बक्स अफिस रिपोर्ट: १० दिनमा ‘बाः एक योद्धा’ ले कमायो पौने दुई करोडभन्दा बढी

डिसी नेपाल
१९ असोज २०८३ १३:०६

काठमाडौं। गत असोज ९ गतेदेखि एकसाथ देशव्यापी प्रदर्शनमा आएका तीन नेपाली चलचित्र ‘बाः एक योद्धा’, ‘आचार्य’ र ‘जदौ’ को सुरुवाती १० दिनको बक्स अफिस विवरण सार्वजनिक भएको छ।

चलचित्र विकास बोर्डले सोमबार (असोज १८ गतेसम्म) को आधिकारिक तथ्यांक सार्वजनिक गर्दै तीनवटै फिल्मको व्यापारिक अवस्था सार्वजनिक गरेको हो।

बोर्डको रिपोर्ट अनुसार असोज ९ मा रिलिज भएका तीन फिल्ममध्ये दुई चलचित्र ‘बाः एक योद्धा’ र ‘आचार्य’ को व्यापारिक प्रदर्शन बक्स अफिसमा उत्साहजनक रहँदा ‘जदौ’ भने निकै कमजोर देखिएको छ।

आक्रामक बन्दै ‘बाः एक योद्धा’ पहिलो स्थानमा

प्रदर्शनको सुरुवाती दिनहरूमा केही सुस्त देखिए पनि पछिल्ला दिनहरूमा बक्स अफिसमा आक्रामक बनेको चलचित्र ‘बाः एक योद्धा’ कमाइका हिसाबले पहिलो स्थानमा रहेको छ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको यस फिल्मले १० दिनको अवधिमा कुल १ करोड ९३ लाख ६ हजार ४६५ रूपैयाँ ग्रस कलेक्सन गरेको छ। यो अवधिमा फिल्मका ६५ हजार ५६० वटा टिकट बिक्री भएका छन्।

एउटा बुवाले आफ्ना सन्तानको सुन्दर भविष्यका लागि गर्ने त्याग, संघर्ष र वृद्धावस्थामा भोग्नुपर्ने पारिवारिक चुनौतीलाई मुख्य विषयवस्तु बनाइएको यस सामाजिक कथावस्तुमा आधारित चलचित्रको कथा तथा पटकथा स्वयम् निर्देशक लम्सालले नै लेखेका हुन्।

चलचित्रमा दिव्यदेव पन्त (दिव्यदेव), झरना थापा, सुहाना थापा, माओत्से गुरूङ, सागर खनाल र अनिल बुढाथोकीलगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।

निखिलको कमब्याक फिल्म ‘आचार्य’ को व्यापार डेढ करोड पार

लामो समयको अन्तरालपछि अभिनेता निखिल उप्रेतीले ठूलो पर्दामार्फत कमब्याक गरेको चलचित्र ‘आचार्य’ ले पनि बक्स अफिसमा राम्रो प्रदर्शन गर्दै डेढ करोडभन्दा बढीको व्यापार गरेको छ।

निखिल स्वयम्को लेखन, निर्देशन, निर्माण तथा मुख्य अभिनय रहेको यस एक्सन-ड्रामा जनराको फिल्मले १० दिनमा १ करोड ५६ लाख ६७ हजार ५४६ रूपैयाँ ग्रस कमाएको छ। यस अवधिभर फिल्मका ५४ हजार १०६ वटा टिकट बिक्री भएका छन्।

फिल्ममा निखिलका साथै पूर्णिका सिजापती, दीपजंग राणा र रोहित चौधरीलगायतका कलाकारहरूको अभिनय रहेको छ। मोडल पूर्णिका सिजापतीले यही चलचित्रमार्फत नेपाली रजतपटमा अभिनेत्रीका रूपमा मुख्य भूमिकामा डेब्यु गरेकी हुन्।

‘जदौ’ को व्यापार निकै सुस्त

दुई चलचित्रको दबदबाबिच सोही दिन रिलिज भएको अर्को चलचित्र ‘जदौ’ को व्यापारिक अवस्था भने निकै कमजोर देखिएको छ।

अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको यस फिल्मले १० दिनमा जम्मा १३ लाख ९८ हजार ७१५ रूपैयाँ मात्र ग्रस कलेक्सन गर्न सकेको छ। बोर्डका अनुसार यो अवधिभर फिल्मका जम्मा ३ हजार ८६७ वटा टिकट मात्र बिक्री भएका छन्।

प्रेम, जातीय विभेद, अन्तरजातीय सम्बन्ध र पारिवारिक द्वन्द्वजस्ता सामाजिक विषयवस्तुमा आधारित यस ड्रामामा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मा र राजश्री थापालगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *