नारायणी किनारमा तटबन्धसँगै सौन्दर्यकरण गरिने, २२ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान
चितवन। नारायणगढ बजारसँगै रहेको नारायणी नदीको तटीय क्षेत्रलाई सुरक्षित बनाउँदै सौन्दर्यकरण गरिने भएको छ। नदीमा आएको बाढीले यसअघि निर्माण गरिएका अधिकांश संरचना बगाएपछि तटबन्ध निर्माण र तटीय क्षेत्रको व्यवस्थित विकासका लागि गुरुयोजना तयार गर्न लागिएको हो।
नारायणी नदीको बाढी बजार क्षेत्रमा प्रवेश गरेपछि उद्योग वाणिज्य सङ्घ चितवनको प्रतिनिधिमण्डलले बजार संरक्षण र नदी तटीय क्षेत्रको व्यवस्थित विकासको माग गर्दै चितवन क्षेत्रका प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट गरेको थियो। त्यसलगत्तै लामिछानेको आग्रहमा पूर्वाधार विकास मन्त्रालयले गुरुयोजना निर्माणका लागि कार्यदल गठन गरेको हो।
रास्वपाका केन्द्रीय कोषाध्यक्ष डा. मनोहर प्रधानका अनुसार मन्त्रालयले गठन गरेको कार्यदलले नदी तटीय क्षेत्रको स्थलगत अध्ययन सुरु गरिसकेको छ। सहरी विकास तथा भवन निर्माण विभागका वरिष्ठ डिभिजनल इन्जिनियर दीपक श्रेष्ठको संयोजकत्वमा असोज २३ गते कार्यदल गठन गरिएको हो।
कार्यदलमा सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख कृष्णकुमार महर्जन, विभागका इन्जिनियर लक्ष्मीशोभा महर्जन र अप्सना श्रेष्ठ तथा आयोजनाका इन्जिनियर सिजन श्रेष्ठ सदस्य छन्।
कार्यदललाई नारायणगढ बजारस्थित नारायणी नदीको तटीय क्षेत्रलाई व्यवस्थित गर्दै सौन्दर्यकरण र मनोरञ्जनात्मक गतिविधिका लागि उपयुक्त स्थलका रूपमा विकास गर्न आवश्यक गुरुयोजना तयार गर्ने जिम्मेवारी दिइएको छ। कार्यदलले पहिलो चरणमा भरतपुर महानगरपालिका, उद्योग वाणिज्य सङ्घ चितवन तथा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना चितवनका प्रतिनिधिसँग छलफल गरिसकेको छ।
कार्यदलका संयोजक श्रेष्ठका अनुसार स्थलगत अध्ययनबाट नदी किनारलाई सुरक्षित बनाउन पहिलो चरणमा तटबन्ध निर्माण गर्नुपर्ने देखिएको छ। त्यसका लागि तटबन्ध निर्माणको जिम्मेवारी पाएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनासँग पनि छलफल गरिएको छ।
“पहिला नदीलाई तटबन्धबाट सुरक्षित गरी सौन्दर्यकरणको काम गर्नुपर्छ भन्ने हाम्रो ठम्याइ भएको छ,” श्रेष्ठले भने। उनले अध्ययनको कामलाई तीव्रता दिएर आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए।
नारायणी नदीको चितवन र नवलपरासीतर्फ तटबन्ध निर्माण हुन बाँकी रहेका क्षेत्रमा एकैसाथ काम अघि बढाउनुपर्ने सुझाव सरोकारवालाले दिएका छन्। नदी किनारलाई सुरक्षित बनाएपछि मात्रै सौन्दर्यकरण र अन्य पूर्वाधार निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउन सकिने उनीहरूको धारणा छ।
स्थानीयसमेत रहेका प्रधानले सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर काम अघि बढाइने बताए। उनका अनुसार नारायणी नदीको कटानबाट हुने क्षति रोक्न आवश्यक काम तत्काल अघि बढाउन सभापति लामिछानेले निर्देशन दिएका छन्।
नारायणी नदीको बाढी र कटानबाट चितवन तथा नवलपरासीका बस्ती जोगाउन करिब ६० किलोमिटर तटबन्ध निर्माण गर्नुपर्ने देखिएको छ। यसका लागि २२ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ।
असोज ११ गते आएको बाढीपछि गरिएको स्थलगत अध्ययनले चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ४५ किलोमिटर तटबन्ध आवश्यक रहेको देखाएको हो। समयमै बजेट व्यवस्थापन गरेर निर्माण कार्य अघि बढाउन नसके आगामी वर्ष पनि नदी कटानको जोखिम कायम रहने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, भरतपुरले जनाएको छ।
कार्यालयका सूचना अधिकारी सागर पौडेलका अनुसार वर्तमान बजार मूल्यका आधारमा तटबन्ध निर्माण गर्न २२ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान छ। नदीबाट थप क्षति हुन नदिन तत्काल मर्मत तथा संरक्षणका काम गर्न मात्रै करिब ६ अर्ब रुपैयाँ आवश्यक रहेको कार्यालय प्रमुख डा. नारायणप्रसाद सुवेदीले बताएका छन्।
नदी तटीय क्षेत्रको सौन्दर्यकरणअघि आवश्यक तटबन्ध निर्माण, संरक्षण र जोखिम न्यूनीकरणका कामलाई प्राथमिकता दिनुपर्ने देखिएको छ। त्यसका लागि आवश्यक अध्ययन पूरा गरी चितवन र नवलपरासी दुवैतर्फ तटबन्ध निर्माण हुन बाँकी रहेका क्षेत्रमा काम अघि बढाउने तयारी गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment