एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?

डिसी नेपाल
२१ असोज २०८३ ६:३४
8
Shares

काठमाडौं।  नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका कामलाई तीव्र पारिएको छ।

प्रतियोगिताको हरेक संस्करण बृहद् बन्दै गएकाले दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई विगतभन्दा राम्रो अनुभव दिने गरी तयारी भइरहेको जानकारी उनले दिए।

“हामी तयारीको अन्तिम चरणमा छौं। प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्नुपर्ने अपेक्षा निकै धेरै छ। प्रतियोगिता जति ठूलो हुँदै गयो, त्यति नै हाम्रो जिम्मेवारी पनि थपिएको छ”, सचिव खड्काले भने, “दशैं सबै काम सकेर तेस्रो संस्करणका लागि पूर्ण रूपमा तयार हुने हाम्रो योजना रहेको छ।”

गत संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी कमीकमजोरी सुधार्दै यस पटक मैदानमा केही नयाँ संरचना थपिने भएका छन्।

एनपिएलका खेलहरूमा दर्शकको चाप अत्यधिक हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढाउने प्रयास गरिएको जानकारी सचिव खड्काले दिए। मैदान परिसरमा थप दर्शक अटाउन मिल्ने स्थान पहिचान गरी आवश्यक संरचनात्मक परिवर्तन भइरहेको उनको भनाइ छ।

यसैगरी, मैदान प्रवेश गर्ने बाटो तथा गेट व्यवस्थापनमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सुधारको पहल भइरहेको सचिव खड्काले उल्लेख गरे। टिकट लिएर मैदान पुग्ने दर्शकलाई प्रवेशदेखि खेल हेरेर फर्किंदासम्म सहज वातावरण मिलाउने गरी व्यवस्थापनमा विशेष ध्यान दिइएको क्यानको भनाइ छ।

गत संस्करणमा दर्शकले शौचालय तथा आवतजावतका क्रममा धुलोलगायतका सास्ती भोग्नु परेको थियो। यसपटक त्यस्ता समस्या दोहोरिन नदिन क्यानले आवश्यक कदम चालेको सचिव खड्काले बताए।

दशैंलगत्तै एनपिएल

दशैं-तिहारको बीचमा एनपिएल आयोजना हुँदा दर्शकको उपस्थिति प्रभावित हुन सक्ने आकलन गरिए तापनि नेपाल क्रिकेट सङ्घ (क्यान) भने यसप्रति धेरै चिन्तित देखिँदैन। क्यानका सचिव खड्का नेपाली क्रिकेटको ‘फ्यान बेस’ निकै बलियो भएकाले चाडपर्वको समय भए तापनि दर्शकको उत्साहमा कमी नआउने विश्वास व्यक्त गर्छन्।

उनका अनुसार एनपिएलको मिति तय गर्दा अन्तरराष्ट्रिय क्रिकेट र अन्य फ्रेन्चाइज लिगको तालिका तथा विदेशी खेलाडीको उपलब्धतालाई मुख्य आधार बनाइएको हो। यी सम्पूर्ण पक्षलाई ध्यानमा राख्दा यस वर्षका लागि दशैं-तिहारको बीचको समय नै प्रतियोगिता आयोजना गर्न सबैभन्दा उपयुक्त देखिएको उहाँको भनाइ छ।

तेस्रो संस्करणमा सहभागी टोलीहरूले अन्तरराष्ट्रिय क्रिकेटका चर्चित खेलाडीहरूलाई अनुबन्ध गर्ने क्रमलाई तीव्र पारेका छन्।

विदेशी खेलाडीको उपस्थितिले यसपटक एनपिएलप्रति दर्शकको आकर्षण थप तीव्र हुने क्यानको अपेक्षा छ। टेलिभिजनमा हेर्दै आएका चर्चित खेलाडीहरूलाई आफ्नै मैदानमा प्रत्यक्ष हेर्न पाउने अवसरले दर्शकलाई मैदानसम्म तान्ने सचिव खड्काको विश्वास रहेको छ।

“यसपालि ठूलाभन्दा ठूला खेलाडी हरेक टोलीले भित्र्याइरहेका छन्। टिभीमा हेरिरहेका खेलाडीलाई अब कीर्तिपुर अन्तरराष्ट्रिय क्रिकेट मैदानमै प्रत्यक्ष देख्न सक्ने अवस्था बनेको छ”, उनले थपे। एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *