महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ : प्रदीप पौडेल

डिसी नेपाल
२१ असोज २०८३ १५:२६

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले महाधिवेशन प्रतिनिधिसँग भेटघाट तीव्र बनाएका छन्।

पौडेलले महाधिवेशनस्थलमा प्रतिनिधिसँग भेट गर्दै आफ्नो पक्षमा समर्थन मागिरहेका छन्।

सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले महामन्त्री पदमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुने बताए। उनले महाधिवेशन प्रतिनिधि आफैँ नेता भएकाले उनीहरूलाई कुनै गुट वा समूह बनाएर प्रभावित पार्न नसकिने दाबी गरे।

‘एकदम स्वच्छ प्रतिस्पर्धा हुन्छ। महाधिवेशन प्रतिनिधि भने आफैँ नेता हो। यहाँ आउनुभएका जति पनि महाधिवेशन प्रतिनिधि हुनुहुन्छ, कतिले त मभन्दा बढी योगदान गर्नुभएको छ। मेरो विचारमा सबैले मैले जति योगदान गर्नुभएको छ,’ उनले भने।

प्रतिनिधिहरू लामो अनुभव हासिल गरेर कांग्रेसको भविष्य निर्माणका लागि महाधिवेशनमा आएको भन्दै पौडेलले विवेकपूर्ण ढंगले मतदान गर्ने विश्वास व्यक्त गरे।

‘उहाँहरू लामो अनुभव हासिल गरेर कांग्रेस पार्टीको भविष्य कसरी बनाउने भनेर आउनुभएको हो। त्यसैले यसमा कोही गुट बनाएर प्रभावित पार्न सकिँदैन। विवेकपूर्ण ढङ्गले साथीहरूले मतदान गर्नुहुन्छ। हामी स्वच्छ ढङ्गले प्रतिस्पर्धामा उत्रेका छौँ। मैत्रीपूर्ण प्रतिस्पर्धा गर्छौँ,’ उनले भने।

पौडेलले पार्टीको विधि र व्यवस्थाभित्र रहेर आफूलाई प्रस्तुत गर्ने भन्दै महाधिवेशनमा गुटगत प्रभाव नरहने बताए।

यसैबीच, कांग्रेसले पदाधिकारीको संख्या बढाउनुको कारण नेता व्यवस्थापन नभएको पौडेलले स्पष्ट पारे। उनले क्रियाशील सदस्यको संख्या बढेसँगै महाधिवेशन प्रतिनिधि र त्यसअनुसार केन्द्रीय समितिको आकार बढेको बताए।

उनका अनुसार १४औँ महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य ८ लाख ८८ हजार रहेकामा अहिले करिब १० लाख पुगेका छन्। १४औँ महाधिवेशनमा करिब ४ हजार ५०० प्रतिनिधिको ४ प्रतिशतका आधारमा केन्द्रीय समिति बनेको र अहिले करिब ७ हजार ३०० प्रतिनिधिको ४.३ प्रतिशतका आधारमा केन्द्रीय समिति गठन गरिएको उनले बताए।

‘त्यो चाहिँ नेता व्यवस्थापन गर्न होइन, प्रतिनिधित्व ज्यादा भएकोले प्रतिनिधित्व गर्नेहरूको पनि प्रतिनिधित्व गर्ने केन्द्रीय समितिको सङ्ख्या अलिकति बढ्नु स्वाभाविक कुरा हो,’ पौडेलले भने।

उनले यसपटक महिलालाई कार्यकारी भूमिकामा लैजान तथा अन्य समावेशी क्लस्टरबाट समेत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने विषयलाई सम्बोधन गरिएको बताए।

‘महिलाहरूलाई कार्यकारी भूमिकामा लगिएन, अरू समावेशी क्लस्टरबाट पनि त्यो अवसर प्राप्त भएन भन्ने कुरा धेरै पहिलेदेखि गुनासो आइरहेको थियो। त्यो सबै कुरालाई हामीले यसपटक व्यवस्थापन गरेका छौँ,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *