शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
मकवानपुर। हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा आजभन्दा १० वर्षअघिसम्म शिक्षण पेसामा आबद्ध थिए।
गणित विषयमा स्नातक तथा योजना व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन गरेका लामाले मनहरी गाउँपालिका–१ मकरीस्थित बालजीवन ज्योति माध्यमिक विद्यालयमा अध्यापन गरिहँदा उनमा कृषि उद्यमतर्फको रुचि जागेर आयो।
आफ्नो रुचि र जाँगरसँगै परिवारको साथ र समर्थनका जगमा कृषिको व्यावसायिकतामा लागेका लामा अहिले हेटौंडाकै एउटा नमुना कृषि उद्यमीका रुपमा परिचित छन्। विसं २०७३ देखि बाख्रापालन थालेका उनी ६ वर्षदेखि ड्रागन खेती गर्दै आएका छन्।
पदमपोखरीमा एमएनएस एग्रो प्रालि सञ्चालन गर्दै उनले त्यसै कम्पनीमार्फत करिब ३० कट्ठा जमिनमा ड्रागन खेती गरिहेका छन्। त्यस्तै उनले ड्रागन खेतीसँगै विभिन्न अन्तरबाली पनि लगाएका छन्।
उनको फार्ममा करिब १० मेट्रिक टन क्षमताको शीतभण्डार, पोलीहाउस संरचना, सिँचाइ पूर्वाधार तथा मिनीटिलर र ट्र्याक्टरसहितको यान्त्रिकीकरण उपयोग गरिएको छ। उनले फार्मसँगै कृषि सामग्रीका लागि मिमा सप्लायर्स र पशु स्वास्थ्यका लागि मिमा भेट फार्म पनि सञ्चालन गर्दै आएका छन्।
समाजमा आधुनिक कृषि प्रविधिको विकाससँगै कृषि पर्यटन, रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ सुरुमा बाख्रापालनबाट उनले व्यावसायिकतामा हात हालेका हुन्। सुरुमा घरमा नै १५ वटा बाख्रा रहेकामा उनले क्रमशः बाख्रा थप्दै १०० वटासम्म बाख्रा पालेको अनुभव सुनाए।
बुबा रत्नकुमार लामाले २०५३ सालदेखि पदमपोखरीमा सञ्चालन गरेको एग्रेभेटले जगाएको कृषिप्रतिको इच्छा, बुबासँगै आमा सुमित्राकुमारीको प्रेरणा र श्रीमती सपनाको निरन्तरको साथ र सहयोगले उनी कृषिका बहुविकल्पलाई अँगाल्ने कृषि उद्यमीका रुपमा परिचित बनेका छन्। शिक्षण पेसाबाट व्यावसायिक कृषिमा लम्कनका लागि पदमपोखरी चोकमा बुबा रत्नकुमारले सञ्चालन गर्दै आएको एग्रोभेट पसल महत्वपूर्ण माध्यम बन्न पुगेको उनको भनाइ छ।
उक्त एग्रेभेटमा किसान सधैँ आफ्ना समस्या र समाधान खोज्दै आउने र त्यहाँ बस्दा किसानका कुरा सुनेपछि आफूहरू उत्पादनमा लाग्नुपर्छ भन्ने भावना जागृत भएको उनले अनुभव सुनाए। नेपाल पूर्ण रूपमा आयातमा निर्भर भएका अवस्थामा उत्पादनमा नलाग्ने हो भने देशमा परिवर्तन आउन नसक्ने ठहरसहित आफू व्यावसायिक कृषिमा होमिएको उनको तर्क छ।
कृषिको व्यावसायिकता तथा उत्पादनमूलक क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचका साथ बाख्रापालनबाट यस क्षेत्रमा लाँदै गर्दा ड्रागन फलको बजारमा उच्च मूल्य, बोयर बाख्राको उन्नत जात र सयपत्री फूलको बढ्दो माग आदिलाई दृष्टिगत गर्दै यसतर्फ आकर्षित बन्न पुगेको उनले बताए।
ड्रागनबाट व्यावसायिक उत्पादन लिन कम्तीमा पाँच वर्षको धैर्यता चाहिने बताउँदै उनले फल पाक्नेबेला चराचुरङ्गीले करिब १० प्रतिशतसम्म क्षति पु¥याउने, ढुसीजन्य रोगको प्रकोप देखिने जस्ता विभिन्न समस्या आउने बताए।
आफ्नो फार्ममा चराबाट बचाउन ‘बर्ड नेट’ र फललाई सुरक्षित राख्न ‘ब्यागिङ’को काम गरिएको उनले जानकारी दिए। अन्तरबालीअन्तर्गत मेवा, सयपत्री आदिको समेत उत्पादन गर्दै आएका उनले ड्रागन फलबाट वार्षिक ३० लाख रुपैयाँ बराबरको उत्पादन गरेका छन् भने पाँच लाख रुपैयाँ बराबरको मेवा उत्पादन गरेका छन्।
त्यस्तै, उनले वार्षिक एक लाख रुपैयाँसम्मको सयपत्री फूल उत्पादन गरिहेका छन्। उनको फार्ममा हाल १० हजार बोट ड्रागन फलका बोटसँगै ५०० को संख्यामा मेवाका बोट रहेका छन्।
लामाको फार्म पूर्ण रूपमा पारिवारिक जनशक्ति र ज्ञानमा आधारित रहेको छ। प्राविधिक अनुभवसहित उनका बुबा यसमा सक्रिय छन् भने श्रीमतीको कृषिकै अध्ययन र आफू पनि स्नातकोत्तर गरेपछि जेटिए पढेर कृषिसम्बन्धी विशेष तालिम लिएका छन्।
उनीहरूको परिवार सबै एकताबद्ध रुपमा फार्ममा खटिरहेको छ भने अन्य चार जना स्थायी कामदार रहेका छन्। मुख्य याममा भने थप ४०० जनासम्मका मजदुर खटाउने गरिएको छ।
पछिल्ला वर्षमा फार्ममार्फत अरूलाई पनि सिकाएर कृषिमा काम गर्नसक्ने दक्ष बनाएको उनले बताए। यहाँको सफलता देखेर पछिल्ला समयमा ठाउँ–ठाउँबाट उनीसँग जान्न र सिक्न आउनेको संख्या पनि बढ्दो छ। जान्न तथा बुझ्न चाहनेलाई आफूले जानेका, भोगेका सीप र अनुभव बाँड्दै आएका छन्।
निरन्तरको लगाव र मेहनतकै कारण उनले स्थानीय तहदेखि प्रदेश र राष्ट्रियस्तरसम्मका विभिन्न उत्कृष्ट कृषक सम्मान समेत प्राप्त गरिसकेका छन्। उनले २०७९ सालमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मकवानपुरको आयोजनामा सञ्चालित जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लाबाट उक्त वर्षको उत्कृष्ट कृषकमा उनी छनोट भएका थिए।
हेटौडा उपमहानगरपालिकाको ५५औं नगर दिवसका अवसरमा उनलाई एमएनएस एग्रो प्रालि स्थापना गरी ड्रागन फल, मेवा, खरबुजा, एभोकाडोलगायतका फलफूल, सयपत्री फूल, तरकारी खेती, नर्सरी र बाख्रापालन व्यावसायिक रूपमा सञ्चालन गरी स्वदेशमै रोजगारी सिर्जना गरी युवाका लागि प्रेरणाको स्रोत बनेको भन्दै सिर्जनशील कृषक सम्मान २०८० बाट उनलाई सम्मान गरिएको थियो।
प्रदेश कृषि थोकबजार हेटौंडा–११, थानाभर्याङमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, बागमती प्रदेश र हेटौंडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा यसै वर्ष असार ११–१३ गते सम्पन्न ड्रागन फ्रुट महोत्सव–२०८३ को प्रविधि प्रदर्शन विधामा एमएनएस एग्रो प्रालिका सञ्चालकका रूपमा उनले प्रथम पुरस्कार प्राप्त गरेका थिए।
लामाले आगामी दिनमा केबल उत्पादनमा मात्र नभई उत्पादित वस्तुको प्रशोधन गरी अन्य बहुप्रकृतिका उत्पादनलाई बजारमा लैजाने सोच राखेका छन्। उनले ड्रागन फलबाट जुस, क्यान्डी र वाइन बनाउने सोच अघि सारेका छन्।
राज्यका प्रणालीगत समस्या समाधान गर्नुपर्ने सुझाव
कृषि क्षेत्रका प्रणालीगत रुपमा देखिएका समस्या समाधानका लागि राज्यको चासो पुग्नुपर्ने उनको भनाइ छ। कृषिप्रतिको आकर्षण बढाउनका लागि समयमा मल नपाइनु, गुणस्तरीय बीउको अभाव, कृषि बिमाको झन्झट र स्थिर बजार नहुनेलगायतका समस्या समाधानका लागि राज्यको चासो पुग्नुपर्ने उनको भनाइ छ।
राज्यको नीतिहरू कृषकमैत्री बन्नुपर्ने बताउँदै उनले कृषिउपजको न्यूनतम समर्थन मूल्य निर्धारणसँगै डिजिटल बजारको पहुँच बढाउनु जरुरी रहेको बताए। राम्रो उत्पादनका लागि गुणस्तरीय बीउ आवश्यक हुने आफ्नो अनुभवले देखाएको बताउँदै उनले आफ्नो फार्ममा करिब पाँच हजार पुराना ड्रागन फलका बोट फालेर नयाँ बोट लगाएको जानकारी दिए।
कृषिकर्मका लागि पारिवारिक सहयोग तथा समर्थन पनि उत्तिकै अपरिहार्य हुने उनको अनुभव छ। “मैले शिक्षण पेसा छोडेर कृषिमा लाग्दा सुरुसुरुमा धेरैले धेरै कुरा भने”, उनले विगत सम्झँदै भने, “आफ्नो व्यावसायिक यात्रामा बाहिरका व्यक्तिले के भन्छन् भन्दा पनि आफ्नो निरन्तरको लगाव र परिवारको साथ सहयोगले नै मलाई यो अवस्थामा पुर्याएको हो।”
लामाले गरेको व्यावसायिक कृषिको सिको पछिल्लो समयमा यहाँका धेरै स्थानीयले गर्न थालेका छन्। पछिल्ला समयमा पदमपोखरीमा व्यावसायिक कृषिको विकासका लागि हेटौंडा उपमहानगरपालिकासहित सरकारी निकायले पनि निरन्तर साथ सहयोग पुर्याइरहेको उनले बताए।
पदमपोखरीमा व्यावसायिक कृषिप्रतिको आकर्षण र सम्भावना देखेर नै कृषि विकास कार्यालय चितवनमार्फत समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन’ कार्यकमअन्तर्गत मेवाखेती गरिएको छ। यहाँका १०४ जना कृषक समूहमा आबद्ध भई मेवाखेती गरिरहेको समूहका अध्यक्ष समेत रहेका लामाले जानकारी दिए। उनका अनुसार पदमपोखरीमा मात्रै हाल ३० हजार संख्यामा मेवाका बोट रहेका छन्।
राम्रो मेहनत गर्न सकेमा रोजगारीका लागि विदेशिनु पर्ने अवस्था नरहेको बताउँदै उनले स्वदेशमा नै व्यावसायिक कृषिबाट स्वरोजगार बन्दै अरुलाई पनि रोजगारी दिन सकिने अनुभव सुनाए।
“यहीं केही गर्नसकेमा इज्जतसँगै पैसा पनि कमाउन सकिन्छ”, उनले थपे, “हाम्रो यहाँको भूगोलमा व्यावसायिक कृषिका धेरै सम्भावना रहेका छन्, तर यसप्रतिको लगाव तथा समर्पण भने अपरिहार्य छ।” कृषि उद्यमलाई पर्यटनसँग पनि जोड्न सकिने बताउँदै उनले देशको आर्थिक समृद्धिका लागि कृषि उपयुक्त विकल्प भएको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment