अमेरिकाबाट इजरायल गइरहेको विमानमा बम भएको सूचना, विमान आइसोलेट

डिसी नेपाल
२७ असोज २०८३ १४:१७
108
Shares

काठमाडौं । न्युयोर्कबाट तेल अवीवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको ‘डेल्टा एयरलाइन्स’को यात्रुवाहक जहाजमा बम राखिएको आशङ्कापछि मङ्गलबार बिहान आपत्कालीन सुरक्षा अपरेसन चलाइएको छ। इजरायल एयरपोर्ट अथोरिटीका अनुसार सुरक्षा टोलीहरूले गरेको व्यापक खोजी तथा जाँचपछि स्थिति सामान्य बनेको छ।

जहाजको कार्गो होल्डमा बम राखिएको भन्दै आएको एक अज्ञात सूचनाका आधारमा सम्भावित खतरा न्यूनीकरण गर्न जहाजलाई तत्कालै मुख्य टर्मिनलबाट टाढा सुरक्षित स्थानमा लगिएको थियो र सबै यात्रुहरूलाई द्रुत गतिमा सुरक्षित बाहिर निकालिएको थियो। जाँचपछि विमानस्थलको उडान सेवा पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ।

यो घटना फ्लाईदुबईको यात्रुवाहक जहाजमा चालक दलका सदस्यबाटै भएको भयानक अपहरण प्रयासको केही दिनपछि घटेको हो, जसका कारण इजरायलले आफ्नो नागरिक उड्डयन सुरक्षा प्रणालीमा ‘व्यापक परिवर्तन’ गर्ने घोषणा गरिसकेको छ ।

यसअघि दुबईबाट तेल अवीवतर्फ उडिरहेको फ्लाईदुबईको जहाजका ओमान मूलका सह-पाइलटले उडानकै क्रममा मुख्य पाइलटमाथि अन्धाधुन्ध चक्कु प्रहार गरी जहाजलाई दुर्घटनाग्रस्त गराउने प्रयास गरेका थिए।

गम्भीर घाइते भएका भारतीय मूलका मुख्य पाइलटले चक्कु प्रहारपछिको अचेत अवस्थामा पनि ककपिट को ढोका खोलिदिएका थिए। त्यसपछि जहाजमा सवार चार जना यात्रुहरूले अदम्य साहस देखाउँदै सह-पाइलटलाई नियन्त्रणमा लिएर बाँधेका थिए।

जहाजमा यात्रा गरिरहेका अन्य थप उडान कर्मचारीहरूले जहाजलाई साउदी अरेबियामा सुरक्षित अवतरण गराएका थिए। पटक-पटक चक्कु प्रहारबाट गम्भीर घाइते भएका भारतीय पाइलटको हाल चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ।

फ्लाईदुबई घटनापछि इजरायली उड्डयन क्षेत्रमा व्यापक सुरक्षा पुनरावलोकन सुरु गरिएको छ। इजरायली यातायात मन्त्रालय र सुरक्षा निकायका प्रतिनिधि सम्मिलित एक उच्चस्तरीय टोली इजरायली एयरलाइन्सका लागि स्थायी र सुरक्षित उड्डयन ढाँचा तय गर्न छिट्टै दुबई जाने तयारीमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *