बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, नौ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो

डिसी नेपाल
२५ असोज २०८३ १९:५७
4
Shares

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ९५ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट परिचालित फौजको सहयोगमा आइतबार साँझ ७ बजेसम्म ९५ जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको जनाएको छ।

नेपाली सेनाले सार्वजनिक गरेको विवरणअनुसार जगतबाट १७, यारुबाट २२, ठूलोढुङ्गाबाट १३, दोभानबाट तीन, फिलिमबाट दुई, न्याक्फेदीबाट १७, पायुँबाट १२, नामरुङबाट तीन, देङ्गबाट तीन र धौलीबाट तीन जनाको उद्धार गरिएको हो।

उद्धार गरिएकामध्ये नौ जना विदेशी नागरिकसहित ३५ जनालाई आरुघाटबाट काठमाडौं ल्याइएको सेनाले जनाएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी खोज तथा उद्धार कार्य जारी रहेको छ।

यसैबीच, बाढीले बगाएको आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बेलिब्रिज जडान गर्ने तयारीका लागि नेपाली सेनाको इन्जिनियरिङ टोलीसमेत परिचालन गरिएको छ।

बाढीका कारण प्रभावित क्षेत्रको आवागमन अवरुद्ध भएपछि उद्धार तथा राहत कार्यलाई सहज बनाउन पुल पुनःस्थापनाको तयारी अघि बढाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *