अमेरिकामा एन्टिएनको वार्षिक साधारण सभा तथा जितिया महोत्सव–२०२६ सम्पन्न

डिसी नेपाल
२४ असोज २०८३ ७:४९
8
Shares

वासिङ्टन डीसी। अमेरिकामा रहेका नेपाली तराईवासीहरूको सामाजिक तथा सांस्कृतिक संस्था ‘एसोसिएसन अफ नेपालीस टेराियन इन अमेरिका’ (एन्टिएन) को वार्षिक साधारण सभा तथा जितिया महोत्सव अमेरिका-२०२६ सयौँ समुदायका सदस्य, अतिथि, पदाधिकारी, महिला, व्रती, स्वयंसेवक तथा शुभेच्छुकहरूको सहभागितामा दुईदिने कार्यक्रमका रूपमा ऐतिहासिक रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको पहिलो दिन आयोजित जितिया महोत्सवमा सयौँको सहभागिता रहेको थियो। पूजा-आराधना, जितिया व्रत कथा, मौलिक गीत–संगीत, सांस्कृतिक प्रस्तुति, व्रती, महिला, ज्येष्ठ नागरिक तथा समुदायमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मानलगायत कार्यक्रममार्फत मिथिला-तराईको मौलिक धर्म, संस्कृति, परम्परा र सामाजिक पहिचानलाई अमेरिकामा संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने सन्देश दिइएको थियो।

दोस्रो दिन आयोजित एन्टिएनको वार्षिक साधारण सभामा अमेरिका, नेपाल तथा विभिन्न स्थानबाट संस्थाका वर्तमान तथा पूर्वपदाधिकारी, संरक्षक समिति (बोर्ड अफ ट्रस्टी), सल्लाहकार, आजीवन सदस्य, समुदायका अगुवा तथा शुभेच्छुकहरू अनलाइनमार्फत सहभागी भएका थिए। प्रत्यक्ष तथा अनलाइन सहभागितालाई समेट्दा दुईदिने कार्यक्रमले सयौँ व्यक्तिलाई एउटै सांस्कृतिक तथा संस्थागत अभियानमा जोडेको एन्टिएनले जनाएको छ।

उपसभामुख र सद्भावना राजदूूतद्वारा संयुक्त उद्घाटन

वार्षिक साधारण सभाको विशेष उद्घाटन समारोहमा नेपालका संघीय संसद्, प्रतिनिधिसभाकी माननीय उपसभामुख रुबी कुमारी ठाकुर तथा एन्टिएनकी सद्भावना राजदूत (ब्रान्ड एम्बेसडर) अनिता यादवले अनलाइन माध्यमबाट संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका थिए।

एन्टिएनका अध्यक्ष मोहन कुमार यादवले प्रमुख अतिथि, विशेष अतिथि तथा सम्पूर्ण सहभागीलाई स्वागत एवं सम्मान गर्दै संस्थाले अमेरिकामा नेपाली समुदायबीच आपसी भाइचारा बढाउने तथा भाषा, धर्म, संस्कृति, परम्परा र मौलिक पहिचान संरक्षण गर्ने अभियानलाई निरन्तर अगाडि बढाउने बताए।

उपसभामुख ठाकुरले एन्टिएनको वार्षिक साधारण सभा तथा सांस्कृतिक अभियानको सफलताको शुभकामना दिँदै संस्थाको आगामी महाधिवेशनको सफल आयोजनाका लागि समेत अग्रिम शुभकामना व्यक्त गरिन्।

सद्भावना राजदूत अनिता यादवले जितियाजस्तो मौलिक पर्वलाई अमेरिकामा ऐतिहासिक रूपमा आयोजना गरेर एन्टिएनले नेपाली धर्म, संस्कृति, चाडपर्व र परम्परालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइन्। उनले नेपाली समुदायका अन्य सामाजिक तथा सांस्कृतिक संघसंस्थालाई समेत सहकार्यका लागि आग्रह गरिन्।

नेपाल र अमेरिकाबाट दर्जनौँ पदाधिकारीको सहभागिता

कार्यक्रममा एन्टिएनका महासचिव डा. रविन्द्र कुमार मण्डल, निवर्तमान अध्यक्ष (इमिडिएट पास्ट प्रेसिडेन्ट) डा. इन्द्रदेव साह, वर्तमान संरक्षक समितिका अध्यक्ष (चेयरम्यान) डा. राम बाबु यादव, पूर्वअध्यक्ष प्राध्यापक विजय कुमार सिंह, सल्लाहकार विजय कुमार चौधरी, प्रवक्ता कञ्चन ठाकुर, अन्तर्राष्ट्रिय उपाध्यक्ष खुशनन्दन ठाकुर, संयुक्त सचिव आशीष झा, डीसी-मेरिल्यान्ड च्याप्टरका पूर्वअध्यक्ष राजेश कुमार गुप्ता, आजीवन सदस्यहरू प्रियंका झा, कुमार चौधरी र सोनिया साह, साथै कृष्ण निरौला, सुनील यादव, श्याम साह र रविला साहलगायत दर्जनौँ पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

नेपालबाट एन्टिएनका संयुक्त राष्ट्रसंघका प्रतिनिधि  तथा संरक्षक समिति सदस्य डा. रामकृष्ण साह पनि अनलाइनमार्फत सहभागी भएका थिए।

अनलाइनबाट जोडिएका पदाधिकारी तथा सदस्यहरूले एन्टिएनका विगत र वर्तमान गतिविधि, संस्थागत सुदृढीकरण, समुदायसँगको सम्बन्ध तथा आगामी कार्ययोजनाबारे आफ्ना जिज्ञासा, सुझाव र मन्तव्य प्रस्तुत गरेका थिए।

शिक्षा, युवा, महिला र जनसम्पर्कमा विशेष जोड

साधारण सभामा संस्थाको विगतका गतिविधि तथा उपलब्धिको समीक्षा गर्दै आगामी कार्ययोजनामाथि विस्तृत छलफल गरिएको थियो। संरक्षक समिति, पूर्वअध्यक्ष तथा सल्लाहकारहरूले एन्टिएनको उद्देश्य, विगतको योगदान र आगामी कार्यदिशाबारे धारणा राखेका थिए।

महासचिव डा. रविन्द्र कुमार मण्डलले संस्थाको आन्तरिक व्यवस्थापनलाई थप सुदृढ बनाउँदै आगामी दिनमा शैक्षिक तथा व्यावसायिक मार्गदर्शन, वेबिनार, जनसम्पर्क र समुदायमुखी कार्यक्रमहरू विस्तार गर्नुपर्नेमा जोड दिए।

सभामा विशेषगरी युवा तथा विद्यार्थीलाई मार्गदर्शन, महिला सहभागिता वृद्धि, शैक्षिक एवं प्रेरणामूलक कार्यक्रम, पेसागत सञ्जाल (नेटवर्किङ), सार्वजनिक सम्बन्ध तथा समुदायबीच आपसी भाइचारा अभिवृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्ने विषयमा छलफल भएको थियो।

भाषा, धर्म र संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रतिबद्धता

अध्यक्ष मोहन कुमार यादवले विदेशमा जन्मिँदै र हुर्किँदै गरेको नयाँ पुस्तालाई आफ्नो मातृभूमिको इतिहास, मातृभाषा, धर्म, संस्कृति, चाडपर्व, रीतिरिवाज र परम्परासँग जोड्नु एन्टिएनको महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए।

उनले हिमाल, पहाड र तराई-मधेश नेपालको साझा विविधता र गौरव भएको उल्लेख गर्दै विभिन्न भाषा, संस्कृति र समुदायबीच आपसी सम्मान तथा भाइचारा विस्तार गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

जितिया, छठ, होली, विवाह पञ्चमीलगायत मौलिक पर्व तथा सांस्कृतिक परम्परालाई अमेरिकामा संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानलाई अझ प्रभावकारी बनाउने विषयमा पनि सभाले जोड दिएको थियो।

एन्टिएनसम्बन्धी विगतको अदालती विवादबारे जानकारी

वार्षिक साधारण सभामा एन्टिएनको संस्थागत इतिहाससँग सम्बन्धित विगतको कानुनी विवाद र त्यससँग सम्बन्धित उपलब्ध कागजातबारे पनि सदस्यहरूलाई जानकारी गराइएको थियो।

सभामा प्रस्तुत विवरण तथा उपलब्ध अदालतसम्बन्धी कागजात अनुसार अपराजिता झा पक्षबाट एन्टिएनको नेतृत्व तथा छैटौँ महाधिवेशनसम्बन्धी विषय उठाउँदै अदालतमा मुद्दा दायर गरिएको थियो।

त्यसको प्रतिवादमा एन्टिएन पक्षबाट तत्कालीन नेतृत्वसँग सम्बन्धित विजय सिंह, डा. इन्द्रदेव साह तथा मोहन कुमार यादव लगायतले संस्थाको विधान, नेतृत्व परिवर्तनसम्बन्धी अभिलेख, केन्द्रीय कार्यसमितिका कागजातहरू, राजीनामासम्बन्धी विवरण तथा महाधिवेशन वा निर्वाचनसम्बन्धी लिखित कागजातहरू अदालतमा पेस गर्दै आफ्नो पक्ष राखेका थिए।

प्रतिवादी पक्षको लिखित जवाफमा सन् २०२० को नेतृत्व परिवर्तनसम्बन्धी घटनाक्रम तथा त्यसपछि एन्टिएनको विधानअनुसार भएको नेतृत्व व्यवस्थापनबारे आफ्नो अडान अदालतसमक्ष प्रस्तुत गरिएको थियो।

कानुनी प्रक्रिया चलिरहेकै अवस्थामा एन्टिएनको छैटौँ महाधिवेशन नरोकिएको र अगस्ट २१, २०२१ मा महाधिवेशन सम्पन्न भई मोहन कुमार यादवको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको एन्टिएन नेतृत्वले साधारण सभामा जानकारी गराएको थियो।

उक्त मुद्दा पछि अदालतबाट खारेज (डिसमिस) भएको जानकारीसमेत साधारण सभामा प्रस्तुत गरिएको थियो। एन्टिएन पक्षसँग उपलब्ध कागजात प्रतिवादी पक्षबाट पेस गरिएको थियो।

एन्टिएनको नाममा अनधिकृत समानान्तर गतिविधिप्रति आपत्ति

वार्षिक साधारण सभामा एन्टिएनको नाम र संस्थागत पहिचान प्रयोग गरी समानान्तर रूपमा सदस्यता वितरण, चन्दा सङ्कलन, समिति गठन, मनोनयन वा निर्वाचन प्रक्रिया तथा महाधिवेशन आयोजना गरिएको भनिएका गतिविधि सम्बन्धमा पनि गम्भीर छलफल भएको थियो।

एन्टिएन नेतृत्वले संस्थाको आधिकारिक स्वीकृति and निर्धारित प्रक्रियाबाहिर एन्टिएनको नाम, लोगो वा संस्थागत पहिचान प्रयोग गर्दा समुदायमा भ्रम सिर्जना हुन सक्ने जनाएको छ।

सभाले त्यस्ता समानान्तर गतिविधिप्रति आपत्ति जनाउँदै समुदायका सदस्यलाई एन्टिएनसम्बन्धी सदस्यता, आर्थिक सहयोग, मनोनयन, निर्वाचन वा महाधिवेशनमा सहभागी हुनुअघि त्यसको आधिकारिकता एन्टिएनको आधिकारिक नेतृत्व तथा माध्यमबाट पुष्टि गर्न आग्रह गरेको छ।

सहभागी पदाधिकारीहरूले विगतका विवादलाई समुदाय विभाजनको माध्यम नबناई संस्थाको विधान, अभिलेख तथा निर्धारित संस्थागत प्रक्रियाअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

आगामी महाधिवेशनसहित समुदाय केन्द्रित कार्यक्रम विस्तार गरिने

साधारण सभाले आगामी अवधिमा वार्षिक महाधिवेशन, सार्वजनिक सम्बन्ध, शैक्षिक वेबिनार, विद्यार्थी तथा पेसागत मार्गदर्शन, महिला तथा युवा सहभागिता, सांस्कृतिक कार्यक्रम, सामाजिक सेवा तथा अन्तरसंस्थागत सहकार्यलाई थप विस्तार गर्ने विषयमा जोड दिएको छ।

अध्यक्ष यादवले एन्टिएनको मूल उद्देश्य विवादमा केन्द्रित हुनु नभई समुदायलाई एकताबद्ध गर्दै शिक्षा, संस्कृति, सामाजिक सेवा, युवा पुस्ता, जनसम्पर्क र आपसी सहयोगका क्षेत्रमा परिणाममुखी काम गर्नु रहेको बताए।

उनले सयौँ समुदाय सदस्यको सहभागिताले जितिया महोत्सव अमेरिका–२०२६ र एन्टिएनको वार्षिक साधारण सभालाई केवल कार्यक्रमका रूपमा मात्र नभई अमेरिकामा नेपाली भाषा, संस्कृति, परम्परा र सामुदायिक एकताको साझा अभियानका रूपमा स्थापित गरेको उल्लेख गरे।

कार्यक्रमको समापन गर्दै अध्यक्ष मोहन कुमार यादवले प्रमुख अतिथि उपसभामुख रुबी कुमारी ठाकुर, सद्भावना राजदूत अनिता यादव, संरक्षक समिति, पूर्वअध्यक्ष, सल्लाहकार, पदाधिकारी, आजीवन सदस्य, महिला दिदीबहिनी, व्रती, कलाकार, स्वयंसेवक, सञ्चारकर्मी तथा नेपाल, अमेरिका र विश्वका विभिन्न स्थानबाट प्रत्यक्ष तथा अनलाइन सहभागी सम्पूर्ण शुभेच्छुकहरूप्रति धन्यवाद तथा आभार व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *