हुम्लामा अचानक वर्षा र हिमपात, जनजीवन प्रभावित
हुम्ला। हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ।
नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताँजाकोटलगायत तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ। वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ।
लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रका कच्ची सडक तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवतजावतमा समस्या भएको छ। कतिपय स्थानमा सडक अवरुद्ध हुन थालेपछि यातायातसमेत प्रभावित भएको सर्केगाड–१ जैरको खच्चाका दीपक कार्कीले बताएका छन्।
उनका अनुसार खच्चामा सुक्खा पहिरो खसिरहने समस्या रहेकाले वर्षाका कारण सडक थप जोखिमपूर्ण बनेको छ। लगातारको वर्षाले कतिपय स्थानमा सडक पूर्णरूपमा अवरुद्ध हुन थालेको उनले बताए।
वर्षाका कारण पाक्न लागेको तथा खेतबारीमा रहेको अन्नबाली र तरकारीमा समेत क्षति पुग्ने जोखिम बढेको छ। केही स्थानमा बाढीपहिरो तथा खोलानालामा पानीको बहाव बढ्न थालेपछि स्थानीयमा त्राससमेत बढेको छ।
वर्षा र हिमपातका कारण पशुचौपायासमेत प्रभावित भएका छन्। चिसो बढेपछि खुला तथा गोठमा राखिएका पशुचौपायालाई आहार तथा संरक्षणमा समस्या भएको स्थानीयले बताएका छन्।
अचानक मौसममा आएको परिवर्तनसँगै जिल्लाका उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा वर्षा जारी रहेकाले सम्भावित क्षतिप्रति सतर्क रहन स्थानीयलाई आग्रह गरिएको छ।
जिल्लाका विभिन्न स्थानमा हिमपात तथा वर्षा भइरहेकाले सुरक्षित रहन जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले आग्रह गरेका छन्। वर्षाका कारण भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको र जिल्लाका केही क्षेत्रमा अझै निरन्तर वर्षा भइरहेको उनले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment