१३ मुलुकका प्रस्तावित राजदूतको सुनुवाइ पूरा, अनुमोदनको तयारी

डिसी नेपाल
२८ असोज २०८३ १७:०३
12
Shares

काठमाडौं। विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित नेपाली राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भएको छ।

संसदीय सुनुवाइ समितिले सबै प्रस्तावित व्यक्तित्वहरूको सुनुवाइ पूरा गरे पनि उनीहरूको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय लिन भने बाँकी रहेको छ।

गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १३ जनालाई राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो। सरकारले छिमेकी मुलुक भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई सिफारिस गरेको छ।

त्यस्तै इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार सिफारिस भएका छन्।

संसदीय सुनुवाइ समितिबाट प्रस्तावित नामहरू अनुमोदन भएपछि मात्रै राजदूत नियुक्तिको औपचारिक प्रक्रिया अगाडि बढ्नेछ। समितिले नाम अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित देशहरूमा सहमतिका लागि (एग्रिमेन्ट) पत्राचार गर्नेछ। सम्बन्धित मुलुकबाट स्वीकृति प्राप्त भएपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने संवैधानिक तथा कानुनी प्रावधान रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *