‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन सम्पन्न, २५ जना प्रतिस्पर्धी छनोट हुने

डिसी नेपाल
२१ असोज २०८३ १२:२१
8
Shares

काठमाडौं। राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल-२०२६’ को अडिसन काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट्समा सम्पन्न भएको छ। क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीको आयोजनामा भएको उक्त अडिसनमा १६ देखि ३२ वर्ष उमेर समूहका युवतीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगिताको निर्णायक मण्डलमा पूर्व मिस नेपाल (२०००) उषा खड्गी, अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, कलाकर्मी डटकमकी समाचार सम्पादक अरुणा भट्टराई र आयोजक संस्थाकी प्रमुख सुचिता सची रहेका थिए।

अडिसनबाट छनोट हुने २५ जना प्रतिस्पर्धीहरूलाई कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा विशेष प्रशिक्षण दिइनेछ। प्रशिक्षणपश्चात् प्रतियोगिताको ग्राण्ड फिनाले आगामी मङ्सिर ५ गते ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’ मा आयोजना हुनेछ।

आयोजक संस्थाकी प्रमुख सुचिता सचीका अनुसार यो प्रतियोगिता केवल बाह्य सौन्दर्यमा मात्र सीमित नरही सहभागीहरूको व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा र सामाजिक चेतनाको मूल्यांकनमा केन्द्रित रहनेछ।

यस मञ्चमार्फत एकैसाथ तीनवटा अन्तर्राष्ट्रिय उपाधिका लागि नेपाली प्रतिनिधिहरू छनोट गरिनेछ:

  • मिस ग्ल्याम वर्ल्ड नेपाल

  • मिस ग्ल्याम युनिभर्स नेपाल

  • मिस टिन ग्ल्याम वर्ल्ड नेपाल

‘मिस ग्ल्याम वर्ल्ड नेपाल-२०२६’ को मुख्य विजेताले सन् २०२६ को अन्त्यतिर भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड २०२६’ मा नेपालको तर्फबाट आधिकारिक प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। फेसन र सौन्दर्यको क्षेत्रमा भविष्य बनाउन चाहने युवतीहरूका लागि यो प्रतियोगिता एक उपयुक्त व्यावसायिक मञ्च बन्ने विश्वास आयोजकको छ।

यस प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरका रूपमा ‘कलाकर्मी’ रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *