दुई पटक विषालु इन्जेक्सन दिँदा पनि बाँचिन् मृत्युदण्डको सजाय पाएकी महिला

डिसी नेपाल
२१ असोज २०८३ १५:४२
228
Shares

काठमाडौं । चमत्कारका कथाहरू विरलै सुन्न पाइन्छ, तर क्रिस्टा पाइकको जीवनमा एउटा पत्याउनै नसकिने चमत्कार भएको छ। दुई-दुई पटक विषालु इन्जेक्सन दिइँदा पनि उनी जीवितै बच्न सफल भएकी छन्।

मृत्युदण्डको सजाय पाएका कैदी यसरी बच्नु अपराध इतिहासमा निकै दुर्लभ मानिन्छ। आफ्नै सहपाठीको हत्या अभियोगमा दोषी ठहरिएकी क्रिस्टा पाइकलाई करिब एक हप्ताअघि मृत्युदण्ड दिनका लागि दुईवटा विषालु इन्जेक्सन दिइएको थियो, तर क्रिस्टाको शरीरले ती दुवै विषालु सुईको असरलाई झेल्न सफल भयो।

अहिले सो घटनाको एक हप्तापछि उनलाई होस आएको छ र उनले बोल्नसमेत थालेकी छन्। बीबीसीका अनुसार क्रिस्टा स्वयं पनि यो घटनाबाट अचम्मित छिन्। पाइकको कानुनी टोलीलाई सल्लाह दिँदै आएका एनेस्थेसियोलोजिस्ट डा. जोएल जिभोटले घातक इन्जेक्सन दिइएपछि मानिस जीवितै फर्कने सम्भावना अत्यन्तै न्यून हुने बताएका छन्। तर यस पटक भने चमत्कार नै भएको छ।

डा. जोएल जिभोटले बीबीसीसँग भनेका छन्, ‘जुन मानिसहरूलाई यो ज्यानलिने इन्जेक्सन दिइन्छ, तीमध्ये अधिकांशको मृत्यु हुन्छ। वास्तवमा क्रिस्टालाई छाड्ने हो भने अहिलेसम्म प्रायः सबैको ज्यान गएको छ। त्यसैले क्रिस्टाको यसरी बच्नु एकदमै असामान्य घटना हो।’

५० वर्षीया क्रिस्टाका वकीलहरूले उनलाई अहिले पनि हत्कडीमै राखिएको बताएका छन्। विषालु इन्जेक्सन दिएपछि क्रिस्टा बेहोस अवस्थामा पुगेकी थिइन्, तर उनको मुटुको धड्कन चलिरहेकै थियो र उनी बेहोसीकै हालतमा बर्बराइरहेकी थिइन्। जब उनको मृत्यु भएन, तब चिकित्सकहरूले उनको उपचार सुरु गरे र शरीरबाट विष बाहिर निकाले।

फोर्डहम ल स्कुलकी क्रिमिनोलोजिस्ट तथा प्राध्यापक डेबोरा डेनोले यो घटना मेडिकल साइन्स (चिकित्सा विज्ञान) को इतिहासमै अभूतपूर्व रहेको बताएकी छन्।

प्राध्यापक डेनोले बीबीसीसँग भनिन्, “क्रिस्टा मात्रै यस्ती एक्ली व्यक्ति हुन्, जसको शरीरमा घातक विषालु पदार्थ इन्जेक्ट गर्दा पनि त्यसले काम गरेन। यस्तो घटना पहिले कहिल्यै भएको थिएन।”

विशेषज्ञहरूका अनुसार धेरै प्रश्नहरूको जवाफ अझै मिल्न बाँकी छ। पाइकको रगतमा कति मात्रामा विषालु औषधि ‘पेन्टोबार्बिटल’ पुगेको थियो, वा भविष्यमा यसले उनको स्वास्थ्यमा कस्तो असर पार्न सक्छ भन्ने कुरा अझै प्रस्ट भइसकेको छैन।

पाइक बच्नुको अर्थ यो होइन कि ज्यानलिने इन्जेक्सनबाट सामान्यतया बच्न सकिन्छ। अत्यधिक मात्रामा दिइने पेन्टोबार्बिटल प्राणघातक हुन सक्छ। वास्तवमा मुख्य प्रश्न के हो भने- के उनलाई दिइएको औषधिको मात्रा मृत्यु गराउनका लागि पर्याप्त थियो?

अहिले यो घटनाका कारण ज्यानलिने इन्जेक्सनसँग जोडिएका मेडिकल जोखिम र अनिश्चितताहरूमाथि पुनः बहस सुरु भएको छ। यसमा नशामा सुई सही तरिकाले नलागेका कारण द्रुत गतिमा हुनुपर्ने मृत्युको प्रक्रिया कसरी लामो मेडिकल इमर्जेन्सीमा बदलिन सक्छ भन्ने प्रश्न पनि समावेश छ।

क्रिस्टा गेल पाइक अमेरिकाको टेनेसी राज्यमा मृत्युदण्डको सजाय पर्खिरहेकी एक्ली महिला कैदी हुन्। सन् १९९५ मा १८ वर्षको उमेरमा उनले आफ्ना प्रेमी ट्याडारिल सिप र अर्का एक साथीसँग मिलेर ‘जोब कर्प्स’ कार्यक्रमकी सहपाठी १९ वर्षीया कलीन स्लेमरको हत्या गरेकी थिइन्।

ईर्ष्याका कारण उनलाई जङ्गलमा लगेर यातना दिइएको थियो, चक्कुले काटिएको थियो, शरीरमा पेन्टाग्रामको आकृति कोरिएको थियो र टाउकोको हड्डीको टुक्रासमेत निकालिएको थियो। यसै क्रूर हत्याकाण्डमा सन् १९९६ मा उनलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *