पराजित भएपछि गोविन्द भट्टराईको प्रतिबद्धता-बाँकी समय अझ धेरैको भरोसा जित्न खर्चने छु
काठमाडौं। नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५ औँ महाधिवेशनमा उपसभापति पदमा पराजित भएपछि प्रतिक्रिया दिँदै आफूले अझै धेरै साथीहरूको विश्वास जित्न बाँकी रहेको र आगामी दिनमा सोही उद्देश्यका लागि समय दिने बताएका छन्।
नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष समेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्ना मतदाता र कार्यकर्तालाई धन्यवाद दिँदै यस्तो अभिव्यक्ति दिएका हुन्। उपसभापति खुलातर्फ उम्मेदवार बनेका उनले तेस्रो सर्वाधिक मत प्राप्त गरे तापनि विजय हासिल गर्न भने सकेनन्।
आफ्नो सन्देशमा भट्टराईले भनेका छन्, “१५ औं महाधिवेशनमा ममाथि विश्वास गरेर मत प्रदान गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूप्रति अनुग्रहित छु। तपाईंको मात्र विश्वासले नपुगेर मलाई पार्टीको जिम्मेवारी सम्हाल्ने यात्रामा अझ धेरै साथीहरूको भरोसा जित्न आवश्यक रहेको यस मत परिणामले देखाएको छ।”
आफूले लाभ र पदका लागि कहिल्यै राजनीति नगरेको स्पष्ट पार्दै उनले अहिलेसम्म कमाएको मुख्य सम्पत्ति नै कार्यकर्ता र शुभेच्छुकहरूको माया र विश्वास भएको बताए। आगामी राजनीतिक यात्रामा भरोसा जित्न बाँकी रहेका साथीहरूको मन जित्नका लागि आफ्नो चेत, लगाव र समय पूर्ण रूपमा खर्चिने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment