महामन्त्रीमा प्रदीप पौडेल जितनजिक, उदयशम्शेर र अमरसिंहबीच प्रतिस्पर्धा जारी

डिसी नेपाल
२५ असोज २०८३ १२:४२
304
Shares

काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पदाधिकारी पदहरूको मतगणना ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा तीव्र रूपमा जारी छ।

शनिबार साँझदेखि सुरु भएको उपसभापति र महामन्त्री पदको मतगणनाको पछिल्लो अपडेटअनुसार महामन्त्री खुलातर्फ प्रदीप पौडेल अन्य प्रतिस्पर्धीभन्दा झन्डै दोब्बर मतको फराकिलो अन्तरका साथ अग्रस्थानमा रहेका छन्।

पछिल्लो मतगणना परिणामअनुसार महामन्त्री खुलातर्फ प्रदीप पौडेलले १,४३८ मत प्राप्त गरी बलियो अग्रता कायम गरेका छन्। उनलाई उदयशम्शेर राणाले ८२३ मत ल्याएर पछ्याइरहेका छन्।

यस्तै अमरसिंह पुनले ७०७ मत र डा. सुनिल शर्माले ५६४ मत प्राप्त गरेका छन्। महामन्त्रीमा कुल ३ जना (२ खुला र १ महिला) निर्वाचित हुने व्यवस्था रहेकोमा अहिलेसम्मको गणनाले खुलातर्फ प्रदीप पौडेल र उदयशम्शेर राणाको जितको सम्भावना प्रबल देखिएको छ।

यसैगरी महामन्त्री महिलातर्फ डा. डिला सङ्ग्रौला (पन्त), महालक्ष्मी उपाध्याय (डिना) र रीता खनालबीच प्रतिस्पर्धा भइरहेको छ। सुरुवाती चरणमा डा. डिला अगाडि देखिएकी थिइन् भने पछिल्लो मतपरिणाम आउन बाँकी रहेको छ।

अर्कोतर्फ, उपसभापति पदको मतगणना पनि सानेपामै जारी छ।

खुला उपसभापति २ पदका लागि  चन्द्र भण्डारी,  मधु आचार्य, गोविन्द भट्टराई, सुरेन्द्रराज पाण्डे, दीपक गिरी, धनराज गुरुङ र प्रा.डा. चन्द्र मोहन यादव चुनावी मैदानमा छन्।

यस्तै समावेशी उपसभापति १ पदका लागि विनोदकुमार चौधरी, जीवन परियार, फरमुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णबीच प्रतिस्पर्धा भइरहेको छ।

यसअघि नै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन्।

निर्वाचन समितिका अनुसार सानेपामा कडा सुरक्षा र निगरानीका साथ मतगणना कार्य अघि बढाइएको छ र अन्तिम नतिजा छिट्टै आउने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *