अब प्रत्येक गाउँ-घरमा होमस्टे सुरु गरौं

पूर्ण ओली
२३ असोज २०८३ ११:२६
28
Shares

नेपालको आम्दानीको प्रमुख स्रोत पर्यटन हो। यसका लागि देशका मनोरम प्राकृतिक दृश्य, हिमाल, झरना, हरियाली, फूल, ताल-तलैया, नदीनाला, सांस्कृतिक परम्परा, मठ-मन्दिर तथा कला-संस्कृति आदि मुख्य आधार हुन्।

यिनै विशेषताहरू अवलोकन गर्न र अनुभव लिन विदेशी पर्यटकहरू नेपाल आउने गर्छन्। यसका साथै व्यवस्थित प्रणाली, शान्ति-सुरक्षा, सरसफाइ र स्थानीय मानिसहरूको आत्मीय बोलीचाली तथा व्यवहारले पनि पर्यटकहरूलाई आकर्षित गर्दछ।

नेपालमा विदेशी तथा आन्तरिक दुवै थरिका पर्यटकहरूलाई आकर्षित गर्न सक्ने प्रचुर सम्भावना भएका स्थानहरू छन्। तर, ती पर्यटकीय स्थलहरूसम्म पुग्ने स्तरीय सडक, सञ्चारका आधुनिक साधन, शुद्ध पिउने पानी तथा व्यवस्थित बासस्थानको राम्रो प्रबन्ध हुन अत्यावश्यक छ।

बासस्थानका लागि ठूला-ठूला होटलहरू मात्र होइन, साना होटल तथा होमस्टे (सामुदायिक बासस्थान) को भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। अहिले धेरैजसो विदेशी पर्यटकहरू हाम्रा रमणीय गाउँ-घरमा सञ्चालित यस्तै होमस्टेमा बसेर गाउँका सुन्दर दृश्यहरू नियाल्दै, स्थानीय संस्कृति र जीवनशैली नियाल्दै अनि गाउँले अर्गानिक परिकारको स्वाद लिँदै रमाउने र खर्च गर्ने गर्छन्।

अहिले धेरै नेपालीहरू पनि आफ्नै देशका महत्त्वपूर्ण पर्यटकीय स्थलहरू घुम्न थालेका छन्। खासगरी पोखरा जस्तो रमणीय पर्यटकीय सहरदेखि चितवन र बर्दियाका राष्ट्रिय निकुञ्ज, मुस्ताङ, घान्द्रुक, इलाम, बन्दीपुर तथा अन्नपूर्ण पदयात्रा क्षेत्रमा आन्तरिक पर्यटकका रूपमा मानिसहरू व्यापक रूपमा घुम्न जाने गर्छन्।

त्यसैगरी खप्तड, बडीमालिका, रारा, जिरी, धनकुटा जस्ता धेरै ठाउँहरू पर्यटकीय गन्तव्यका रूपमा विकसित भई यसबाट स्थानीय जनताले राम्रो आर्थिक लाभ लिइरहेका छन्।

यदि हाम्रा प्रत्येक गाउँका घर-घरमा होमस्टेको व्यवस्था गर्ने हो भने, वैदेशिक रोजगारी वा अध्ययनका क्रममा विदेशमा रहेका हाम्रा छोरा-छोरी तथा नाति-नातिनाहरू आफ्नै देश र गाउँ फर्कँदा आफ्ना पुर्खाको जन्मथलोमा पुगेर केही दिन भए पनि आत्मीयताका साथ रमाइलो गरी घुम्न पाउनेछन्।

अहिले धेरैका आफन्तले गाउँ छाडेर सहर झरेका भए पनि केही नातेदारहरू अझै पनि तिनै गाउँमा आफ्नो जीवन गुजारिरहेका छन्। आफ्ना आफन्तहरू विदेशबाट गाउँ फर्कँदा उनीहरूलाई पनि ठूलो खुसी मिल्नेछ र उनीहरूले आफ्नो गच्छे अनुसारको भव्य आतिथ्य सत्कार गर्नेछन्।

हामी नेपालीले हाम्रा गाउँ-घरमा खाली रहेका घरहरूमा राम्रो बाथरुम र शौचालयको व्यवस्था गरी तिनलाई होमस्टेका रूपमा उपयोग गर्न सक्छौँ। अहिले धेरै नेपालीहरू गाउँ छाडेर सहरतर्फ पलायन भएपछि गाउँहरू सुनसान बन्दै गएका छन्।

त्यहाँ प्रशस्त उत्पादन हुने ठूला-ठूला खेतबारीहरू सिँचाइ र युवा जनशक्तिको अभावमा बाँझै रहेर जङ्गली झाडी तथा बुट्यानले भरिन थालेका छन्। तर सरकारले अझै पनि गाउँ-बस्तीको यो अवस्थातर्फ उचित ध्यान पुर्‍याउन सकेको छैन।

केही स्थानीय निकायले स्वरोजगारका सानातिना कार्यक्रम सञ्चालन गरे पनि बाँकी धेरै स्थानीय तहहरूले गाउँको समग्र विकासका लागि होमस्टेले कति महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने कुरा अझै बुझ्न सकेका छैनन्।

त्यसैले अब हामीले प्रत्येक गाउँमा होमस्टेको अवधारणालाई व्यापक रूपमा ल्याउनु अत्यावश्यक भइसकेको छ। गाउँमा खाली रहेका घरहरूलाई त्यसै बेवास्ता गर्नुभन्दा पहिले त्यस क्षेत्रमा सडक, बिजुली र खानेपानीको उचित प्रबन्ध गरी गाउँमै उत्पादन हुने खाद्यान्न तथा तरकारीहरूलाई अर्गानिक तरिकाले फलाउन सकिन्छ।

उक्त स्वस्थकर खानेकुरा पर्यटकहरूलाई खुवाउन सकियो भने यसले पर्यटकहरूलाई थप आकर्षित गर्नेछ। यसबाट स्थानीय गाउँलेहरूले राम्रो आर्थिक फाइदा लिन सक्नेछन्।

सोही अवसरमा गाउँमा रहेका आकर्षक दृश्यावलोकन स्थल, सांस्कृतिक कार्यक्रम, स्थानीय विद्यालय, मठ-मन्दिर, नदी तथा ताल-तलैयाहरू देखाउन सकिन्छ। साथै नदी तथा तालहरूमा माछा मार्ने (फिसिङ) र डुङ्गा सञ्चार (बोटिङ) जस्ता मनोरञ्जनात्मक गतिविधिहरू गराउन सकिन्छ।

वैदेशिक रोजगारीका कारण धेरै मानिसहरू बाहिरिए पनि गाउँमा खाली रहेका ती घरहरूलाई मर्मत-सम्भार गरी, रङरोगन लगाएर तातो पानीको सुविधासहितका स्तरीय बाथरुम तथा शौचालय निर्माण गरिदिने हो भने होमस्टेमा आउने पर्यटकहरू सहज रूपमा बस्न सक्ने वातावरण बन्नेछ।

साथै आफ्नो करेसाबारीमा फलेका तरकारी तथा फलफूलको उपयोग गरी अर्गानिक खाना खुवाउन सके यसबाट राम्रो आम्दानी लिन सकिन्छ। यस कार्यमा प्रत्येक स्थानीय निकायले आवश्यक समन्वय, सहजीकरण र सहयोग पुर्‍याउनु जरुरी छ।

विद्युत् तथा सोलार प्रविधिको उपयोग गरी बाथरुममा तातो पानीको व्यवस्था गर्न सकिन्छ, जुन कुरा विदेशी पर्यटकहरूले विशेष मन पराउँछन्। सरकारको मुख्य दायित्व भनेको सडक बत्तीका साथै शुद्ध पिउने पानी प्रत्येक घर-घरमा पुर्‍याउनु नै हो। त्यही बढी भएको खानेपानीको सदुपयोग गर्दै स्थानीय जनताले आफ्ना करेसाबारीमा हरिया तरकारीहरू फलाउन सक्नेछन्।

अहिले नेपालका युवाहरू प्रायः सबै रोजगारी र अध्ययनको सिलसिलामा विदेश जाने लस्कर नै देखिन्छ। यो युवा पलायनलाई रोकथाम गर्नका लागि पनि गाउँ-घरमा होमस्टेको प्रचलन सुरु गर्ने हो भने धेरै युवाहरूले थोरै लगानी र कम खर्चमै राम्रो आम्दानी गरी आफ्नै परिवारसँग खुसीका साथ बस्न पाउनेछन्। गाउँमा युवाहरूको उपस्थिति बढेसँगै स्थानीय विद्यालयहरूको शिक्षाको गुणस्तर सुधार्न दबाब पुग्नेछ।

मानिसहरूको आवतजावत र बसोबास बढेपछि प्रत्येक वडा-वडामा स्वास्थ्य केन्द्रको स्थापना, औषधि उपचार र डाक्टरको व्यवस्था गर्न सरकार बाध्य हुनेछ। यसका लागि सरकारी नीति र युवाहरूको संगठित दबाब दुवैको उत्तिकै आवश्यकता पर्दछ।

म आफैँ पनि गाउँमै हुर्केर, बढेर र पढेको हुनाले ममा गाउँप्रतिको गहिरो माया, मोह र जिम्मेवारीबोध छ। हाम्रा गाउँहरूमा मानिसहरू टिकिरहनका लागि आवश्यक प्रमुख विषयहरू भनेका शुद्ध पिउने पानी, सिँचाइ सुविधाका साथै स्तरीय शिक्षा र स्वास्थ्य नै हुन्।

यिनै मूलभूत पूर्वाधारको अभावका कारण आज गाउँहरू खाली हुँदै गएका हुन्। त्यसैले गत हप्ता मैले अवकाश प्राप्त गरेका वरिष्ठ नेताहरूलाई पुनः गाउँ फर्किएर बस्न सल्लाह दिएको थिएँ, जसले गाउँको समग्र विकास र सामाजिक रूपान्तरणमा ठूलो मद्दत पुर्‍याउनेछ।

त्यसैले प्रत्येक राजनीतिक दलले आफ्ना कार्यकर्ताहरूलाई आफ्नो गाउँको विकास गर्न र आम्दानीको दिगो बाटो बनाउन कम्तीमा गाउँमा होमस्टेको अवधारणा कार्यान्वयन गर्न स्पष्ट निर्देशन दिनु आवश्यक देखिन्छ।

होमस्टेको विस्तारसँगै स्थानीयस्तरमा माछा-मासुको बिक्री बढेर पशुपन्छी पालन तथा माछा पालन व्यवसायको द्रुत विकास हुन थाल्नेछ। यसबाट युवाहरूमा स्वरोजगारको अवसर अभिवृद्धि हुनेछ।

युवाहरू आफ्नै गाउँमा रोजगारी र आम्दानीमा जोडिएपछि उनीहरूबाट अनुचित तरिकाले पैसा कमाउने र कमिसन खाने खराब प्रवृत्ति स्वतः हटेर जानेछ। अनि केही रुपैयाँ कमाउनका लागि विदेश धाउनुपर्ने र नेताहरूको वरपर चाकडी गर्नुपर्ने बाध्यता रहने छैन।

त्यसकारण स्थानीय निकायहरूलाई दलविहीन र पूर्ण रूपमा स्वतन्त्र बनाएर तिनको अधिकार र बजेटमा वृद्धि गर्न आवश्यक छ। बालेन सरकारले गाउँको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिने हो भने यो देशको विकास स्वतः तीव्र गतिमा हुनेछ। त्यसैले सरकारले गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा शुद्ध पिउने पानीलाई उच्च प्राथमिकतामा राखेर आफ्ना योजना तथा नीतिहरू अघि बढाओस्।

अहिले केन्द्रमा रहेको सरकार ठूला-ठूला भ्रष्टाचारका काण्डहरूमा संलग्न दोषीहरूलाई कारबाही गर्न नसकेर अलमलिएको र रन्थनिएको देखिन्छ।

सरकारले केही सुधारात्मक काम गर्न खोज्दा विरोधीहरूले नकारात्मक भ्रम फैलाउने, मुद्दा हाल्ने र अदालतले पनि मुद्दा हराइदिएर सरकारलाई कामै गर्न नदिने जटिल अवस्था सिर्जना भएको छ।

सरकारले एकातिर संविधान संशोधन गर्न नसक्ने र अर्कोतिर भ्रष्ट न्यायाधीशहरूलाई कारबाही गर्न नसक्ने भएपछि युवा जोसहितको सरकार त्यसै अलमलिएको जस्तो देखिएको छ। त्यसैले आम जनताको बलियो साथ पाएको यो सरकारले केही समयका लागि भए पनि हिम्मत लिएर दृढताका साथ अघि बढ्न अत्यावश्यक छ।

जसरी मध्य अमेरिकी देश एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले हिम्मत गरेर देशको हितका लागि सेनाको समेत सहयोग लिई ठूला भ्रष्टाचारी, अपराधी र गुण्डाहरूलाई धमाधम कारबाही गरी देशलाई सुशासनको बाटोमा लगे, त्यसै गरी यहाँ पनि कडा कदम नचालीसम्म यो देशले विकासको गति लिन सक्दैन, प्रधानमन्त्री बालेनजी! एल साल्भाडोरका नाइब अर्मान्डो बुकेलेले गलत काम गर्ने आफ्नै दलका नेताहरूको समेत खोइरो खनेपछि उनलाई दलबाट निकालिएको थियो।

तर बुकेलेले छुट्टै नयाँ राजनीतिक दल खडा गरेर चुनावमा होमिए र नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत ल्याए जस्तै भारी मतका साथ चुनाव जितेर नयाँ सरकार बनाए। त्यसपछि उनले सेना र प्रहरीको सहयोगमा देशबाट हत्या, लुटपाट, गुण्डागर्दी र भ्रष्टाचारलाई निमिट्यान्न पार्न पूर्ण रूपमा सफल भएका थिए।

त्यसैले बालेन सरकारले भ्रष्टाचारीहरूलाई कडाभन्दा कडा कारबाही गर्दै देशमा रहेका खानीहरू-जस्तै सिसा, फलाम, तामा, खनिज तेल, युरेनियम लगायतका बहुमूल्य प्राकृतिक स्रोतको उत्खनन गरी स्वदेशमै उद्योगहरू स्थापना गर्ने र वस्तु निर्यात गरी देशको आम्दानी बढाउन अब पटक्कै ढिला गर्नु हुँदैन।

यसका साथै, अहिलेको आर्टिफिसियल इन्टेलिजेन्सको युगमा सरकारले प्रविधिको विकासमा पनि तीव्र रफ्तार लिनु पर्छ। यसका लागि चीन र अमेरिका जस्ता विकसित र प्रविधिले सम्पन्न देशहरूबाट आवश्यक सहयोग लिएर भए पनि एआईको क्षेत्रमा सँगसँगै विकास गर्न आवश्यक छ।

प्रविधि विकासका लागि आवश्यक पर्ने सेमिकन्डक्टर चिप्सको आयात तथा विदेशी विज्ञहरूको ज्ञान र अनुभवको उपयोग गर्न अब सरकारले अलिकति पनि ढिलाइ गर्नु हुँदैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *