भोटेकोशी बाढीपीडितलाई रेडक्रसले प्रतिपरिवार १ लाखदेखि १५ हजार रुपैयाँसम्म नगद सहयोग गर्ने
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि नगद सहयोगसहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसका लागि रेडक्रसले नुवाकोटको विदुर नगरपालिकासँग सहकार्य गर्ने सम्झौता गरेको छ।
बाढीबाट प्रभावित समुदायको तत्कालीन मानवीय आवश्यकता पूरा गर्नुका साथै पुनःलाभ, पुनःस्थापना र भविष्यमा हुन सक्ने विपद् तथा जलवायुजन्य जोखिमसँग जुध्न सक्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले साझेदारी गरिएको हो।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले हालै बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सहयोग कार्यक्रम घोषणा गरेका थिए।
बुधबार विदुर नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनाल, नेपालस्थित आईएफआरसीका प्रमुख डेभिड फिसर र नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सभापति हरि श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बाढीका कारण बेपत्ता भएका व्यक्तिका परिवारमध्ये एकल महिला, अभिभावक गुमाएका बालबालिका तथा ज्येष्ठ नागरिक भएका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ नगद सहायता उपलब्ध गराइनेछ। त्यस्तै, दुई हजार घरधुरीलाई बहुउद्देश्यीय नगद सहायतास्वरूप प्रतिपरिवार १५ हजार रुपैयाँ प्रदान गरिनेछ।
रेडक्रसले एक हजार परिवारलाई जीविकोपार्जन पुनःस्थापना सहायता उपलब्ध गराउने तथा स्थायी आवासको व्यवस्था नभएसम्म दुई हजार घरधुरीको घरभाडा भुक्तानीमा सहयोग गर्ने जनाएको छ। यसैगरी, ६०० घरधुरीका लागि संक्रमणकालीन आवासको व्यवस्था गरिनेछ।
सम्झौतामा स्वास्थ्य सहायता, खानेपानी तथा सरसफाइ, आवास, मर्मत तथा पुनःस्थापना, जीविकोपार्जन, आर्थिक पुनःलाभ र विपद् जोखिम न्यूनीकरणलगायतका क्षेत्रमा सहकार्य गर्ने उल्लेख छ।
बाढीका कारण क्षति पुगेको विदुर खानेपानी आयोजनाको साढे सात किलोमिटर पाइपलाइन मर्मत गर्नुका साथै विदुर, बुधसिंघाट, सिर्खाली र महारानीडिही क्षेत्रमा करिब ३० हजार जनसंख्या लाभान्वित हुने गरी खानेपानी प्रणालीको मर्मत तथा पुनःस्थापना गरिनेछ।
त्यस्तै, स्वास्थ्य तथा सामाजिक पूर्वाधारको पुनर्निर्माण, आधारभूत तथा आपत्कालीन स्वास्थ्य सेवा, विद्यालय र शैक्षिक पूर्वाधारको पुनःस्थापना, शिविर व्यवस्थापन तथा प्रभावित व्यक्तिलाई आवश्यक सहयोग गर्ने कार्यक्रम पनि सञ्चालन गरिनेछ।
सम्झौताअन्तर्गतका कार्यक्रमको समन्वय, अनुगमन तथा समीक्षा गर्न नगरप्रमुख वा उनले तोकेको प्रतिनिधिको संयोजकत्वमा संयुक्त समन्वय तथा कार्यक्रम सञ्चालन समिति गठन गरिनेछ।
कार्यक्रममा रेडक्रसका महामन्त्री खनालले बाढी प्रभावित नागरिकलाई बहुपक्षीय सहयोग उपलब्ध गराउन रेडक्रस निरन्तर सक्रिय रहने बताए। उनले निर्धारित कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तह र रेडक्रसका संरचनाबीच समन्वय आवश्यक रहेको उल्लेख गरे।
आईएफआरसीका नेपाल प्रमुख फिसरले मानवीय सहायता निरन्तर जारी रहने बताउँदै विदुर नगरपालिकासँगको सहकार्यले बाढी प्रतिकार्य तथा पुनःस्थापनामा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।
विदुर नगरप्रमुख श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना र नागरिकको सहज जीवनयापनका लागि रेडक्रसको सहयोग महत्वपूर्ण हुने बताए। उनले रेडक्रससँगको प्रभावकारी सहकार्यबाट विपद्पछिको पीडा कम गर्दै प्रभावित समुदायलाई सामान्य जीवनमा फर्काउन नगरपालिका सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment