श्रीलंकासँग व्यापार, लगानी र हवाई सम्पर्क विस्तार गर्ने प्रस्तावित राजदूत झाको प्रतिबद्धता

डिसी नेपाल
२८ असोज २०८३ १४:३८
4
Shares

काठमाडौं। श्रीलंकाका लागि नेपाली राजदूतमा सिफारिस भएकी डा. मंचला कुमारी झाले पर्यटन सम्पर्क, सांस्कृतिक कूटनीति, बौद्ध सम्पदाको प्रवद्र्धन तथा व्यापार र लगानी विस्तारलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्ने बताइन्।

संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै डा. झाले नेपाल सरकारको नीति तथा कार्यक्रमलाई पूर्ण रूपमा आत्मसात गर्दै राजदूतका रूपमा जिम्मेवारी वहन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

सरकारले अवलम्बन गरेको नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको संरक्षण गर्दै ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने असंलग्न परराष्ट्र नीतिको सिद्धान्तअनुसार अघि बढ्ने उनले बताइन्।

संसदीय सुनुवाइ समितिमा आफ्नो योजना प्रस्तुत गर्दै उनले भनिन्, “राजदूतका रूपमा काम गर्दा नेपाल सरकारको नीति तथा कार्यक्रममा स्पष्ट रूपमा जे लेखिएको छ, त्यसलाई पूर्णतः आत्मसात् गर्दै अगाडि बढ्ने छु। सरकारले सबैसँग मित्रता र कसैसँग शत्रुता नराख्ने सिद्धान्तलाई आत्मसात् गरेको छ। नीति तथा कार्यक्रममा उल्लेखित बुँदाहरूलाई ध्यानमा राख्दै राजदूतको कार्यकालभरि चार रणनीतिक स्तम्भमा केन्द्रित भएर काम गर्ने छु।”

राजदूतका रूपमा आफ्नो कार्यकालमा चार रणनीतिक स्तम्भमा केन्द्रित भएर काम गर्ने योजना प्रस्तुत गर्दै डा. झाले पर्यटन सम्पर्क विस्तारलाई पहिलो प्राथमिकतामा राखिन्। यसअन्तर्गत दुई देशबीच हवाई सम्पर्क विस्तार, संयुक्त पर्यटन प्याकेज निर्माण, भिसा प्रक्रियामा सहजीकरण तथा पर्यटन बजारको प्रवर्द्धनलाई तीव्र गतिमा अघि बढाइने उनले बताइन्।

यसैगरी, रामायण सर्किटको एकीकृत विकास, जनकपुर र श्रीलंकाबीच धार्मिक पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक कूटनीतिलाई विशेष जोड दिइने उनले बताइन्। बौद्ध सम्पदाको संरक्षण र प्रवर्द्धनअन्तर्गत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई श्रीलंकाली तीर्थयात्रीहरूको प्रमुख धार्मिक गन्तव्यका रूपमा विकास गर्ने र दुवै देशका भिक्षु तथा विद्वान्हरूबीच अध्ययन-अनुसन्धान एवम् ज्ञान आदानप्रदानका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य उनले प्रस्तुत गरिन्।

त्यस्तै, नेपाल र श्रीलंकाबीच व्यापार तथा लगानीको दायरा फराकिलो बनाउन दुवै देशका निजी क्षेत्रहरूसँग घनिभूत सहकार्य गर्ने, व्यापार मञ्च (बिजनेस फोरम) को आयोजना गर्ने र वैदेशिक लगानी भित्र्याउन पहल गर्ने उनले बताइन्।

आफ्नो भनाइ टुङ्ग्याउँदै उनले भनिन्, “पर्यटन सम्पर्क, जसमा हवाई सम्पर्क, संयुक्त प्याकेज, भिसा सहजीकरण र पर्यटन बजार प्रवद्र्धन। रामायण सर्किट, जनकपुर र श्रीलंकाका साझा तीर्थाटन र सांस्कृतिक कूटनीति। बौद्ध सम्पदा, लुम्बिनीलाई श्रीलंकाली तीर्थयात्रीको प्रमुख गन्तव्य बनाउने र भिक्षु–विद्वान् आदानप्रदान। व्यापार तथा लगानी, निजी क्षेत्र सहकार्य, व्यापार मञ्च र लगानी प्रवद्र्धन। साथै, श्रीलंकामा रहेका नेपाली नागरिकको हित संरक्षण, सार्वजनिक कूटनीति र संस्थागत संयन्त्र निर्माणलाई सहायक क्षेत्रका रूपमा अघि बढाइनेछ।”

प्रस्तावित राजदूत झाले श्रीलंकामा रहेका नेपाली नागरिकहरूको हकहित र सुरक्षाको संरक्षण, सार्वजनिक कूटनीतिको प्रवर्द्धन एवम् संस्थागत संयन्त्र निर्माणलाई सहायक प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *