बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्र भएर बग्ने बूढीगण्डकी नदीमा सुक्खा पहिरोका कारण भीषण बाढी आएको छ। माथिल्लो क्षेत्रमा खसेको सुक्खा पहिरोले नदी थुनिएपछि एक्कासि फुटेर बाढी आएको हो।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार बाढीका कारण तल्लो तटीय क्षेत्रका बस्ती, बजार, होटल तथा विद्यालयहरूमा क्षति पुगेको छ। नदीमा पानीको बहाव निरन्तर थुनिने र खुल्ने प्रक्रिया भइरहेकाले बाढीको जोखिम अझै कायम रहेको उनले जानकारी दिए।
बाढीको ठूलो झड्काले नदी आसपासको करिब १५० देखि २०० मिटर माथिसम्मको क्षेत्रलाई प्रभावित बनाएको छ। तटीय क्षेत्रमा रहेका जगत र सल्लेरीलगायतका बस्ती तथा बजारमा बढी क्षति पुगेको छ। त्यस क्षेत्रमा सञ्चालित पर्यटकीय होटल, ट्रेकिङ एजेन्सीका संरचना र केही विद्यालयका भवनसमेत बाढीले बगाएको खबर प्राप्त भएको छ।
हालसम्म कुनै मानवीय क्षतिको आधिकारिक सूचना प्राप्त भएको छैन। नदीमा पानीको सतह र बहाव लगातार परिवर्तन भइरहेकाले क्षतिको वास्तविक विवरण संकलन गर्ने र सम्बन्धित निकायहरूसँग समन्वय गरी अवस्था बुझ्ने काम भइरहेको छ।
बाढीको जोखिम कायम नै रहेकाले बूढीगण्डकी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल नदी किनारबाट सुरक्षित स्थानतर्फ जान र उच्च सतर्कता अपनाउन गाउँपालिका तथा सम्बन्धित निकायले अपिल गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment