चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

डिसी नेपाल
२८ असोज २०८३ १३:४९
12
Shares

काठमाडौं।दशैं, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौं उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ।

चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निधक्कसँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष योजनाकासाथ प्रहरी परिचालन गरिएको छ।

चाडपर्व मनाउन घरबाहिर निस्कने, किनमेलका लागि बजार जाने तथा विभिन्न स्थानमा यात्रा गर्ने नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था मिलाइएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले बताए।

उनका अनुसार चाडपर्व लक्षित सुरक्षा व्यवस्थाअन्तर्गत परिचालन गरिएका प्रहरीमध्ये एक सय जना सादा पोसाकमा छन्। उनीहरूले सार्वजनिकस्थल तथा भीडभाड हुने क्षेत्रमा निगरानी गर्ने, शङ्कास्पद गतिविधिको पहिचान गर्ने र सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुर्‍याउने छन्।

प्रहरीले परम्परागत सुरक्षा गस्तीका अतिरिक्त प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिएको छ। सुरक्षा निगरानीका लागि सामुदायिक सेवा केन्द्र, ड्रोन क्यामेरा, सामाजिक सञ्जाल तथा तालिमप्राप्त कुकुरको प्रयोग गरिएको परिसरले जनाएको छ।

प्रविधि र जनशक्तिको समन्वयबाट शंकास्पद गतिविधिको पहिचान तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाइने उपरीक्षक थापाले बताए।

चाडपर्वका समयमा सर्वसाधारणको चहलपहल बढ्ने भएकाले सार्वजनिकस्थल, बसपार्क, वित्तीय संस्था तथा तिनका आसपासका क्षेत्र, सरकारी कार्यालय र चाडपर्व लक्षित बजारमा विशेष निगरानी बढाइएको छ।

नागरिकको बढी भीडभाड हुने स्थानमा नियमित प्रहरीसँगै सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको प्रवक्ता थापाले जानकारी दिए। दसैँ तथा तिहारका समयमा किनमेल गर्ने, घर फर्किने र आफन्तकहाँ जाने सर्वसाधारणको सङ्ख्या बढ्ने हुँदा बजार तथा यातायातका केन्द्रमा सुरक्षा चुनौतीसमेत बढ्न सक्ने प्रहरीको आकलन छ।

त्यस्ता क्षेत्रमा चोरी, पाकेटमारी, ठगी तथा अन्य अवाञ्छित गतिविधि हुन नदिन प्रहरी टोलीलाई सक्रिय बनाइएको परिसरले जनाएको छ। त्यस्तै वित्तीय संस्था तथा आर्थिक कारोबार हुने क्षेत्रको सुरक्षामा पनि ध्यान दिइएको छ।

चाडपर्वका समयमा सुरक्षा व्यवस्थालाई व्यवस्थित र प्रभावकारी बनाउन काठमाडौं उपत्यकाका १४ वटा सेक्टरलाई लक्षित गरी सुरक्षा योजना लागू गरिएको प्रहरी उपरीक्षक थापाले बताए।

उनले ती सेक्टरमा सम्बन्धित प्रहरी वृत्तका प्रमुखलाई परिचालन गरी सुरक्षा व्यवस्थाको प्रत्यक्ष निगरानी गर्ने व्यवस्था मिलाइएको बताए। सेक्टरगत रूपमा जिम्मेवारीले सम्बन्धित क्षेत्रमा प्रहरीको उपस्थितिलाई प्रभावकारी बनाउन र घटनाको सूचना प्राप्त भएपछि तत्काल परिचालन हुन सहज हुने प्रहरीको भनाइ छ।

आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीको सक्रियता बढाइएकाले नागरिकले निर्धक्कसँग चाडपर्व मनाउन सक्ने वातावरण बनाउनु सुरक्षा योजनाको मुख्य उद्देश्य रहेको प्रहरीले जनाएको छ।

यसैबीच, चाडपर्वमा हुने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीको सक्रियता महत्त्वपूर्ण हुने भएकाले सर्वसाधारणलाई पनि सचेत रहन प्रहरीले आग्रह गरेको छ।

आफ्नो घर तथा सम्पत्तिको सुरक्षामा ध्यान दिन, अपरिचित व्यक्तिको गतिविधिप्रति सचेत रहन र शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ।

विमलबहादुर विष्ट/रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *