मधेस विश्वविद्यालयमा थप तीन शैक्षिक कार्यक्रम, स्वास्थ्यतर्फ पनि पढाइ सुरु गर्ने तयारी
जनकपुरधाम। पर्साको वीरगन्जस्थित मधेस विश्वविद्यालयले चालु शैक्षिकसत्र २०८३ बाट थप तीनवटा शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। विश्वविद्यालयले स्नातकोत्तर तहमा एमबिए तथा स्नातक तहमा एलएलबी र बिबीएको पठनपाठन सुरु गरेको हो।
विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवका अनुसार थपिएका तीनवटै कार्यक्रममध्ये एलएलबीको कक्षा सञ्चालन भइसकेको छ भने बिबीएको कक्षा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। एमपिएतर्फ दोस्रो ब्याचका लागि समेत भर्ना खोलिएको र भर्ना प्रक्रिया पूरा भएपछि कक्षा सञ्चालन गरिने उनले बताए।
विद्यार्थीको आकर्षण बढ्दै गएपछि विश्वविद्यालयले थप शैक्षिक कार्यक्रम विस्तार गरेको यादवको भनाइ छ। यसअघि विश्वविद्यालयले स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम कक्षा सञ्चालन गर्दै आएको थियो।
मधेस प्रदेशसभाले २०७९ वैशाख १४ गते मधेस विश्वविद्यालय ऐन, २०७९ जारी गरेपछि सोही वर्ष भदौ २२ गते विश्वविद्यालय स्थापना भएको थियो। स्थापनाको पहिलो वर्षमै विश्वविद्यालयले दुईवटा सङ्कायमा पठनपाठन सुरु गरेको थियो। हाल विश्वविद्यालयले वीरगन्जस्थित नेशनल ट्रेडिङको भवन लिजमा लिएर कार्यालय तथा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ।
विश्वविद्यालयलाई अनुसन्धान र प्रशिक्षणमा केन्द्रित गर्दै मधेस प्रदेशमै पहिलो ‘मधेस अनुसन्धान तथा प्रशिक्षण केन्द्र’ स्थापना गर्ने लक्ष्यसमेत लिइएको उपकुलपति प्रा. डा. दीपकबहादुर शाक्यले बताए। उनका अनुसार विश्वविद्यालयमा सञ्चालन भइरहेका कक्षामा विद्यार्थीको आकर्षण बढेकाले थप विषय तथा कार्यक्रम विस्तार गर्न उत्साह मिलेको छ।
उनले निकट भविष्यमै मेडिकल, ल्याब टेक्निसियन, फिजियोथेरापीलगायत चिकित्सा तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको बताए। तत्कालका लागि वीरगन्जस्थित नारायणी अस्पताल र पोखरिया अस्पताललाई आधार बनाएर एमबीबीएस कक्षा सञ्चालन गर्ने योजनासहित प्राविधिक टोलीमार्फत सम्भाव्यता अध्ययन गर्ने तयारी भइरहेको उनको भनाइ छ।
मधेस विश्वविद्यालयको उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने उद्देश्यले एमफिल र पीएचडी कार्यक्रमसँगै फार्मेसी, विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित प्राविधिक शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्ने योजना रहेको उपकुलपति शाक्यले बताए।
मधेस प्रदेशका ग्रामीण क्षेत्रका विद्यार्थी तथा जनतालाई उच्च शिक्षामा समाहित गर्ने लक्ष्यसहित विश्वविद्यालयले शिक्षा, श्रम, सीप र समृद्धिलाई जोड्ने नीति अघि सारेको छ। दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मधेस प्रदेशमै पहिलो ‘मधेस स्किल स्कुल’ स्थापना गर्ने योजना पनि विश्वविद्यालयले अघि सारेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment