नेपाल–जापान जोड्न सबै छाडेर आएको हुँ : प्रस्तावित राजदूत थापा

डिसी नेपाल
२८ असोज २०८३ १६:५५

काठमाडौं। जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले नेपाल–जापान सम्बन्धलाई जोड्न सकिन्छ भन्ने उद्देश्यले आफूले जापानका अवसर छाडेर आएको बताएका छन्।

बुधबार संसदीय सुनुवाइ समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले देश परिवर्तन हुँदै गएको अवस्थामा आफूजस्ता व्यक्तिले अवसर पाए नेपाल र जापानबीचको सम्बन्ध थप सुदृढ बनाउन सक्ने बताए।

बुधबार संसदीय सुनुवाइ समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउन आफूले जापानको अवसर छाडेर आएको बताए।

‘म अब नेपालको लागि सेवा गर्छु, देश पनि परिवर्तन हुँदै छ। हामीजस्तो मान्छेले अवसर पायौँ भने नेपाल–जापान जोड्न सकिन्छ कि भनेर मैले सबै छोडेर नै आएको हो,’ उनले भने, ‘राजदूत बन्नकै लागि आएको होस् कि भन्नुहुन्छ भने राजदूत बन्ने जाँच भयो भने म जाँच दिन्छु भन्नकै लागि आएको भन्ने कुरामा लुकाउन चाहन्नँ।’

सुनुवाइका क्रममा सांसदहरूले थापाको जापानी पीआर र पारिवारिक अवस्थाबारे प्रश्न उठाएका थिए। जवाफमा उनले जापानमा पीआर पाउँदैमा नेपाली नागरिकता नरहने भन्ने बुझाइ गलत भएको दाबी गरे।

‘जापानले सात वर्षको पीआर दिने हो। जापानमा रहेका श्रीमती र छोराछोरीको नेपाली नागरिकता छ, पीआर भिसा हो,’ उनले भने।

आफूलाई पीआरधारी भन्दै सञ्चारमाध्यममा विभिन्न टिप्पणी भइरहेको उल्लेख गर्दै उनले आफ्ना तस्बिरमा ढाकाटोपी लगाउने गरेको पनि बताए।

थापाले आफ्नो पारिवारिक अवस्थाबारे उठेका प्रश्नप्रति दुःख व्यक्त गरे। ‘मेरो परिवारको कुरा निकै उठेको छ। एकजना माननीयज्यूले डिभोर्सको कुरा नै उठाउनुभयो। मलाई दुःख लाग्यो, म आफ्नो परिवार कहिल्यै छाडेर बस्न सक्दिनँ,’ उनले भने।

जापानमा आफ्नो नाममा कम्पनी नभएको र सेयरमा समेत लगानी नगरेको स्पष्ट पार्दै उनले जापानमा घर रहेको बताए। उक्त घर श्रीमतीको स्वामित्वमा रहेको उल्लेख गर्दै उनले भने, ‘जापानमा मेरो घर छ। चार आना पनि नभएको ठाउँमा घर। घर श्रीमतीको स्वामित्वमा छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *