भौतिक अनुभवभित्र चेतनाको आध्यात्मिक स्पन्दन
मानव जीवन दृश्य र अदृश्यको अद्भुत सङ्गम हो। शरीर देखिन्छ, चेतना अनुभूत हुन्छ र ऊर्जा अनुभव गरिन्छ। तर यी तीनैको अस्तित्वलाई एउटै भाषिक वा वैज्ञानिक सूत्रमा बाँध्न सहज छैन।
मानिस केवल शरीर मात्र होइन, ऊ विचारको निरन्तर प्रवाह मात्र पनि होइन। ऊ अनुभव, स्मृति, संवेदना, इच्छा, कर्म र आत्मबोधको एक जटिल समष्टि हो। भौतिक जगतसँगको निरन्तर अन्तर्क्रियाले उसको चेतनालाई प्रभावित गर्छ भने चेतनाले फेरि उसको निर्णय, व्यवहार र कर्मलाई दिशा दिन्छ।
यही पारस्परिक सम्बन्धबाट जीवनको अर्थ निर्माण हुन्छ। त्यसैले चेतना र भौतिक अनुभवबीचको सम्बन्ध केवल दर्शनको विषय मात्र नभएर मानव अस्तित्व, नैतिकता, मनोविज्ञान र सामाजिक व्यवहार बुझ्ने महत्त्वपूर्ण आधार पनि हो।
अनुभूतिको आन्तरिक संसार र चेतना
चेतना मानव अस्तित्वको सबैभन्दा सूक्ष्म रहस्य हो। आँखाले शरीर देख्छ र आधुनिक उपकरणले मस्तिष्कका विद्युतीय गतिविधि मापन गर्न सक्छ; तर अनुभूतिको आन्तरिक संसारलाई पूर्ण रूपमा कुनै पनि बाह्य उपकरणले समेट्न सक्दैन।
पीडा, प्रेम, करुणा, भय, आशा र आनन्द प्रत्येक व्यक्तिका आन्तरिक अनुभूति (अन्तरानुभूति) हुन्। चेतनाले बाह्य घटनालाई केवल ग्रहण मात्र गर्दैन, त्यसलाई अर्थ पनि दिन्छ। एउटै घटना दुई फरक व्यक्तिका लागि भिन्न-भिन्न अनुभव बन्न सक्छ।
यसको मुख्य कारण उनीहरूको स्मृति, संस्कार, मूल्यबोध र मानसिक संरचनामा रहेको भिन्नता हो। यस अर्थमा भौतिक संसार सबैका लागि समान भए तापनि अनुभूत संसार समान हुँदैन। मानिसले बाह्य यथार्थलाई आफ्नो चेतनाकै ऐनाबाट हेर्ने गर्दछ।
वैज्ञानिक ऊर्जा र आध्यात्मिक शक्ति
यहीँबाट ऊर्जाको अवधारणा प्रवेश गर्छ। विज्ञानमा ऊर्जा निश्चित अर्थ भएको एउटा भौतिक अवधारणा हो। ताप, प्रकाश, विद्युत्, रासायनिक ऊर्जा तथा गति ऊर्जा यसका विभिन्न रूप हुन्। तर आध्यात्मिक र दार्शनिक परम्परामा ‘ऊर्जा’ शब्दको अर्थ अझ व्यापक हुन्छ।
त्यहाँ ऊर्जालाई जीवनशक्ति, गतिशीलता र अस्तित्वको सक्रिय आयामका रूपमा व्याख्या गरिन्छ। यी दुई अर्थलाई एउटै ठान्नु उचित हुँदैन; किनकि वैज्ञानिक ऊर्जा र आध्यात्मिक शक्ति समानार्थी शब्द होइनन्। तथापि, दुवै अवधारणाले परिवर्तन, गति र सक्रियताको प्रश्नसँग सम्बन्ध राख्ने भएकाले यीबीच संवाद भने सम्भव छ। तर संवाद गर्दा दुवैका तत्त्वगत भिन्नतालाई स्वीकार गर्नैपर्छ।
चेतनाको सामाजिक र नैतिक आयाम
मानिसको विचारले उसको व्यवहारलाई प्रभावित गर्छ। व्यवहार दोहोरिँदै जाँदा बानी बन्छ, बानीले संस्कारलाई आकार दिन्छ, संस्कारले चरित्र निर्माण गर्छ र चरित्रले जीवनको अन्तिम दिशा निर्धारण गर्छ।
यसरी हेर्दा चेतना केवल आन्तरिक अनुभवमा मात्र सीमित छैन, यसको प्रत्यक्ष सामाजिक परिणाम पनि हुन्छ। करुणामय चेतनाले सहयोगी व्यवहार जन्माउन सक्छ भने घृणाले समाजमा विभाजन बढाउन सक्छ।
जिम्मेवार चेतनाले सार्वजनिक हितलाई प्राथमिकता दिन्छ भने स्वार्थप्रधान चेतनाले निजी लाभलाई सामूहिक हितभन्दा माथि राख्छ। त्यसैले चेतनाको गुणस्तर व्यक्तिगत विषय मात्र नभई सामाजिक नैतिकताको पनि आधार हो।
भौतिक अनुभव र चेतनाको पुनर्गठन
मानिसको भौतिक अनुभवले उसको चेतनालाई निरन्तर पुनर्गठित गरिरहेको हुन्छ। परिवार, शिक्षा, समाज, प्रकृति, प्रविधि, अर्थव्यवस्था र राजनीतिक संरचनाले व्यक्तिको सोच निर्माण गर्छन्। गरिबीले एउटा प्रकारको अनुभव दिन्छ भने समृद्धिले अर्को प्रकारको।
युद्धले भयको संस्कार जन्माउन सक्छ भने शान्तिले सहअस्तित्वको चेतना विकसित गराउँछ। प्रकृतिसँगको निकटताले संवेदनशीलता बढाउँछ भने निरन्तरको डिजिटल सम्पर्कले ध्यान, सम्बन्ध र आत्मअनुभूतिको शैली नै परिवर्तन गरिदिन्छ। त्यसैले चेतना शून्यमा निर्माण हुँदैन; यो जीवनका असंख्य अनुभवहरूबाट परिपक्व हुँदै जान्छ।
तर भौतिक अनुभवले मात्र चेतनाको सम्पूर्ण व्याख्या गर्न सक्दैन। मानिसले एउटै परिस्थितिमा पनि परिवर्तनको सम्भावना देख्न सक्छ, जुन उसको आत्मचेतनाको मुख्य शक्ति हो। परिस्थितिले मानिसलाई प्रभावित गर्छ, तर मानिसले परिस्थितिको अर्थलाई पुनःनिर्माण पनि गर्न सक्छ।
असफलता कसैका लागि अन्त्य हुन सक्छ भने अर्काका लागि त्यो सिकाइको नयाँ प्रारम्भ बन्न सक्छ। आलोचना कसैका लागि अपमान हुन सक्छ भने अर्काका लागि आत्मसुधारको सुनौलो अवसर। बाह्य घटना उही रहे पनि चेतनाको व्याख्या बदलिन्छ। यही क्षमताले मानव जीवनलाई केवल घटनाहरूको निरर्थक शृङ्खला हुनबाट बचाउँछ।
पूर्वीय दर्शन, वेदान्त र योगको दृष्टिकोण
पूर्वीय दर्शनले यस प्रश्नलाई अझ सूक्ष्म तहमा प्रवेश गराएको छ। उपनिषद्हरूले आत्मा र ब्रह्मबीचको सम्बन्धलाई अस्तित्वको मूल प्रश्नका रूपमा उठाएका छन्। वेदान्तले दृश्य जगतको पछाडि रहेको परम तत्त्वको खोज गर्छ।
‘अहं ब्रह्मास्मि’ महावाक्यले व्यक्तिको आत्मस्वरूपलाई ब्रह्मसँगको अद्वैत सम्बन्धमा हेर्छ। यसको अर्थ साधारण अहङ्कारलाई ब्रह्म घोषणा गर्नु होइन; यसको गहिरो आशय व्यक्तिगत सीमित पहिचानभन्दा पर रहेको चेतनात्मक सत्यको अनुभूति गर्नु हो।
वेदान्तीय चिन्तनमा ‘सत्’, ‘चित्’ र ‘आनन्द’को अवधारणा विशेष अर्थपूर्ण छ। सत् अस्तित्वको संकेत हो, चित् चेतनाको र आनन्द परम अनुभूतिको। यी अवधारणालाई आधुनिक भौतिक विज्ञानको पदार्थ, ऊर्जा र चेतनासँग सीधा समान ठान्नु दार्शनिक रूपमा असावधानीपूर्ण हुन्छ; किनकि यी फरक ज्ञान-परम्पराका अवधारणात्मक संरचना हुन्।
तर रूपकात्मक संवाद भने सम्भव छ। एउटा पक्षले अस्तित्वको आध्यात्मिक आयाम खोज्छ भने अर्को पक्षले प्रकृति र पदार्थको संरचना तथा परिवर्तनको अध्ययन गर्छ। दुवैका प्रश्न फरक भए तापनि मानव जिज्ञासाको केन्द्र एउटै छ— “अस्तित्व आखिर के हो?”
योगदर्शनले पनि शरीर, श्वास, मन र चेतनाबीचको सम्बन्धलाई विशेष महत्त्व दिएको छ। श्वासमा ध्यान दिनु केवल शारीरिक अभ्यास मात्र होइन, यो आत्मनिरीक्षणको सशक्त माध्यम बन्न सक्छ। ध्यानले विचारको गति अवलोकन गर्न सिकाउँछ र मनमा उठेका भावनालाई तुरुन्तै कर्ममा बदल्नुपर्ने बाध्यतालाई कम गर्छ। क्रोध उठ्छ, तर क्रोध नै निर्णयकर्ता बन्नुपर्दैन।
लोभ आउँछ, तर लोभ नै कर्मको आधार बन्नुपर्दैन। यही अन्तरालमा विवेकको जन्म हुन्छ। चेतना जागरूक हुँदा प्रतिक्रिया र उत्तरबीचको दूरी विस्तार हुन्छ, र त्यही दूरी नै आत्मअनुशासनको आरम्भ हो।
आधुनिक मनोविज्ञान र सकारात्मकता
आधुनिक मनोविज्ञानले पनि मानिसको विचार, भावना र व्यवहारबीच गहिरो सम्बन्ध रहेको देखाउँछ। व्यक्तिले आफूलाई कसरी हेर्छ भन्ने कुराले उसको व्यवहारमा प्रत्यक्ष प्रभाव पार्छ। आत्मविश्वासले प्रयासलाई प्रोत्साहित गर्छ भने निरन्तरको आत्महीनताले प्रयासलाई कमजोर बनाउँछ।
यसैले सकारात्मक सोचको अर्थ समस्यालाई अस्वीकार गर्नु होइन, यसको वास्तविक अर्थ समस्याभित्र सम्भावना खोज्नु हो। वास्तविक सकारात्मकता अन्धो आशावाद होइन; यो यथार्थलाई स्वीकार गर्दै समाधानको बाटो खोज्ने मानसिक क्षमता हो। चेतना उज्यालो हुनु भनेको अँध्यारो नभएको अवस्था होइन, बरु अँध्यारोभित्र पनि बाटो देख्न सक्ने क्षमता हो।
भौतिक समृद्धि, प्रविधि र पर्यावरणीय चेतना
भौतिक जीवनको गुणस्तर पनि चेतनासँगै जोडिन्छ। पर्याप्त भोजन, स्वास्थ्य, शिक्षा, सुरक्षित आवास, स्वच्छ वातावरण र आर्थिक स्थायित्व मानव जीवनका आधारभूत आवश्यकता हुन्। आध्यात्मिकताको नाममा भौतिक आवश्यकतालाई अस्वीकार गर्नु सन्तुलित दृष्टिकोण होइन।
शरीरलाई उपेक्षा गरेर आत्मिक उन्नतिको दाबी अधुरो हुन्छ। त्यसैगरी, भौतिक समृद्धिलाई मात्र जीवनको अन्तिम लक्ष्य ठान्नु पनि अपूर्ण दृष्टिकोण हो। सम्पत्ति र सुविधा बढ्न सक्छन्, तर त्यससँगै लोभ पनि बढ्न सक्छ।
प्रविधि विकसित हुन सक्छ, तर एकाकीपन र मानसिक अशान्ति पनि बढ्न सक्छ। त्यसैले विकासको वास्तविक प्रश्न केवल ‘कति प्राप्त भयो?’ भन्ने मात्र होइन, ‘प्राप्त वस्तुले मानिसलाई कस्तो बनायो?’ भन्ने पनि हो।
यही सन्दर्भमा प्रकृतिसँगको सम्बन्ध अत्यन्त महत्त्वपूर्ण हुन्छ। मानव सभ्यता प्रकृतिभन्दा अलग छैन। हाम्रो शरीर पृथ्वीका तत्त्वहरूबाट बनेको छ र हाम्रो जीवन सूर्य, जल, वायु एवम् जैविक प्रणालीमा निर्भर छ।
प्रकृतिको विनाश अन्ततः मानव जीवनकै संकट हो। चेतनाको विस्तार भनेको केवल आत्मिक अनुभूति मात्र होइन, पृथ्वीप्रतिको उत्तरदायित्व पनि हो। नदीलाई केवल पानीको स्रोतका रूपमा नभई जीवनको आधारका रूपमा हेर्ने चेतना आवश्यक छ।
वनलाई केवल काठको भण्डारका रूपमा होइन, पारिस्थितिकीय जीवनको आधारका रूपमा बुझ्नुपर्छ। यस्तो चेतनाले विकास र संरक्षणबीचको सम्बन्धलाई नयाँ अर्थ दिन्छ।
प्रविधिको युगमा चेतना र भौतिक अनुभवको सम्बन्ध अझ जटिल बनेको छ। डिजिटल उपकरणहरूले हाम्रा काम सहज बनाएका छन् र सूचना केही सेकेन्डमै विश्वभर पुग्छ। कृत्रिम बुद्धिमत्ताले ज्ञान उत्पादन, प्रशासन, शिक्षा र अनुसन्धानका नयाँ सम्भावनाहरू खोलेको छ।
तर प्रविधिको तीव्र गतिले मानिसको ध्यानलाई खण्डित पनि गर्न सक्छ। निरन्तरको सूचनाको बाढीले मौनताको मूल्य घटाइदिन्छ भने आभासी (भर्चुअल) सम्बन्धले वास्तविक मानवीय सम्बन्धलाई कमजोर बनाउन सक्छ।
त्यसैले डिजिटल युगमा चेतनाको अनुशासन झन् बढी आवश्यक भएको छ। प्रविधि एक शक्तिशाली साधन हो, तर त्यसको नैतिक दिशा मानव चेतनाले नै निर्धारण गर्नुपर्छ।
कर्मयोग र सुशासन
व्यक्तिगत चेतनाको परिष्कार अन्ततः सामाजिक चेतनामा रूपान्तरण हुनुपर्छ। आफू मात्र शान्त भएर पुग्दैन; समाजमा अन्याय छ भने विवेकले प्रश्न गर्नुपर्छ। प्रशासनमा भ्रष्टाचार छ भने नैतिक साहस आवश्यक हुन्छ। सार्वजनिक स्रोतको दुरुपयोग हुँदा नागरिक चेतना जाग्नुपर्छ।
लोकतन्त्र केवल मतदानको आवधिक प्रक्रिया मात्र होइन; यो उत्तरदायित्व, पारदर्शिता र सहभागिताको संस्कृति हो। चेतना जब सार्वजनिक हितसँग जोडिन्छ, तब नागरिकता केवल अधिकारको दाबी मात्र रहँदैन, त्यो कर्तव्यको जीवन्त अभ्यास पनि बन्छ।
यस दृष्टिले कर्मयोगको अवधारणा अत्यन्त सान्दर्भिक देखिन्छ। कर्मबाट पलायन हुनु होइन, कर्मको शुद्धीकरण आवश्यक छ। कर्मको परिणामप्रतिको आसक्ति घटाउँदै कर्तव्यप्रति निष्ठा राख्नु श्रीमद्भगवद्गीताको महत्त्वपूर्ण सन्देश हो।
कर्म तब केवल जीविकाको साधन मात्र रहँदैन, त्यो आत्मपरिष्कारको माध्यम बन्छ। कार्यालयमा गरिएको एउटा निर्णयले हजारौँ मानिसको जीवन प्रभावित गर्न सक्छ। त्यसैले सार्वजनिक पदमा बसेको व्यक्तिको चेतना निजी नैतिकताभन्दा व्यापक सार्वजनिक उत्तरदायित्वमा रूपान्तरित हुनुपर्छ। यहीँ आध्यात्मिकता र सुशासनबीचको बलियो पुल निर्माण हुन्छ।
निष्कर्ष
चेतना, ऊर्जा र भौतिकताको सम्बन्धलाई समन्वयको दर्शनका रूपमा बुझ्न सकिन्छ। शरीरले कर्मको आधार दिन्छ, जीवनशक्तिले गतिशीलता दिन्छ र चेतनाले दिशा दिन्छ। यदि दिशा गलत भयो भने शक्ति विनाशमा प्रयोग हुन सक्छ; तर दिशा सही भयो भने त्यही शक्ति सिर्जनामा परिणत हुन्छ।
ज्ञानसँग शक्ति जोडियो भने समृद्ध सभ्यताको निर्माण हुन्छ, तर ज्ञानविनाको शक्ति विनाशकारी बन्न सक्छ। त्यसैले ऊर्जा पर्याप्त हुनु मात्र महत्त्वपूर्ण होइन, ऊर्जाको नैतिक दिशा पनि उत्तिकै आवश्यक छ।
मानव जीवनको सर्वोच्च उपलब्धि बाह्य विजय मात्र होइन, आत्मविजय पनि हो। संसार जितेर आफूलाई गुमाउनु पराजय हो; सम्पत्ति कमाएर शान्ति गुमाउनु अपूर्ण सफलता हो र पद प्राप्त गरेर विवेक गुमाउनु आत्मिक दरिद्रता हो।
यसको विपरीत, सीमित साधनमा पनि सत्य, करुणा र आत्मसम्मान जोगाउन सक्नु नै सबैभन्दा ठूलो उपलब्धि हो। चेतनाको परिपक्वता त्यहीँ देखिन्छ, जहाँ मानिसले आफ्नो शक्ति स्वार्थका लागि मात्र होइन, समष्टिको हितका लागि प्रयोग गर्न सिक्छ।
No ads found for this position




Facebook Comment