ट्रम्पका उत्तराधिकारीका रूपमा भान्सको चर्चा चुलिँदै, रिपब्लिकनलाई मध्यावधि चुनावको चुनौती
वासिङ्टन डीसी । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गरिनसके तापनि उहाँको बढ्दो राजनीतिक सक्रियता र समर्थकहरूको उत्साहका कारण सम्भावित उम्मेदवारीबारेको चर्चा ह्वात्तै चुलिएको छ। तर, आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कडा र चुनौतीपूर्ण प्रतिस्पर्धाको सामना गर्नुपर्ने स्थिति देखिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकटका सहयोगी मानिने उपराष्ट्रपति भान्स शुक्रबार आफ्नो गृहराज्य ओहायोको लिमामा आयोजित चुनावी सभामा सहभागी हुनुभयो। आगामी मध्यावधि निर्वाचनका लागि रिपब्लिकन उम्मेदवारहरूको पक्षमा माहोल बनाउन आयोजित सो सभामा उहाँ पुग्दा समर्थकहरूले भव्य स्वागत गरेका थिए। सो क्रममा ‘भान्स २०२८’ लेखिएको टोपी लगाएका समर्थकसमेत देखिएका थिए।
यद्यपि उपराष्ट्रपति भान्सले आगामी राष्ट्रपतीय निर्वाचनसँग ओहायोको मध्यावधि चुनावको कुनै प्रत्यक्ष सम्बन्ध नरहेको स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार यो निर्वाचनको मुख्य महत्त्व आगामी वर्षहरूमा देशको शासन सञ्चालनलाई चुस्त बनाउनेसँग जोडिएको छ।
यता, विभिन्न जनमत सर्वेक्षणहरूले भने राष्ट्रपति ट्रम्पको खस्किँदो लोकप्रियता, इरानसँगको तनाव तथा युद्धको वातावरण र सर्वसाधारणले भोगिरहेको बढ्दो जीवनयापन खर्चका कारण रिपब्लिकनहरूले अमेरिकी कङ्ग्रेसमा आफ्नो बहुमत गुमाउन सक्ने संकेत गरेका छन्।
ओहायोमा सिनेटको सिट र गभर्नर पदका लागि निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ। गभर्नर पदका लागि पूर्व राष्ट्रपतीय उम्मेदवार विवेक रामास्वामी चुनावी मैदानमा उत्रिएका छन् भने ट्रम्प स्वयंले पनि हालै सो राज्यको भ्रमण गरिसकेका छन्।
अमेरिकी कङ्ग्रेसमा बहुमत गुमाउनु ट्रम्पका लागि राजनीतिक रूपमा निकै कठिन मानिन्छ। यसले उहाँको कार्यकालको बाँकी दुई वर्षमा विपक्षी डेमोक्र्याटहरूले विभिन्न कानुनी तथा संसदीय अनुसन्धान अघि बढाउने बाटो खोल्न सक्छ। अर्कोतर्फ, आफ्नै गृहराज्य ओहायोमा रिपब्लिकनहरूको कमजोर प्रदर्शन भएमा त्यसले भान्सको राजनीतिक छविमा पनि प्रत्यक्ष असर पार्ने देखिन्छ।
सन् २०२८ को दौडमा भान्स अगाडि?
रिपब्लिकन पार्टीभित्र ट्रम्पको सम्भावित उत्तराधिकारीका रूपमा भान्सलाई नै सबैभन्दा बलियो दाबेदार मानिएको छ। यद्यपि उनले राष्ट्रपतीय दौडबारे औपचारिक घोषणा भने गरेका छैनन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि भान्सविरुद्ध प्रतिस्पर्धा नगर्ने संकेत गरेका छन्। तैपनि रुबियोका हालैका सार्वजनिक अभिव्यक्तिहरूलाई सम्भावित राष्ट्रपतीय आकाङ्क्षासँग जोडेर विश्लेषण गर्ने गरिएको छ।
४२ वर्षीय भान्सले आफ्नो राजनीतिक छवि सुदृढ बनाउन परिवारलाई समेत सार्वजनिक कार्यक्रममा सहभागी गराउन थालेका छन्। हालै उनले पत्नी उषा, तीन सन्तान र घरपालुवा कुकुर ‘एटलस’का साथ सिनसिनाटीको यात्रा गर्दै अग्रिम मतदान गरेका थिए।
यसका साथै, रिपब्लिकन नेसनल कमिटीको आर्थिक संकलनसम्बन्धी जिम्मेवारी सम्हालेका कारण उहाँलाई पार्टीका प्रभावशाली र ठूला दाताहरूसँग निकट सम्बन्ध स्थापित गर्न सहयोग पुगेको छ।
ट्रम्प प्रशासनका केही विवादास्पद नीतिका कारण सिर्जित राजनीतिक दबाबबाट आफूलाई पृथक् राख्ने प्रयासमा रहनुभएका भान्सले अमेरिकी परिवारहरूको आर्थिक कठिनाइप्रति आफू पूर्ण रूपमा सचेत रहेको सन्देश दिँदै आएका छन्। यसले विगतमा ट्रम्पप्रति उहाँले राखेका आलोचनात्मक धारणाका कारण बनेको राजनीतिक छवि परिवर्तन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
शुक्रबार उनले पेन्टागन प्रमुख (रक्षामन्त्री) पिट हेगसेथको मृत्युदण्डसम्बन्धी पछिल्लो घोषणाबाट आफूलाई अलग राख्ने संकेत दिए। अमेरिकी सेनाले फायरिङ स्क्वाडमार्फत दिइने मृत्युदण्डको प्रत्यक्ष प्रसारण (लाइभस्ट्रिम) गर्ने विषयमा सोधिएको प्रश्नमा भान्सले आफूले त्यस्तो प्रत्यक्ष प्रसारण नहेर्ने र त्यो योजना लागू भइहाल्छ भन्नेमा आफूलाई शंक रहेको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment