चाडपर्वमा घर फर्किनेको गड्डाचौकीमा भीड : सीमामा छ रोगको स्वास्थ्य परीक्षण अनिवार्य

डिसी नेपाल
२९ असोज २०८३ ९:४०
4
Shares

कञ्चनपुर। दशैं तथा तिहारजस्ता ठूला चाडपर्व मनाउन भारतका विभिन्न सहरबाट घर फर्किने नेपालीको कञ्चनपुरस्थित गड्डाचौकी नाकामा ठूलो भीड लागेको छ।

चाडपर्वका बेला सीमामा यात्रुको चाप उच्च हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमास्थित हेल्थ डेस्कमार्फत मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको स्वास्थ्य परीक्षण अनिवार्य रूपमा सञ्चालन भइरहेको छ।

भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको समयमै पहिचान गरी उपचार गर्न तथा सङ्क्रमण फैलन नदिन सीमामै स्वास्थ्य परीक्षणको प्रबन्ध मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टको भनाइ छ।

उनका अनुसार परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएका बिरामीलाई अस्पताल पुर्‍याएर निःशुल्क उपचारको व्यवस्था गरिन्छ भने टाढाका मानिसका हकमा सम्बन्धित जिल्लाको अस्पतालमा खबर गरेर उपचारको व्यवस्था मिलाउने गरिएको छ।

नाकामा आउने यात्रुमध्ये भारतका मलेरिया र डेङ्गी जस्ता सङ्क्रामक रोग बढी फैलिएका क्षेत्रबाट आएका तथा जोरो आएका व्यक्तिलाई प्राथमिकताका साथ परीक्षण गर्ने गरिएको छ।

चालु असोज महिनामा मात्रै गड्डाचौकी नाकामा चार हजार सात सय जनाको स्वास्थ्य परीक्षण भइसकेको छ। सो परीक्षणका क्रममा अहिलेसम्म दुई जनामा टिभी पोजेटिभ पुष्टि भएको र अन्य व्यक्तिमा कुनै सङ्क्रमण नदेखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। प्रहरीको तथ्यांकअनुसार हाल यस नाकाबाट दैनिक करिब दुई हजार मानिस नेपाल प्रवेश गरिरहेका छन्, जसले गर्दा सीमा क्षेत्रमा यात्रुको चाप तीव्र बनेको छ।

यसैबीच, यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमानाकालगायत जिल्लाका विभिन्न आठ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्कसहितका प्रमुख स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी चाडपर्वका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा व्यवस्था चुस्त बनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *