चार महिनापछि गुल्मीमा हवाई सेवा पुनः सञ्चालन, हप्तामा तीन दिन उडान हुने

डिसी नेपाल
२७ असोज २०८३ १३:१४
4
Shares

गुल्मी। प्रतिकूल मौसमका कारण विगत चार महिनादेखि अवरुद्ध बनेको गुल्मीको रेसुङ्गा विमानस्थलमा आजबाट पुनः हवाई सेवा सञ्चालनमा आएको छ। मौसम अनुकूल भएसँगै नेपाल वायुसेवा निगमले आफ्नो नियमित उडान पुनः सुरु गरेको हो।

रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठको तेस्रो सातादेखि बाक्लो कुहिरो, खराब मौसम र हावाको चापका कारण सुरक्षालाई ध्यानमा राख्दै हवाई सेवा स्थगित गरिएको थियो।

सेवा पुनः सञ्चालन भएको पहिलो दिन मङ्गलबार काठमाडौंबाट १३ जना यात्रु बोकेर आएको विमान गुल्मी अवतरण भएको थियो भने गुल्मीबाट दुई जना यात्रु लिएर काठमाडौँ फर्किएको छ।

हवाई सेवा सुचारु भएसँगै नेपाल वायुसेवा निगमले साताको तीन दिन उडान भर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ। नयाँ उडान तालिका अनुसार आइतबार र मंगलबार काठमाडौंबाट बिहान ७:१५ बजे र रेसुंगाबाट बिहान ८:१५ बजे उडान हुनेछ भने शुक्रबार काठमाडौंबाट बिहान ६:२० बजे र रेसुङ्गाबाट बिहान ७:२० बजे उडान तय गरिएको छ।

निगमले यस रुटमा १८ सिट क्षमताको ट्वीनअटर विमानमार्फत सेवा दिँदै आएको छ। भाडा दरको हकमा काठमाडौँबाट गुल्मीका लागि प्रतिव्यक्ति १० हजार ७१० रुपैयाँ र गुल्मीबाट काठमाडौँका लागि १० हजार ५१० रुपैयाँ कायम गरिएको छ।

लामो समयसम्म हवाई सेवा बन्द हुँदा बिरामी, वृद्धवृद्धा तथा अत्यावश्यक कामले काठमाडौँ आवतजावत गर्ने यात्रुहरूले निकै सास्ती भोग्नुपरेको थियो।

सडकमार्गमार्फत काठमाडौँ पुग्न १२ देखि १६ घण्टासम्म लाग्ने भए पनि हवाई सेवाबाट ४५ देखि ५० मिनेटमै यात्रा पूरा हुने भएकाले यसको पुनरागमनले स्थानीय नागरिकलाई ठूलो राहत पुगेको छ। साथै, यसले जिल्लाको पर्यटकीय गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *