गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

डिसी नेपाल
२८ असोज २०८३ ९:३३
12
Shares

 काठमाडौं। भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मङ्गलबार साँझ बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत पर्ने रामपुर श्यामचन्द गाउँनजिकै यो दुःखद दुर्घटना भएको हो । उक्त डुंगामा २० जनाभन्दा बढी मानिसहरू सवार थिए । दुर्घटनामा ज्यान गुमाउनेहरूमा अधिकांश बालबालिका रहेको जानकारी दिइएको छ ।

डुंगामा सवार व्यक्तिहरू भोज खान गइरहेका बेला अचानक नदीमा डुंगा पल्टिएको बताइएको छ । घटनाको जानकारी पाउनासाथ स्थानीय प्रहरी तथा प्रशासनको टोली घटनास्थल पुगेर तीव्र रूपमा उद्धार अभियान चलाएको थियो । दुर्घटना के-कति कारणले भएको हो भन्ने विषयमा भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।

बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । उनले उद्धार कार्यलाई अझ तीव्र बनाउन र घाइतेहरूको उचित उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

यसै गरी भारतको बिहारका पूर्वउपमुख्यमन्त्री तथा राघोपुरका विधायक तेजस्वी यादवले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले स्थानीय बासिन्दा, प्रशासन र सम्बन्धित अधिकारीहरूसँग निरन्तर संवाद गरी उद्धार तथा घाइतेको उपचार कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन आग्रह गरेका छन् ।

यस्तै केन्द्रीय मन्त्री चिराग पासवानले पनि दुर्घटनामा भएको ठूलो मानवीय क्षतिप्रति शोक व्यक्त गरेका छन् । आफ्नो संसदीय क्षेत्रअन्तर्गत पर्ने राघोपुर दियारा क्षेत्रमा भएको यस दुर्घटनाका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र घाइतेको उपचारमा विशेष ध्यान दिन उनले सम्बन्धित अधिकारीहरूलाई आग्रह गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *