नियात्रा

सगरमाथाको आँगनका दृश्यहरू

ज्ञानेन्द्र विवश
२४ असोज २०८३ ७:१४
16
Shares

यहीँबाट सुरु हुन्छ- सगरमाथाको आँगनमा विलासिताको अर्को संसार। हेलिकप्टरबाट विदेशी पाहुनाहरू यहाँ ओर्लिन्छन्। कोही एकछिन बसेर फर्किन्छन् त कोही रात बिताउँछन्।

उनीहरू अनेकौँ किसिमका खानेकुराहरू खान्छन्, कफी पिउँछन्, हिमाललाई अघाउञ्जेल हेर्छन् अनि अविस्मरणीय अनुभूति बोकेर फर्किन्छन्। यहाँको मूल्यको चर्चा गर्नु व्यर्थ लाग्छ।

सबैभन्दा ठूलो कुरा त कोठा पाउनु नै भाग्यको विषय बन्छ। खानेकुराको मूल्य पनि स्वाभाविक रूपमा महँगो छ, किनभने करिब चार हजार मिटरको उचाइमा आवश्यक अधिकांश सामग्री हेलिकप्टरबाटै आइपुग्छ।

होटलको बाहिरी आँगनमा दुई जना विदेशी पाहुना रमाइरहेका छन्। उनीहरूको उत्साहित कुराकानी सहजै कानमा आइपुग्छ। वरिपरि अरू धेरै पर्यटक पनि कोही खाना खाँदै, कोही कफी पिउँदै र कोही हिमालको सौन्दर्यलाई आँखाभरि पिउँदै बसेका छन्।

रोनाल्ड भन्छन्- ‘क्रिस्टिना, तिम्रो कुरा मानेर यहाँ आएकोमा आज साँच्चै खुसी लागिरहेको छ। यो ‘होटल एभरेस्ट भ्यू’ को अनुभव जीवनमा एक पटक अवश्य लिनुपर्ने रहेछ। यतिका हिमाललाई यसरी आँखा अगाडि देख्न पाउनुका अगाडि खर्चको कुनै अर्थ नै रहेन।’

क्रिस्टिना मुस्कुराउँदै सोध्छिन्- ‘मैले पहिले नै भनेकी थिएँ नि! समुद्री सतहबाट ३,८८० मिटरको उचाइमा यस्तो सुविधा र विलासिताको कल्पना गर्न पनि गाह्रो छ। भन त, सबैभन्दा धेरै कुन कुराले तिम्रो मन छोयो?’

रोनाल्ड उत्साहित हुँदै जवाफ दिन्छन्- ‘कोठाले। निःसन्देह, कोठाले नै! बाहिर हिउँदे चिसोले वातावरण जमाएको छ, तर भित्र इलेक्ट्रिक ब्ल्याङ्केट र हिटरको न्यानोमा बसेर सिधै सगरमाथा, ल्होत्से र आमादब्लमलाई नियाल्नु- त्यो अनुभूति शब्दमा बयान गर्नै सकिँदैन। अझ थाहा पाएँ, यहाँ जम्मा बाह्रवटा कोठा मात्रै छन्। प्रत्येक कोठामा निजी स्नानगृहको व्यवस्था रहेछ। त्यसैले यहाँ बस्नु झन् विशेष अनुभूति बन्छ।’

क्रिस्टिना फेरि भन्छिन्- ‘ठ्याक्कै त्यही कारणले त यो होटल संसारभर प्रसिद्ध छ। सन् १९७१ मा स्थापना भएको यो होटल सन् २००४ मा गिनिज वर्ल्ड रेकर्ड्समा विश्वकै सबैभन्दा अग्लो उचाइमा रहेको होटलका रूपमा सूचीकृत हुन्छ। यस्तो दुर्गम हिमाली उचाइमा यति व्यवस्थित संरचना निर्माण गर्नु आफैँमा अद्भुत इन्जिनियरिङ उपलब्धि हो।’

रोनाल्ड भन्छन्- ‘यहाँ आइपुग्ने तरिकाको पनि आफ्नै महत्त्व रहेछ। ट्रेकिङको स्वाद लिन चाहनेका लागि पैदल यात्रा नै सबैभन्दा रमाइलो हुन्छ। यति अग्लो ठाउँमा एकैचोटि आइपुग्दा शरीरले उचाइसँग तालमेल मिलाउन सकेन भने सारा योजना, समय र खर्च व्यर्थ हुन सक्छ। तर यहाँ आइपुगेर यो वातावरण र हिमालको यस्तो दृश्य देखेपछि सबै थकाइ एकैछिनमा हराइदिन्छ।’

क्रिस्टिना मुस्कुराउँदै भन्छिन्-‘तिम्रो कुरा ठीक हो। तर आजको हाम्रो यात्राको आफ्नै स्वाद छ। हेलिकप्टरबाट तल फैलिएका पहाड, खोँच र बस्तीहरू हेर्दै आउँदा पनि बेग्लै आनन्द मिल्छ। त्यसैले यो पटक आकाशमार्ग रोज्नु कुनै गल्ती लाग्दैन।’

रोनाल्ड सहमत हुँदै टाउको हल्लाउँछन्- ‘मलाई पनि थाहा छ, पदयात्राको आनन्द अलग्गै हुन्छ। तर हामीसँग समय सीमित छ। उचाइका कारण तिमीलाई लामो दूरी हिँडाउन पनि उचित हुँदैन। त्यसैले यही विकल्प उपयुक्त लाग्छ।

यहाँ आएपछि उचाइसँग शरीरलाई अभ्यस्त बनाउनु कति आवश्यक रहेछ भन्ने पनि बुझिन्छ। होटलले प्रशस्त पानी पिउन, आराम गर्न र हतार नगर्न दिएको सुझाव निकै उपयोगी लाग्छ। महँगो अवश्य छ, तर अनुभव भने साँच्चिकै अनुपम!’

क्रिस्टिना सुस्तरी हाँस्दै फेरि भन्छिन्– ‘अब मूल्यको कुरा गरौँ। यहाँ बस्नु सामान्य पदयात्री लजमा बस्नुभन्दा धेरै महँगो पर्छ। तर यस्तो उचाइ, यस्तो सुविधा र यस्तो दृश्यलाई एउटै अनुभवभित्र पाउनु पनि त असाधारण कुरा हो नि!’

रोनाल्ड टाउको हल्लाउँदै भन्छन्- ‘एकदम ठीक भन्यौ। यहाँ एउटा कोठाको मूल्य प्रतिरात करिब ४,३८० देखि ४,६०० अमेरिकी डलरसम्म पुग्ने रहेछ। जम्मा बाह्रवटा कोठा, दुर्गम हिमाली स्थान र सबै सामग्री हेलिकप्टरबाट ल्याउनुपर्ने अवस्थाले यो महँगो हुनु स्वाभाविक लाग्छ। मैले त प्याकेजमै बुकिङ गरेको हुँ, त्यसैले खर्च अझ बढी पर्छ। तर यहाँ पाइने सुविधा, आतिथ्य र यो अनुपम दृश्यका अगाडि त्यो मूल्य पनि गौणजस्तो लाग्छ।’

क्रिस्टिना सहमत हुँदै भन्छिन्- ‘यात्राको योजना बनाउँदा खर्चभन्दा पनि सावधानी महत्त्वपूर्ण रहेछ। तिमीलाई उचाइजन्य समस्याको धेरै डर थिएन, मलाई भने निकै चिन्ता लागिरहेको थियो। धन्न, सबै कुरा सहजै भयो।’

रोनाल्ड मुस्कुराउँदै भन्छन्- ‘मलाई पनि डर त थियो। त्यसैले हतार गरेनौँ, बिस्तारै अघि बढ्यौँ। यही नै हिमाली यात्राको सबैभन्दा ठूलो सावधानी रहेछ। अर्को कुरा, वसन्त र शरदका मुख्य पदयात्रा-याममा यहाँको कोठा अग्रिम बुकिङ गर्दा पनि सजिलै पाइँदैन रहेछ।’

क्रिस्टिना फेरि हिमालतिर हेर्दै भन्छिन्- ‘अनि मौसम पनि आफ्नै स्वभावको हुन्छ। बादलले हिमाल छोपिदियो वा हिमपात सुरु भयो भने यति धेरै खर्च गरेर पनि दृश्य नदेखिन सक्छ। यहाँसम्म आएर सगरमाथाको दर्शन नै गर्न नपाउनु भनेको ठूलो अपूरोपन हो।’

क्रिस्टिना मुस्कुराउँदै थप्छिन्- ‘हो, एकान्त मन पराउने, हिमाललाई नजिकबाट महसुस गर्न चाहने र दुर्गम क्षेत्रमा पनि उत्कृष्ट सुविधा खोज्ने यात्रुका लागि यो ठाउँ अद्वितीय गन्तव्य हो। प्राकृतिक वैभव र विलासिताको यस्तो सुन्दर संगम विरलै भेटिन्छ।’

यति भन्दै उनीहरू एकअर्कालाई स्नेहपूर्ण अँगालोमा बाँध्छन्। मायालु चुम्बन साट्दै हिमालतिर फर्केर हेर्छन्। उनीहरूको अनुहारमा देखिएको सन्तुष्टि र आँखामा टल्किएको आनन्दले मलाई एउटा कुरा फेरि सम्झाइदिन्छ- सगरमाथाको काखमा पुगेर मानिसले हिमाल मात्र देख्दैन, जीवनका दुर्लभ क्षणहरू पनि सँगालेर फर्कन्छ।

यत्तिकैमा यार्बु भाइ भन्छन्- ‘दाजु, मेरो गाउँकै एक जना दाइ एभरेस्ट भ्यू होटलमा काम गर्नुहुन्छ। उहाँलाई भेट्नुभयो भने यहाँका धेरै रोचक कुरा पनि थाहा पाउनुहुन्छ।’

म उत्साहित हुँदै भन्छु- ‘ओहो! यो त झन् राम्रो भयो। अनि… त्यहाँ बसेर केही खान-पिउन पनि पाइन्छ कि?’

उनी भन्छन्– ‘किन नपाइन्छ र! अलि महँगो चाहिँ पर्छ, तर चिन्ता नगर्नुहोस्। यो चिसोमा कम्तीमा एक कप तातो चिया खाने व्यवस्था म मिलाइदिन्छु। चिया पिउँदै संसारकै अग्लो स्थानमा रहेको होटलको आँगनबाट संसारकै सर्वोच्च हिमाललाई नियाल्नुस्! यो अनुभूति आफैँमा अमूल्य हुन्छ।’

उनका कुरा सुन्दै मेरो मन उत्सुकताले भरिँदै जान्छ। यस्तो दुर्लभ अवसर जीवनमा कति पटक आउला र? आजको यात्राले मलाई अर्को अविस्मरणीय अनुभवतर्फ डोर्‍याउँदै छ भन्ने अनुभूति हुन्छ।

म यार्बु भाइका पाइला पछ्याउँदै ‘होटल एभरेस्ट भ्यू’ को प्रवेशद्वारतिर अघि बढ्छु। मनमा नयाँ जिज्ञासा छ, आँखामा हिमालको उज्यालो र अर्को अनुभवसँग साक्षात्कार गर्ने उत्सुक प्रतीक्षा।

(नियात्राकारको प्रकाशोन्मुख कृति ‘कालापत्थरबाट सगरमाथा नियाल्दा’ बाट)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *