गोरखाको चुमनुब्बीमा आकस्मिक बाढी: सल्लेरी र जगत बजार उच्च जोखिममा
गोरखा। उत्तरी गोरखाको चुमनुब्बी गाउँपालिका-६ स्थित चुम्के (उग्युलुङ) खोलामा ठूलो पहिरो खसेर केही समय नदी थुनिएपछि एक्कासि फुटेर लेदोसहितको भीषण बाढी आएको छ। उग्युलुङ खोला बूढीगण्डकीको सहायक नदी भएकाले बाढीका कारण बूढीगण्डकी नदीमा पानीको बहाव उच्च बनेको छ।
गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्रका अनुसार आज बिहान ४ बजेर ३५ मिनेटमा ठूलो आवाजसहित बाढी आएको खबर प्राप्त भएको थियो। बाढीका कारण हालसम्म कुनै मानवीय क्षति भएको आधिकारिक सूचना नआए पनि नदी बगरमा रहेका एक-दुईवटा घर बगाएको खबर प्राप्त भएकाले त्यसको पुष्टि गर्ने काम भइरहेको उनले बताए।
चुमनुब्बी गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार चुम्चेतको उग्युलुङ खोलामा पहिरो खसेर थुनिएपछि एक्कासि बाढी आएको हो। आकस्मिक रूपमा आएको बाढीले नदी किनारका बस्तीहरू प्रभावित बनेका छन्।
बाढीका कारण तल्लो तटीय क्षेत्रमा पर्ने सल्लेरी र जगत बजार उच्च जोखिममा परेका छन्। जोखिम बढेपछि त्यस क्षेत्रका कतिपय स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा विस्थापित भइसकेका छन्। स्थानीयका अनुसार यस क्षेत्रमा बेलाबेलामा पहिरोले नदी थुनिने र त्यसपछि लेदोसहितको बाढी आउने घटना दोहोरिने गरेको छ।
घटनास्थलको वास्तविक अवस्था बुझ्न, उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाको टोली पैदल मार्गबाट जाँदै गरेको छ भने सेनाकै हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको प्रजिअ मिश्रले जानकारी दिए। साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीलाई पनि परिचालन गरिएको छ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकी र चुम्के खोला तटीय क्षेत्रमा आकस्मिक बाढी आएकाले त्यस आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै मोबाइलमा आकस्मिक सन्देश (एसएमएस) पठाएको छ। महाशाखाले नदी किनार आसपास नजान र सतर्क रहन तटीय क्षेत्रका स्थानीयलाई अनुरोध गरेको छ। घटनाको पूर्ण विवरण आउन बाँकी छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment