‘समुन्नत कांग्रेस, आधुनिक नेपाल’: उपसभापति पदमा विनोद चौधरीका २१ प्रतिबद्धता

डिसी नेपाल
२१ असोज २०८३ १२:४०

काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिएसँगै पार्टीको समावेशीतर्फको उपसभापति पदका लागि उद्योगपति एवम् नेता विनोद चौधरीले आफ्नो उम्मेदवारीका प्रमुख एजेन्डाहरू सार्वजनिक गरेका छन्।

निराशातर्फ उन्मुख नेपाली समाजमा नयाँ आशा र विश्वासको सञ्चार गर्दै पार्टीको नेतृत्वमा युवा नेताहरूलाई स्थापित गर्ने उद्देश्यका साथ उनले उम्मेदवारी दिएको जनाएका छन्। राजनीतिक स्वतन्त्रताको नेतृत्व गरेको ऐतिहासिक नेपाली कांग्रेसलाई अब आर्थिक क्रान्तिको पनि संवाहक बनाएर नयाँ इतिहास लेख्नुपर्नेमा उनले जोड दिए।

राजनीति र अर्थनीतिलाई सँगसँगै अगाडि बढाउने आफ्नो सङ्कल्प रहेको कुरा चौधरीले स्पष्ट पारेका छन्। बिपी कोइरालाको दूरदर्शी राजनीतिक सोच र सुवर्ण शमसेर जबराको आर्थिक विकासको नीतिलाई संयोजन गर्दै नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने दाबी उनले गरे।

यसैगरी, समुन्नत नेपाल निर्माण गर्ने पार्टी सभापति गगन कुमार थापाको सोचलाई सही अर्थमा कार्यान्वयन गर्ने र २०४८ सालमा सुरु भएर बिचमा अवरुद्ध बनेको आर्थिक सुधारलाई वर्तमान समयको आवश्यकता अनुसार तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे।

वर्तमान विश्व परिवेश अनुसार नेपाली कांग्रेसलाई प्रविधियुक्त र रूपान्तरित आधुनिक पार्टीका रूपमा स्थापित गर्ने योजना रहेको नेता चौधरीले बताए। युवाहरूलाई सूचना प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्ससँग जोड्दै मुलुकलाई डिजिटल इकोनोमीतर्फ लैजानुपर्नेमा उनले विशेष जोड दिए।

‘जेन-जी’ मुभमेन्टको मर्मलाई आत्मसात् गर्दै युवाका आकांक्षाहरू सम्बोधन गर्ने र उनीहरूका लागि स्टार्टअपका पर्याप्त अवसरहरू सिर्जना गर्ने लक्ष्य आफूले लिएको उनले जनाए।

राजनीतिको केन्द्रमा आर्थिक विकासका एजेन्डा स्थापित गर्दै समावेशी विकास र तीव्र आर्थिक वृद्धिलाई कांग्रेसको मुख्य प्राथमिकता बनाउनुपर्ने उनको भनाइ छ।

देशभित्र आन्तरिक लगानीकर्ताका लागि विना अवरोध लगानीको वातावरण तयार गर्ने, भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने र नेपाललाई प्रत्यक्ष वैदेशिक लगानीको आकर्षक केन्द्र बनाउने कुरा उनले स्पष्ट पारे।

प्रत्येक वर्ष रोजगार बजारमा आउने साढे पाँच लाख युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्न सम्भव छ भन्ने विश्वासका साथ काम गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

क्षेत्रीय आर्थिक असमानता घटाउन प्रदेश र स्थानीय तहमा उद्योग तथा रोजगारीको विस्तार गर्नुपर्नेमा उनले जोड दिए। सीमान्तकृत र पिछडिएका समुदायलाई उद्यमशीलता, सीप र वित्तीय पहुँचमार्फत आर्थिक रूपमा सशक्त बनाउने उनले बताए।

पार्टीभित्र पुस्तान्तरण र पुस्ताबिचको सहकार्य प्रवर्द्धन गर्दै अनुभवी नेतृत्वको ज्ञान र नयाँ पुस्ताको ऊर्जा जोडेर आधुनिक कांग्रेस निर्माण गर्ने योजना उनले उल्लेख गरे। नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता, कार्यकर्ताको सम्मान र नागरिकप्रतिको जवाफदेहितालाई पार्टी संस्कृतिको मुख्य आधार बनाउँदै अघि बढ्ने उनले स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *