलाई नियन्त्रणमा लिएको थियो।
प्रसाईंले युट्युब अन्तर्वार्ताका क्रममा सांसद खतिवडाले “छोराको शवसँग सांसद पद साटेको” भन्दै विवादास्पद र आपत्तिजनक अभिव्यक्ति दिएका थिए।
अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश लुइँटेलको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा नराखी २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। धरौटी रकम बुझाएपछि उनी हिरासतमुक्त हुनेछन्। यसअघि पनि प्रसाईं विभिन्न अभिव्यक्ति र विवादास्पद गतिविधिको आरोपमा पटक-पटक पक्राउ पर्दै र छुट्दै आएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment