पुरस्कारको अस्वस्थकर होडबाजी

कपिल लोहनी
२४ असोज २०८३ ७:१६
4
Shares

हामी स्कुलका साना विद्यार्थी छँदा हाम्रो विद्यालयमा प्रत्येक महिनाको अन्तिम शुक्रबार कविता, कथा, साहित्य तथा अन्य विषयका प्रतियोगितात्मक कार्यक्रमहरूको आयोजना हुने गर्दथ्यो।

त्यस्ता कार्यक्रमहरूमा भाग लिनका निम्ति म पनि घरमा फुर्सदको क्षणमा सरल कविता, लघुकथा तथा हास्य व्यङ्ग्य सामग्रीहरूको सिर्जना गर्ने र लेखेर राख्ने गर्दथेँ। स्कुलका त्यस्ता धेरै शुक्रबारे साहित्यिक कार्यक्रमहरूमा भाग लिएर मैले पनि धेरै पुरस्कारहरू जित्न सफल भएको छु।

विद्यालयका अन्य विद्यार्थी र शिक्षकहरूको सामु प्रथम, द्वितीय, तृतीय वा सान्त्वना पुरस्कारका प्रमाणपत्र र पुरस्कारका रूपमा साहित्यिक पुस्तकहरू हात पर्दा मनमा एक प्रकारको निकै मधुर आनन्दको अनुभूति हुने गर्दथ्यो।

त्यो बालापनदेखि आफ्नै मेहनतले साहित्यिक सर्जकका रूपमा जरा गाड्दै आएको हाम्रो पिँढीका अधिकांश मानिसहरूलाई पुरस्कारकै लालसामा गलत तवरले दौडिने बानी कहिल्यै बसेन।

त्यतिबेला अर्थात् आजभन्दा चार-पाँच दशक अघिसम्म प्रत्येक वर्ष विभिन्न प्रकारका राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल हुने व्यक्तिहरू वास्तवमा नै समाजका निकै प्रतिभाशाली सर्जकहरू हुने गर्दथे।

त्यतिबेला वर्षभरिमा निकै कम पुस्तकहरू प्रकाशन गरिन्थे र ती प्रायः सबै नै आफ्नो क्षेत्रका महत्त्वपूर्ण दस्तावेज बन्ने गर्दथे। पुस्तक प्रकाशन तथा वितरण गर्ने संस्थाहरू पनि नेपालमा कमै थिए, तर तिनको प्रतिष्ठा ज्यादै उच्च थियो।

हिजोआज भने प्रत्येक दिन नै दर्जन्‌औँ पुस्तकहरू प्रकाशन हुन्छन् र तिनको भव्य विमोचन तथा सार्वजनिकीकरण गरिन्छ। पुस्तक प्रकाशन तथा वितरण गर्ने संस्थाहरू पनि धेरै भइसकेका छन् भने लेख्ने कला नभएकाहरूका निम्ति प्रेत लेखक (गोस्ट राइटर) हरू पनि प्रशस्त उपलब्ध छन्।

यस्ता विमोचन समारोहहरू सबैमा सरिक हुने हो भने दिनहुँ नै बिहानी र दिउँसोको समयको अधिकांश भाग यही कामका निम्ति छुट्ट्याउनुपर्ने हुन्छ, जुन व्यावहारिक रूपमा सम्भव हुँदैन। त्यस्तै, पुस्तकहरू विमोचन गराइदिने व्यावसायिक संस्थाहरू पनि धेरै भइसकेका छन्।

नेपालमा वि.सं. २००७ सालमा प्रजातन्त्रको आगमन भएपछि विभिन्न राजाहरूको शासनकालसम्म प्रत्येक वर्ष प्रदान गरिने तक्मा तथा विभूषणहरूको ठूलो महिमा हुने गर्दथ्यो।

तर खास गरी २०३६ सालपछि भने नातावाद, कृपावाद, चाकरी, व्यवस्थाको समर्थन र ‘माथि’ लाई चन्दा दिने रकमको परिमाणका आधारमा तक्मा र विभूषण पनि बिक्न सुरु भयो। २०४६ सालको परिवर्तनपछि पनि यो क्रमले निरन्तरता पाउँदै दलगत भक्ति र चाटुकारिताको बदलामा यस्ता पुरस्कारहरू प्रदान गरिन थालिए।

तर पनि राजाको हातबाट प्राप्त हुने यस्ता तक्मा तथा विभूषणको महत्त्व राजा वीरेन्द्रको शासनकालसम्म रहिनै रह्यो। त्यसपछिका समयमा भने यिनको गरिमा र महत्ता घट्दै गयो वा रहनै छोड्यो।

अयोग्य व्यक्ति, नातावाद, कृपावाद तथा द्रव्यको भरमा अलंकार र तक्मा पाउने पाखन्डीहरूका कारण मानपदवी, पुरस्कार र अलङ्कार सस्ता बन्न पुगेका भए पनि उनीहरूको खुसी र उन्मादको भने कुनै सीमा नै रहँदैन।

तर सच्चा, कर्मठ र योग्य मानिसहरूलाई भने त्यस्ता पाखन्डीहरूसँगै उभिएर मानपदवी ग्रहण गर्न लाम लाग्दा पनि आत्मग्लानि र हिनताभास हुने गर्दछ। झन् कहिल्यै विभूषित वा पुरस्कृत हुने मौका नपाएका निष्ठावान् सर्जक र इमानदार मानिसहरूलाई त यस्तो परिपाटीले गर्दा कति ग्लानि हुँदो हो! तर पनि जनमानसमा तक्मा, विभूषण र पुरस्कार पाउने लालसामा कमी आउनुको सट्टा झनै तीव्र वृद्धि हुँदै गएको देखिन्छ।

समाजमा कयौं विधामा सर्वोत्तम उपलब्धि हासिल गरेका धेरै योग्य व्यक्तिहरू स्याबासी र कदरबाट वञ्चित भइरहेका भेटिन्छन् भने सिङ न पुच्छरका (वा अर्को जनबोलीमा दौरा न सुरुवालका खल्ती रूपी) मानिसहरू भने पटक-पटक पुरस्कृत भएर समाजलाई हियाइरहेका हुन्छन्।

विभिन्न महत्त्वपूर्ण सार्वजनिक पदहरूको पनि त्यस्तै दुर्दशा भएको छ। जसले जुन पदमा बसेर पनि काम गर्न सक्ने र जस्तोसुकै शिक्षाको डिग्री पनि सजिलै हात पार्न सक्ने मुलुक नेपाल मात्रै होला।

बाउबाजेले स्थापना गरिदिएका केही प्रतिष्ठित पुरस्कार वितरण गर्ने संस्थाहरू हाल पछिल्लो पिँढीका सन्तानका लागि कमाइ खाने भाँडो बन्न पुगेका छन्। देशभित्रका नवधनाढ्य तथा विदेशमा बस्ने तथाकथित डायस्पोरा लेखकहरूसँगको स्वार्थलिप्त हिमचिमका कारण अधिकांश पुरस्कारहरू त्यस्तै व्यक्तिहरूले हात पार्ने गर्दछन्।

यति मात्र होइन, कतिपय प्रतिष्ठित संस्थाका पुरस्कारका राशि त आयोजक मण्डल र पुरस्कृत व्यक्तिले नै आपसमा बाँडीचुडी खाने गर्छन् भन्ने कुराहरू पनि बजारमा सुन्नमा आउँछन्।

कतिपय पुरस्कार प्रदान गर्ने संस्थासँग सम्बद्ध व्यक्तिहरू र उनीहरूको काम परिरहने संस्थाका मानिसहरूबीच त यस्ता पुरस्कार दुवै पक्षको स्वार्थ सिद्धिका साधन बन्ने गरेका छन्।

त्यसैले पनि विशुद्ध लेखक, सच्चा सर्जक वा कलाकारले त हतपत पुरस्कार पाउन निकै हम्मे पर्दछ भन्ने भनाइ छ। पुरस्कारबाट वञ्चित कतिपय सोझा तथा इमानदार स्रष्टाहरू पनि समाजमा भेटिन्छन्, जो पुरस्कारको आशामा भड्किँदै हिँड्दैनन्। तर तिनको मनमा पनि कता कता पुरस्कृत हुने र मूल्याङ्कन हुने सपना त बनिरहेकै हुन्छ होला।

समाजमा यस्तो प्रकारले विनास्वार्थ योगदान गर्ने व्यक्तिमा पुरस्कार पाउने लालसा हुनु कुनै अचम्मको कुरा भने होइन। तर यही आकाङ्क्षालाई साकार पार्नका लागि मात्र वा जसरी भए पनि पुरस्कृत भएर समाजमा खोक्रो आडम्बर प्रस्तुत गर्ने सपना बोकेकाहरू भने चरम पाखण्डका अनुयायी नै हुन्।

साहित्य, कला, राजनीति आदि विविध विषयगत क्षेत्रमा मानिसको विशिष्टता पुस्तक प्रकाशन, पुरस्कार र विभिन्न पदमा बसेको हिसाबले मापन गरिने कुप्रथा हाम्रो समाजमा विद्यमान छ। प्राविधिक र बौद्धिक क्षेत्रमा भने व्यक्तिको बुद्धि र विवेकको परीक्षाबाट मात्र उसलाई चिन्न सकिन्छ।

तर त्यस्ता व्यक्तिको बुद्धिको स्तर जान्न र बुझ्न सक्ने वास्तविक विद्वान्‌हरू हाम्रामा धेरै कम मात्र भेटिन्छन्। त्यसै गरी साहित्य र कलाको क्षेत्रमा पनि कसैको प्रकाशित कृतिबाट भन्दा उसँग भएका साक्षात् अन्तरंग संवाद र उसका विभिन्न विषयका विस्तृत अभिव्यक्तिको अध्ययनबाट मात्र उसको वास्तविक खुबी थाहा हुन्छ।

खेलकुद, संगीत, गायन, अभिनय आदिजस्ता प्रत्यक्ष देखिने प्रतिभाशाली क्षेत्रहरूमा भने कसैको भनसुन वा आडका आधारमा पुरस्कार पाउन निकै मुस्किल पर्दछ। यस्ता क्षेत्रमा आफ्नो प्रतिभाको प्रत्यक्ष प्रदर्शन गरेर मात्र आफूलाई उत्कृष्ट साबित गर्न सकिन्छ।

विदेशमा गएर बसोबास गर्ने मानिसहरू पनि दुई-तीन प्रकारका हुँदा रहेछन्। कोही निकै शिक्षित र अनुभवी भएर पनि स्वदेशमा कुनै राम्रो अवसर नपाएका कारण विदेशिन बाध्य भएका छन्, तर उतै बसेर चुपचाप आफ्नो सत्कर्म गरिरहेका छन् र आफ्नो तथा आफ्नो परिवारको हितमा लागिरहेका छन्। त्यस्ता मानिसहरूमा विदेशमा बसे पनि आफ्नो मातृभूमिप्रति अगाध माया र केही गरौँ भन्ने पवित्र भावना भएको पाइन्छ।

तर अर्कातर्फ, ज्यादै न्यून शिक्षा प्राप्त गरेर विभिन्न गलत तवरबाट विकसित राष्ट्रहरूमा पुगेका र तल्लो सोच तथा संस्कार भएका मानिसहरू भने विदेशमा बसेर पनि त्यहाँका असल सामाजिक चालचलनको अवलम्बन गर्नु र राम्रा कुरा सिक्नुभन्दा नेपालकै विभिन्न राजनीतिक दलका झोले बनेर दौडिएका छन्।

उनीहरू नेपाली समुदायलाई जातीय र दलगत रूपमा विभाजन गर्न उद्यत रहन्छन् भने मिहिनेत गरेर काम गरिरहेका साथीहरूलाई कसरी ठग्ने, चन्दा असुल्ने, धम्क्याउने र अप्ठ्यारोमा पार्ने भन्ने धन्दामा लागेका देख्दा अचम्म लाग्दछ।

अर्का थरी डायस्पोराहरू भने केही शिक्षित नै भएका र राम्रो आर्थिक अवस्थामा पुगेकाले सम्पन्नता हासिल गरेका छन्। तर उनीहरू नेपाली समुदाय र स्वदेशमा आफू महान् साहित्यकार भएको भान पार्न प्रेत लेखक (गोस्ट राइटर) हरूलाई ठूलो धनराशि दिएर साहित्य लेखन गराउने र आफ्नो नाममा छपाउने गर्दछन्।

उनीहरूलाई मन पर्ने प्रमुख विधा कविता, कथा, उपन्यास र यात्रा संस्मरण रहेको पाइन्छ। आफ्नो ज्यादै कम मिहिनेत परेका त्यस्ता कृतिहरूले नेपालका शीर्ष पुरस्कारहरू प्राप्त गर्न सकून् भनेर उनीहरू विभिन्न पुरस्कार प्रदायक संस्थाका प्रमुख व्यक्तिहरूसँग सम्पर्क बढाउने, महँगा उपहार दिइरहने र परिआएको खण्डमा मोटो रकम तथा विदेश भ्रमणको अवसर समेत उपलब्ध गराएर त्यस्ता महत्त्वपूर्ण पुरस्कार र सम्मान प्राप्त गर्न पछि पर्दैनन्। यस्तो घिनलाग्दो परिपाटीले नेपाली समाज ग्रसित हुँदै गएको छ।

कतिपय धनाढ्य व्यक्तिहरूले आफ्नो लेखन र कला जतिनै कमजोर भए पनि धनकै आडमा बारम्बार पुरस्कृत हुने अवसर पाउँछन्। समाजले उनीहरूलाई चिनेकै हुँदैन वा उनका कुनै पनि कृति पढ्न वा सुन्न नै पाएको हुँदैन, तर तिनै तथाकथित कृतिका कारण उनीहरू पुरस्कृत भएका फोटो र समाचारहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आइरहेका हुन्छन्।

अनि ती समाचारको तारिफमा बधाई ज्ञापन गर्नेहरूको लामबद्ध मिठा अभिव्यक्तिहरू पनि देख्न पाइन्छ। यस्ता कार्यहरू हिजोआज पैसा हुनेहरूका लागि फेसन नै भएको छ भने वास्तविक स्रष्टाहरू भने यस्ता हर्कतहरूका कारण हतोत्साहित भइरहेका देखिन्छन्।

कुनै बेला नेपाल यस्तो मुलुक थियो, जहाँ राष्ट्रिय पुरस्कार, पदक तथा विभूषणहरू केही अपवादलाई छोडेर वास्तविक प्रतिभाको कदरका रूपमा नै प्रदान गरिन्थ्यो। त्यतिबेला यस्ता पुरस्कारहरू बिकाउ हुँदैनथे।

तर आज यसको ठीक विपरीत यस्ता पुरस्कारहरू केही अपवादबाहेक सबै नै बिकाउ वा लिलाममा चढाइएका भेटिन्छन्। पुरस्कार वितरणमा पनि ‘जसको शक्ति, उसको भक्ति’ र ‘बोल्नेको पिठो बिक्ने’ नियति दोहोरिरहेको छ।

पदक र पुरस्कारको व्यापार गर्ने तथा यस्ता समारोहहरूको आयोजना गर्ने संस्थाहरू हिजोआज प्रशस्तै खुलेका छन् र तिनको धन्दा पनि निकै फस्टाएको देखिन्छ।

पैसा भएका र पुरस्कारका भोका तथाकथित स्वदेशी तथा विदेशी आउरेबाउरे स्रष्टाहरूको खोजी गरेर तिनलाई ‘विशिष्ट स्रष्टा’ को दर्जा दिलाउन विभिन्न प्रकारका जालझेल गर्ने, तिनका नाममा कृतिहरू लेखाइदिएर प्रचारप्रसारमा कुनै कमी हुन नदिई पुरस्कृत गराउने खेलमा यस क्षेत्रका माहिर तथा चतुर व्यक्तिहरू लागेका छन्।

यही पेसाबाट उनीहरूले ठूलो धनराशि कमाउन सफल भएका छन् भने धनोपार्जनपछि उनीहरू स्वयं पनि समाजका महत्त्वपूर्ण व्यक्तिमा गनिन थालेका छन्।

कसैको विद्वत्ता, क्षमता र इमानदारीको कदर गर्ने एउटा सशक्त साधन पुरस्कार र विभूषण हो। पुरस्कृत र सम्मानित व्यक्तिको मान-प्रतिष्ठा समाजमा निकै माथि पुग्दछ।

तर गलत तवरले पुरस्कार पाउनु वा पुरस्कृत गर्नुजस्ता अपराधले गर्दा एकातिर पुरस्कारकै गरिमा माटोमा मिल्न जान्छ भने अर्कातिर क्षमतावान्‌हरूमा त्यस्ता पुरस्कारप्रति तीव्र वितृष्णा जागेर आउँछ।

त्यसैले पनि विकसित र सुसंस्कृत समाजमा जस्तै पुरस्कार र मानपदवी समाजका उत्कृष्ट र योग्य व्यक्तिले मात्र पाउने पारदर्शी व्यवस्था भयो भने मात्र त्यस्ता मानपदवी, पुरस्कार तथा अलङ्कारहरू मूल्यवान् हुन पुग्दछन् र प्राप्त गर्ने व्यक्ति पनि साँच्चिकै प्रतिष्ठित बन्दछ।

आधुनिक नेपालले ७५ वर्षको उमेर नाघिसकेर वृद्ध बनिसक्दा पनि यहाँ हरेक क्षेत्रमा विकृतिहरू झन्‌झन् मौलाउँदै र फस्टाउँदै गएका छन्। यो देशले सही बाटो पक्रेर समग्र विकासको पथमा लम्कने दिन कहिले आउला भन्ने कुरामा प्रश्नचिह्न मात्रै लाग्ने गरेको छ।

कुनै चमत्कारसहित नेपालले पनि चौतर्फी विकास गर्दै आर्थिक, सांस्कृतिक, साहित्यिक, कला, राजनीतिक र अन्य सबै क्षेत्रमा विश्वका समृद्ध मुलुकहरूको हाराहारीमा पुग्न सकेको महसुस गर्न पाए कति सन्तोष मिल्दो हो सबै असल नेपालीहरूलाई! आशा गरौँ, मुलुक र समाज छिट्टै नै समृद्धिको त्यो सही बाटोतर्फ अघि बढ्नेछ।

 लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *