कार्यालयका लागि घरजग्गा खोज्दै रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कार्यालय सञ्चालनका लागि काठमाडौं उपत्यकाभित्र आफ्नै भवन निर्माण गर्ने वा घरजग्गा खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। पार्टीले एक सार्वजनिक सूचना जारी गर्दै आवश्यक मापदण्ड पूरा गर्ने घर तथा जग्गाधनीहरूबाट औपचारिक प्रस्ताव आह्वान गरेको हो।
गत असोज १७ गते बसेको रास्वपा केन्द्रीय समितिको बैठकले पार्टीको बढ्दो सांगठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका लागि स्थायी संरचना बनाउने निर्णय गरेको थियो। हालको अस्थायी कार्यालय व्यवस्थापनलाई प्रतिस्थापन गर्दै आफ्नै स्वामित्वको स्थायी भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने सोही निर्णयअनुसार यो खरिद प्रक्रिया थालिएको पार्टीले जनाएको छ।
पार्टीका अनुसार नयाँ केन्द्रीय कार्यालयका लागि काठमाडौं उपत्यकाको चक्रपथसँग जोडिएको वा चक्रपथ नजिक रहेको कम्तीमा तीन रोपनी क्षेत्रफल भएको जग्गा चाहिनेछ। उक्त स्थानमा प्रशासनिक कार्य, ठूला बैठक तथा छलफल सञ्चालन गर्न मिल्ने भवन हुनुपर्ने वा त्यस्तो भवन निर्माण गर्न सकिने खाली जग्गा हुनुपर्नेछ।
त्यसैगरी, मुख्य सडकसम्म सहज पहुँच भएको र कम्तीमा २० फिट चौडा पक्की सडकले छोएको घरजग्गालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ। सवारी साधनको पर्याप्त पार्किङ सुविधा हुनुका साथै प्रस्तावित घरजग्गाको कानुनी स्वामित्व पूर्ण रूपमा स्पष्ट हुनुपर्ने सर्त राखिएको छ। तोकिएका मापदण्ड पुगेका इच्छुक घर तथा जग्गाधनीलाई आगामी २१ दिनभित्र प्रस्ताव पेस गर्न रास्वपाले आग्रह गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment