नाका अवरोध र महँगीले दशैं खर्चिलो, बजारमा भीड भए पनि उपभोक्ता मर्कामा
काठमाडौं। नेपालीहरूको महान् चाड दसैँ नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाभित्रका मुख्य बजारहरूमा किनमेल गर्ने सर्वसाधारणको बाक्लो भीड लागेको छ।
खासगरी सहरी क्षेत्रका भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धरा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर र पुतलीसडकलगायतका व्यापारिक केन्द्रहरूमा लत्ताकपडा तथा अत्यावश्यक सरसामान खरिद गर्नेहरूको चहलपहल तीव्र बनेको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण छिमेकी मुलुक चीनतर्फका दुई मुख्य नाका ठप्प भएकाले अघिल्लो वर्षको तुलनामा बजारमा लत्ताकपडाको मूल्य वृद्धि भएको अनुमान उपभोक्ताहरूले गरेका छन्। लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तु र खाद्यान्नको मूल्यमा भएको उल्लेख्य वृद्धिले सर्वसाधारणको भान्सा झनै महङ्गो बनेको छ।
काठमाडौं महानगरपालिका-३२ का शालिकचन्द्र शर्माले निरन्तरको मूल्यवृद्धिले चाडपर्व मनाउन गाह्रो हुँदै गएको बताए। जिरा मसिनो चामलको भाउ प्रतिबोरा रु ३०० सम्म बढेको र दशैंमा चाहिने खसीको मासुको मूल्य प्रतिकिलो ३०० देखि ४०० सम्म वृद्धि भएको बताउँदै उनले न्यून आय भएका परिवारका लागि दसैँ मनाउन मुस्किल परेको उल्लेख गरे।
यस्तै, तिनकुनेकी स्मिता खत्रीले आफ्ना तीन सन्तानका लागि जेनतेन नयाँ लुगा किनिदिएको बताइन्। सीमित आयस्रोत हुनेहरूका लागि दसैँ सास्तीजस्तै बने पनि सांस्कृतिक परम्परा धान्नैपर्ने बाध्यता रहेको उनले बताइन्।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले यसपालिको दसैँमा खाद्यान्न, लत्ताकपडा, ताजा तरकारी, फलफूल र मासुजन्य पदार्थको मूल्य आकासिएको बताए।
उनले सरकारी निकायहरूले नियमित बजार अनुगमन गरी आपूर्ति शृङ्खला सहज बनाउने र मूल्यवृद्धि नियन्त्रणमा प्रभावकारी हस्तक्षेप गर्नुपर्नेमा जोड दिए।
नेपाल हिमालयन सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले चीनसँग जोडिएका मुख्य नाका रसुवागढी र तातोपानी अवरुद्ध हुँदा व्यापारमा ठूलो असर परेको बताए। चीनतर्फबाट दशैंलगायतका पर्व लक्षित गरी ल्याउन लागिएका करिब रु ५ अर्ब मूल्य बराबरका सामान नाकामै रोकिएको उनले बताए।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रितेशकुमार शाक्यले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिइएको बताए।
दैनिक २५ देखि ५० वटा विभिन्न फर्म तथा कम्पनीहरूको अनुगमन भइरहेको र अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी मूल्य लिने व्यापारीहरूलाई कानुनी दायरामा ल्याइरहेको उनले बताए। साथै तोकिएकै मूल्यमा वस्तु बिक्री वितरण गर्न उनले व्यवसायीहरूलाई आग्रह गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment